नयाँघरेको एक हातको ताली : अरुणबहादुर खत्री ‘नदी’ ( पुस्तक समिक्षा )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
लामो समयदेखि साहित्यिक लेखनमा सक्रिय रहेका साहित्यप्रेमीहरु माझ चर्चामा आएका युवराज नयाँघरै नेपाली साहित्यका पाठकमाझ परिचित लेखक हुन् । उनको पहिलो संयुक्त निबन्धसङ्ग्रह २०५४ सालमा प्रकाशित भएपछि मुहुर्तको निबन्धसङ्ग्रह र मखुण्डाको मन निबन्धसङ्ग्रह २०५५ सालमा, काठमाडौंलाई कोर्रा निबन्धसङ्ग्रह २०५८ सालमा, नीलडाम निबन्धसङ्ग्रह २०६१ सालमा, अनाम पहाडमा फनफनी निबन्धसङ्ग्रह २०६२ सालमा निस्केको थियो ।
एकहातको ताली नामक निबन्धसङ्ग्रह २०६५ सालमा सातौं कृतिको रुपमा प्रकाशित भएर पाठकहरु माझ देखा परेको छ । यस कृतिभित्र अठारहजार जाबो, तिम्रो घरमा दैउता, भेटौला कर्फ्युमा , पुलमुनिका घर, सट्टापट्टा लगायत विभिन्न शीर्षकका तेइसवटा निबन्धहरु वर्तमान समयमा द्वन्द्वग्रस्त चेतना, मुलुकमा व्याप्त अन्योल र निराशा, मानवीय अवमूल्यन, राजनीतिक विसंगति, बढ्दो ढाँट प्रवृत्ति तथा सामयिक जीवनका अन्य सन्दर्भहरुमाथि लेखिएका छन् ।
बौद्धिकता र एकोहोरो प्रस्तुतिले निबन्ध पाठकहरुको दृष्टिमा बोझिलो विषय मानिन्छ । तर सामयिकता, फरक शैली, रोचक प्रस्तुति र ससाना कलात्मक वाक्यहरुको संयोजनले निबन्ध पठनीय पनि हुन्छ भन्ने कुरालाई निबन्धकार युवराज नयाँघरेले साबित गरिदिएका छन् । उनको यस कृतिले मदन पुरस्कार पाउनु पनि निबन्धकार नयाँघरेले रोजेको शैली, प्रयोग गरेका झर्रा र ठेट नेपाली शब्दहरुको सुन्दर संयोजन र द्वन्द्वग्रस्त नेपाली चेतनालाई मार्मिक ढंगले व्यक्त गर्ने अभिव्यक्ति कौशलले पाएकौ मान्यता हो ।
सङ्ग्रहभित्रको पहिलो निबन्ध अठार हजार जाबो पढ्दा सहरको दिव्य परिचय नै भीड हो, जाम हो र लस्कर हो जस्तो लाग्छ । सहरमा दुर्घटनाको कुनै ठूलो खबरले ठूलो महत्व र चर्चा पाउँदैन ।
हाम्रो ज्यानमा ट्रकै कुदेपनि त्यो बेखबर हुन्छ, बेहिसाब हुन्छ र बेमतलब हुन्छ यस निबन्धमा भनिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुप्रति ड्राइभर र कन्डक्टरले गर्ने हिंसालु व्यवहार अनि बाटो हिड्ने तथा बाटो काट्ने पैदल यात्रीप्रति हेर्ने दृष्टिकोणमाथि लेखिएको छ । ड्राइभरको हिंसालु उदाण्डता, मानिसको ज्यानलाई अठार हजारमा तौलने उसको मानसिक प्रवृत्ति अनि नियम कानुन भए पनि व्यवहारमा लागू नहुने दण्डहीनताकौ बढ्दो उछश्रृङ्खलताको नमुना पनि हौ अठार हजार जाबो शीर्षकको निबन्ध ।
शर्मिला पार्कर र धानबारी निबन्धमा असार मिसिएको खेत, झरी खाएको बाली । चट्याङ खपेको आली । आँधी बेहोरेको धरती । धानबारी एउटा सम्मेलन । धानबारी एउटा सिम्फोनी । देशले भोगेको आशालु भोकखेत । देशले रोपेको स्वप्नबाली खेत कृषिप्रधान देशकौ गाउँमा यो उखान किन ओठओठमा झुण्डिएको छ तेरो मुखमा दूधभात भनिएको छ ।
नयाँघरेका निबन्धमा सरल र शुद्ध नेपाली भाषाको सहज, सरस र
स्वाभाविक प्रयोग गरिएको छ । युवराज नयाँघरे कसैको पछि लाग्दैनन् र पनि अनाकर्षित छैनन् । जिज्ञासु र सचेत छन् सबैको प्रति । उनका निबन्धहरु निकै सरल छन् । भाषामा सरलता र प्रस्तुतिमा रोचकताको कारण नयाँघरेको निबन्धहरु पढ्दा कुनै बेला पनि असजिलो महसुस हुँदैन । निबन्धको लेखनक्षेत्रमा स्थापित हुन पुगेका नयाँघरे निरन्तर निबन्ध, नियात्रा सिर्जनामा एकछत्र आफ्नौ लेखनकलाको वर्चस्व राख्दै नवीनता तिर उन्मुख छन् ।
