नेता पौडेलले भने–“कि हाम्रा कुरा सुन्नुहोस् या हामीलाई कन्भिन्स गर्नुहोस्”

नेता पौडेलले भने–“कि हाम्रा कुरा सुन्नुहोस् या हामीलाई कन्भिन्स गर्नुहोस्”

चितवन, २६ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रतिपक्षीसँगको अबको वार्ता अर्थपूर्ण हुने बताउनुभएको छ ।
सञ्चारकर्मीसँग आज यहाँ कुरा गर्दै उहाँले सत्तापक्ष वार्ताका लागि गम्भीर भएकाले विपक्षी दल पनि सहमतिका लागि गम्भीर हुनुपर्ने बताउनुभयो । उट्पट्याङ कुराले मात्र वार्ता निष्कर्षमा पुग्न नसक्ने भन्दै उहाँले विपक्षी मोर्चालाई आफ्नो बैठकमा व्यापक छलफल गरी सहमतिमा आउन आग्रह गर्नुभयो ।

ramchandra-paudel
विपक्षी मोर्चाप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, “कि हाम्रा कुरा सुन्नुहोस् या हामीलाई कन्भिन्स गर्नुहोस् ।” विपक्षी दल सकारात्मक बनेमा छिट्टै संविधान जारी गर्न सकिने उहाँको भनाइ थियो ।
यसअघि उहाँले काँग्रेस भरतपुर उपमहानगरपालिका वडा नं १० ले कमला पण्डितका स्मृतिमा गरेको शोकसभालाई सम्बोधन गर्दै उहाँले देशमा संविधान जारी भएसँगै सबैको माग पूरा भएर जाने बताउनुभयो ।
तनहुँको रतनपुरदेखि चितवनसम्म नेपाली काँग्रेसमा क्रियाशील पण्डितको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । शोकसभामा काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, सभासद् रामकृष्ण घिमिरे, नेत्री गौरी श्रेष्ठ, स्व पण्डितका श्रीमान् हरिभक्त , देवर जगन्नाथ, बुथ सभापति उत्तम जोशीलगायतले बोल्नुभएको थियो । स्व पण्डितका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

तपाइँको प्रतिक्रिया ।