युवती देख्ने बित्तिकै २५ किलोमिटर लिएर दौडिने ड्राइभर र खलासीमाथि कारबाही

युवती देख्ने बित्तिकै २५ किलोमिटर लिएर दौडिने ड्राइभर र खलासीमाथि कारबाही

चौतारा, २६ फागुन । दुई किलोमिटरको दूरीमा ओर्लिनुपर्ने सिन्धुपाल्चोकका तीन छात्रालाई अपहरण शैलीमा करिब २५ किमि टाढा लगेर ओराल्ने यात्रुबसका चालक तथा सहयोगी चालकलाई विद्यार्थी सङगठनहरुले कारबाही गरेका छन् ।
अरनिको यातायात सेवा समितिको बा२ख ६५९५ नम्बरको यात्रुबसले तीनजना छात्रालाई गन्तव्य स्थानभन्दा टाढा लगेर छोडेपछि बसका चालक बाबुकाजी बस्नेत र सहयोगी चालक दिनेश कार्कीलाई कारबाही गरिएको हो ।

Bus-woman
गत फागुन २० गते बाह्रबिसेबाट काठमाडौँ जाँदै गरेको उक्त बसमा फुल्पिङडाँडा गाविसको बलेफी माविमा अध्ययनरत राधिका कार्की, सावित्री कार्की र मनिषा माझीलाई दुई किमि टाढाको चिहाने बजारमा ओरानुपर्नेमा सहयोगी चालकले ओर्लन नदिई करिब २५ किमि टाढा पर्ने काभ्रे जिल्लाको पाँचखालमा पुगेपछि ओरालेका थिए । विरोधमा उत्रिएका विद्यार्थी सङ्घ सङ्गठनले सो बसलाई फागुन २२ गते नियन्त्रणमा लिई चालक र सहयोगी चालकलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेमा राखेको थियो ।
तीन दिनसम्म प्रहरीको नियन्त्रणमा राखेपछि अरनिको यातायात सेवा समिति, विद्यार्थी सङ्घ सङ्गठन, शिक्षक, अभिभावक, प्रहरी, यातायात मजदुर सङ्घ सङ्गठनलगायतको आइतबार बसेको भेलाले सात बुँदामा सहमति कायम गरेको छ ।
विद्यार्थीले परिचयपत्रको आधारमा पाउने छुटमा रसिद खोज्ने, सुपरको नाममा सञ्चालित बस र ग्रामीण भेगमा चल्ने बसले सहुलियत नदिनेलगायतको विषयमा छलफल भई अब आइन्दा विद्यार्थी भर्ना रसिदबेगर छुट नदिइने र गाडीका चालक तथा सहयोगी चालकले यात्रुहरुलाई सभ्य व्यवहार गरी महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण गरिनुपर्नेलगायतका विषयमा सहमति कायम गरिएको छ ।
त्यस्तै, सो बसका चालकलाई छ महिना र सहयोगी चालकलाई दुई वर्षसम्म सिन्धुपाल्चोकमा पर्ने अरनिको राजमार्गको रुटमा काम गर्न नपाइने गरी प्रतिबन्ध लगाइएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष चरीबहादुर लामाले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

तपाइँको प्रतिक्रिया ।