“जसले जस लिएनी, अपजस दिएनी डुब्ने त् आखिर कपन नै हो !”

“जसले जस लिएनी, अपजस दिएनी डुब्ने त् आखिर कपन नै हो !”

कपन अनलाइन

काठमाण्डौ,भाद्र २१/पुन्यराज पुडासैनी 

भाद्र २० गते राति देखि परेको वर्षा आज २१ गते बिहान सम्म निरन्तर रहेको छ। मध्यरातमा परेको अविरल वर्षाका कारण बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थान डुवानमा परेका छन भने धेरै स्थानमा पहिरो जादा सडकहरु पनि अवरुद्ध बनेका छन।

गएराती देखि परेको पानीका कारण प्रत्यक्ष पिडामा बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ रहेको कपन क्षेत्र परेको छ। अहिले बिहान सो क्षेत्रका ढलमा सिमित बनाएर अतिक्रमण गरिएको यज्ञमति नदी किनारका पसल र घरहरु बाढीमय बनेका छन भने स्थानीयहरु डुबिरहेको आफ्नो सम्पत्ति हेर्दै निरिह बनेर बसेका छन।

निकै लामो समय देखि जस लिने ,अपजस दिने, आरोप र प्रत्यारोप गर्ने ,राजनीतिक पहुँच देखाउदै फाइल रोक्ने, आफ्नो अनुकुल पर्दा फाइल फुकाउने जस्ता अनेकौ घटनाहरुको शाक्षी बन्दै आएको यज्ञमति नदीले आफ्नो अशली स्वरूप देखाउदा कपनका स्थानीयहरु अहिले पराजित योद्धा झैँ हात उठाउन बाध्य बनेका छन।

देश विदेस र नेपालका सहित ७८ जिल्लाका मानिसहरु बसोवास गर्ने स्थान भनेर चिनिएको कपन काठमाण्डौ क्षेत्र नं ४ मा पर्दछ। केन्द्रीय राजनीतिमा सधै चर्चा रहने क्षेत्र नं ४ को कपन क्षेत्र पनि अहिले पानी पर्ने वित्तिकै चर्चामा आउने गर्छ। डुवानको पिडाले विक्षिप्त बनेका कपनवासीहरुका सामाजिक संजालहरु बाढी ,डुवान ,आक्रोस, आरोप र प्रत्यारोपले रंगिन थाल्छन भने यसैलाई राजनीतिक रंग दिएर रमाउनेहरु पनि प्रसस्त नै भेटिन्छन।

नेपालका रास्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्द किशोर पुन पासाङ्ग, प्रधानमन्त्री शेर बहादुर देउवा , नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा , नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराई , बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की,नगर प्रमुख उद्दव खरेल  सहित नेपालको प्रसासन ,जंगी र पररास्ट्र क्षेत्रका नेतृत्वमा बसेका व्यक्तित्वहरुको निवास , बसोवास र प्रत्यक्ष सरोकार  रहेको काठमाण्डौ क्षेत्र नं ४ को कपन क्षेत्र भने अहिले पनि कुनै दूरदराजको पूर्वाधार बिहिन गाउँ झैँ डुवान संग जुधिरहेको छ।

डुवानको दुखलाई राजनीतिक दोहोरीको मेलो बनाउने रोग बाट ग्रसित भएको कपन क्षेत्रका वासिन्दाहरु भने अलिकति पानी पर्ने वितिक्कै बेल्चा,बाल्टिन,ज्यावल लिएर बाढी संग जुध्न रातभर अनिदो बस्न बाध्य बन्ने गरेका छन।

सम्भवत डुवान पिडित कपनवासीका अनिंदा आँखा र अमिलो मनले पक्कै पनि जस र अपजसको दोहोरी भन्दा पनि सामुहिक पहल बाट समस्याको समाधान खोजिरहेको महसुस हुन्छ।

पछिल्लो समय देखिएको डुवान समस्या र यसका लागि भएका पहलहरुलाई समेत ओझेलमा पार्ने गरी देखिएको डुवान समस्यालाई कुनै ब्यक्ति,दल वा प्रतिनिधिको जिम्मेवारी भन्दा पनि समग्र कपन क्षेत्रको साझा र प्रमुख समस्याका रुपमा निर्धारण गर्नुपर्ने देखिन्छ।

यसलाई अवका दिनमा पनि गम्भीर र सामुहिक रुपमा सोचिएन भने यसले निकै ठुलो समस्या निम्त्याउनुका साथै यसले यस क्षेत्रको नेतृत्व गर्ने राजनीतिक दल ,जनप्रतिनिधि र सामाजिक अभियन्ताहरुको अशली परिक्षा पनि लिने अवस्यम्भावी छ।

डुवानका कारण अनिँदो बसेर लाखौको धनमाल नस्ट भएको देख्न बाध्य, जीवनभरको कमाइले बनाएको वासमा पानी पसेको हेर्न बाध्य र आफ्नो व्यापार व्यवसाय र कार्यालय जाँदा हातमा जुत्ता र चप्पल बोकेर हिड्न बाध्य र अवरुद्ध सडकका कारण आफ्नो गन्तव्य गुमाउन बाध्य कपन क्षेत्रकावासीहरुको मनमा सायद अहिले यहि आवाज गुन्जिरहेको होला  “जसले जस लिएनी, अपजस दिएनी डुब्ने त् आखिर कपन नै हो !”

 

 

 

तपाइँको प्रतिक्रिया ।