नयाँ भाव, नयाँ भाषा, नयाँ शैली र नयाँ समाजको परिकल्पनामा उनले आफूलाई क्रमबद्ध रुपमा साधनारत तुल्याएको कुरा उनले लेखेका निबन्ध र नियात्राको चर्चा ख्याति र सामाजिक स्वीकृतिलाई मान्दछौं । प्रलयको नाम होइन सुनामी निबन्धमा समुद्रको गर्भमा हल्लिएको लहर पानीमा घोलिएपछि विषाक्त र विध्वंशकबन्छ । पानीको सभ्यता जीवन निकट छ ।
मानिसले पानीलाई गति र रीतिकौ समान लम्काई मानेर सश्रद्धा सभ्यर्चना गरेको छ यथाक्रम । नयाँ रहस्य र नयाँ ज्ञानको श्रेणीश्रृङ्खलाका फुलपात हुन् पानीका थोपाहरु यस निबन्धमा भनिएको छ । सडक स्वाद निबन्धमा देशका चारै कुनाबाट थुप्रेका फुटपाथे बच्चाहरुको रातदिन मागेरै समय बित्ने गर्दछ । भौकसँग चिनाजानी छ, गहिरो नाता छ र ज्ञान छ ।
सडकको भोज र स्वाद यतिखेरको देशभन्दा भिन्न छैन भनिएको रहेछ । धरहरामा लेफराइट निबन्धमा धरहरा चढ्दाको अनुभूति व्यक्त भएको छ । काठमाडौंकै छातीमा थपक्क छ धरहरा । रचना, सङ्गठन, भावना र सौन्दर्यको आफ्नै मौसममा धरहरा देख्छु । धरहराको छाया घरि दाया पर्छ, घरि बाया पर्छ । यही छायाकै स्यालुटमा काठमाडौंले श्वास फेर्छ मौलिकताको । आफ्नै रङ, आफ्नै ऋतु र आफ्नै आमाले पुलंकित छ धरहरा भनी वर्णन गरिएको छ । मानिस सेरिएको कथा भन्नेहरु यसकै छाया टेकेर जान्छन् । मानिस झुन्डिएको व्यथा पोख्नेहरु यसकै छाया हेरेर जान्छन् ।
युवराज नयाँघरे भविष्यको अज्ञात समयतिर भन्दा विगतका परिदृष्यहरुलाई नै चित्रमय बनाउँछन् । जसको स्वरुपले प्रस्तुत कृतिको मान्यतालाई ठाउँठाउँमा उजागर गर्दछ, जसलाई यस कृतिको प्रमुख विशेषताकै रुपमा लिनुपर्दछ । नयाँघरेभित्र रहेको अथाह ज्ञानभण्डार, जीवनको अनुभूति र भोगाइ तथा उकाली ओराली छाम्न, छुन अनि हेर्न प्रस्तुत कृतिले पाठकलाई मनग्गै सघाउँछ । विषयवस्तु, भावप्रवाह र शैलीकौ विविधता उनको रचनामा देखा परेको छ । पहिराको धावामा नामको पहिराले खर्लप्पै पारेको कथा छ । निबन्धकारले १३ कार्तिक २०५७ मा कामको सिलसिलामा त्यहाँ
राम्चे पुग्दा झुपडीमा भात खाएको र त्यसको करिब तीन वर्षपछि मध्यरातमा राम्चेलाई पैराले बगाएको कुरा वर्णन छ । संवेदनशील निबन्धकारलाई यसले पोल्यो ।
त्यसैले पहाडमा बस्ने मानिसहरुको कथाव्यथालाई यहाँ समेटिएको छ । उनी छोटा छोटा वाक्य तथा वाक्यांश मार्फत जीवनका सन्दर्भलाई कोट्याउने, काव्यात्मक बिम्बको झलक दिने शब्दहरुको संयोजन गर्ने तथा पाठकलाई ताल्ने खालको कलात्मक वाक्य प्रयोग गरी निबन्धकौ प्रारम्भ गर्छन् । एक हातको ताली निबन्धमा इतिहासले पटकपटक रगतपिच्छे सपनाका पृष्ठ फरर्र पल्टाएकै छ । टुँडिखेलमा अपराधले बेनामे सन्तानलाई छोडेकै हो । टुँडिखेलले आदेश दिएरै कटाएथ्यो कटुवालका दुबै हातहरु ।
उर्दी थियो दुबै हातले ताली नबजाउन् न्याङरुखेहरुले । देशमा एक हातको ताली मजासंग बजिरहेथ्यो भनिएको पाइन्छ । अन्त्यमा पाठकहरुले यो निबन्धसङ्ग्रह पढ्न नछुटोस् भनि शुभकामना दिन चाहन्छु ।
यो निबन्धसङ्ग्रह मैलै एकहप्ता लगाएर नरोकिएर पढी सिध्याएँ । अन्य पाठकलेपनि यसै गरी पढ्ने कामना गर्दछु । यस कृतिको प्रकाशक विद्यार्थी पुस्तक भण्डार हो र मूल्यः रु.१५०।– राखिएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक