जनजागरणका गायक जे.वी टुहुरे : रमेश शुभेच्छु

जनजागरणका गायक जे.वी टुहुरे : रमेश शुभेच्छु

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

आमा दिदी बहिनी हो,
कति बस्छौ दासी भै
सुखको सधैँ प्यासी बनेर…
आफ्नै पौरख खान्छन्
आफ्नै सीपमा बाँच्छन्
दुःख कष्ट सहेर
सृष्टि यिनले थाम्छन्
असल महान् व्यक्तिहरू
यिनैले जन्माउँछन्
ज्ञानगुन बुद्धिहरू
यिनैले सिकाउँछन्
तर पनि अँध्यारोमा जीवन बिताउँछन् ।
आमा दिदी बहिनी हो ……..
२०४६ साल आसपासपछि यो गीत नसुन्ने नपाली कोही छैन । यो गीन नगुनगुनाउने पनि कोही छैन । यो गीत व्यक्तिले गाएको हो कि लोकगीत हो भनेर छुट्याउनै कठिन छ तर यसले नारी जागरणका बहुमुखी पक्षलाई समेटेको छ । यस गीतका लेखक एकदेव ज्ञवाली हुन् । यो गीतका गायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ हुन् । अब उनी इतिहास बनेका छन् । यसै साता उनको चिता पखालियो । अब उनका गीतले छरेको चेतना मात्र जीवित छ ।
जुठबहादुर खड्गी २००१ साल कात्तिक १५ गते पुरानो बजार धरान सुनसरीमा जन्मिएका हुन् । जन्मेकै दिन घटाउनको जीवनमा अन्धविश्वासको एउटा घटना घटाइयो । उनी जन्मनु भन्दा अगाडि जन्मे चार पाँच जना सन्तान नबाँचेकाले उनका बा आमा दिक्क थिए । सामाजिक विश्वासअनुसार जन्मने बित्तिकै उनलाई जुठोमा फालियो । यसरी जुठोमा फाल्दा नवजात सन्तान बाँच्न सक्छ भन्ने सामाजिक अन्धविश्वास थियो । जुठोमा फालिएको हुनाले उनको न्वारान पनि जुठबहादुर भनेर गरियो । उनका पिता कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीको गृहस्थी उनले हराभरा बनाएका थिए ।
खड्गी अन्धविश्वासले भरिएको सामान्य परिवारमा जन्मेका थिए । त्यही परिवारबाट उठेका थिए । उनी सामान्य परिवारबाट हाँडाभाँडा ठटाउँदै उठेका कलाकार हुन् । देउसी खेल्दै गायन र नृत्य सिक्तै आफ्नै धरातलमा उठेका व्यक्ति हुन् ।
आफ्नो जन्मभूमि धरानमा उनी धेरै समय बस्न पाएनन् । त्यहाँ उनको बसाइ थोरै समय मात्र भयो । उनका पिता व्यापारी थिए । उनी पिताको व्यापारको सिलसिलामा मोरङको मधुमल्लामा बसाइँ सरे । टुहुरे पितासगै मधुमल्ला, लेटाङ, दमकतिर घोडामा कपडाको पोको बोकाएर बेच्न जान्थे । व्यापारिक परिवाका सदस्य भए पनि उनको रुचि व्यापारतर्फ रहेन । सानैदेखि उनी कलाकार बन्ने धुनमा लागे ।
पिता व्यापारी भए पनि शैक्षिक चेतना कमजोर थियो ।

अलि हुर्किएपछि छोराको सघाउपगाउलाई महत्त्व दिदे परिवार थियो । उनको पढाइ अगाडि बढ्न सकेन । उनले तीन कक्षाभन्दा माथि पढ्न सकेनन् । इमेज टेलिभिजनको एउटा अन्तर्वार्तामा र प्रशिक्षणहरुमा पनि उनले साढे तीन कक्षा शिक्षा भनेका छन् । साढे तीन कक्षा भन्नुको अर्थ तीन कक्षा पढ्दा पढ्दै पढाइ छुटेको रहेछ । थोरै पढे तर उनले विद्यालयमा पढाए । देशभरिका संस्कृतिकर्मीलाई प्रशिक्षण दिँदै हिँडे ।
उनले स्कुल शिक्षा भन्दा माथि पढ्न पाएनन् ।

तर निरन्तर साधनाले नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सभासद् बने । पिता कृष्णबहादुर खड्गी र दानदेवी खड्गीका जीवनमा ठुला सपना थिएनन् । उनी आफ्ना वरिपरिको समाज परिवर्तनका लागि २०२४ सालदेखि न्याय, समानता, स्वतन्त्रता र परिवर्तनका पक्षमा गीतहरू गाउँदै हिँडे । जीवनभर जनता जगाउने गीत गाएरै ७८ वर्षको उमेरसम्म सक्रिय रहे ।
टुहुरेले पञ्चायती व्यवस्थाको अन्त्यदेखि राजतन्त्रको अन्त्यसम्मको युगका विशिष्ट जनगायक बनेर उभिए । उनले नै ३६ सालको जनजागृतिको गीत गाए । पञ्चायती व्यवस्थाका विरोधी बनेर बहुदलको विजयका गीत गाए । उनले नै जनयुद्ध सफल बनाउने गीत गाए । उनले गीतका शब्दबाटैे जनताको चेतना जगाउने काम गरे । प्रशिक्षणहरुबाटै नयाँ जनकलाकारहरु निर्माण गरे । समाजलाई अग्रगामी चेतनासहित परिवर्तनको बाटोमा हिँडाउने प्रयास गरे । बसाइँ हिँड्नेका पीडाहरु गाए, भरिया खेतालाहरुका गीत गाए । सहिदका सपनाहरु गाए । बम देवानलगायतका साथीहरुसँग सहकार्य गर्दै समाजलाई जगाइरहे ।
टुहुरेका कोसीको पानी सलल, पानी चल्दैन रे, बसाइँ हिँड्नेको ताँतीले, नयाँ दिन आयो आदि धेरै गीतहरु चर्चित छन् । देशभक्त छोरो मर्दा उनको साझा शोक एवम् जागरण गीत हो । बसाइँ हिँड्नेको ताँतीले नेपाली समाजको साझा भावना हो ।
जुठबहादुर खड्गीले सानैदेखि गीत गाए । गाउँघरमा हुने विवाहबटुलोमा गाए । कार्जे कर्मका जागृत र अन्य अवसरहरुमा गाए । उनी परिवारको अधिमाया र आफ्नै स्वभावले पनि अलि भावुक खालका पनि थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि उनले आफूलाई टुहुरो ठाने ।

त्यही पीडा र टुहुरो अनुभूतिले आफ्नो नामको पछाडि टुहुरे उपनाम जोडे । नाम पनि तत्कालीन नेताहरुले सी.पी, के.पी, आर.के नाम लेख्ने चलनअनुसार जे.वी राखे । उनी त्यही भावनात्मक र राजनीतिक वृत्तको नामराख्ने शैलीअनुसार जे.बी टुहुरेकै नामबाट चिनिए । २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको पहिलो रचना अनपढ प्रयास (गीतिसङ्ग्रह, २०२४) हो । उनी लेख्न र गाउन सक्ने व्यक्ति थिए । उनले मदन भण्डारीका विषयमा गाएको गीत यस्तो थियो ः
कति सरल उसको भाषण सयौँ हजार मुटु छुने
बोली लाग्यो हामीलाई बैरीलाई त गोली हुने …..
टुहुरेको सांगीतिक यात्राको सुरुवात बाल्यकालबाटै भयो । उनले १० वर्षे उमेरमै विद्यालयमा गीत गाएका थिए । त्यो बेला दुर्लभ पाइने रेडियोबाट अक्कल झुक्कल सुनेका गीत ध्यानपूर्वक सुन्थे । तिनलाई जस्ताको तस्तै गाउन अभ्यास गर्थे । उनको गीत गाउने रहरल नै उनलाई मोरङबाट काठमाडौँसम्म तानेर ल्यायो । २०१९ सालमा रेडियो नेपालमा उनले पहिलो गीत रेकर्ड गराए । उनको रेकर्ड गरेको पहिलो गीत थियो ‘हा हा काली, हा छैन नि माली हा…’ । २०२४ सालमा उनको दोश्रो गीत रेकर्ड भयो ।
टुहुरेले २०२६ साल सम्म मायापिरतीकै गीत गाए । त्यस बेलासम्म उनी जनवादी गीतसँग अपरिचित थिए । २०२४ सालपछि भने उनमा जनवादी चेतना विकास हुन थाल्यो । पारिजातसँगको भेट र प्रगतिशील गीतसङ्गीतको बोधसँगै उनी त्यतै होमिए । पारिजात, रामेश, रायन, मंजुल आदिले राल्फा आन्दोलन सुरु गरिरहेका बेला उनी पनि समेटिए ।

त्यस बेलासम्म बामपन्थी बिचारसहितको सङ्गीतप्रति मोहित हुँदै स्थापित भइसकेका थिए । २०२६ सालमा बिराटनगरका लब प्रधानले लेखेर दिएको “बसाइँ हिड्नेको ताँतीले बस्नेको मन रुवाउदछ“ भन्ने गीत गाए । यो गीत गाएपछि भने उनले कहिल्यै मायापिरतीको गीत गाएनन् । उनी आजीवन जनसङ्गीतमा लागिरहे । परिवारका सदस्य र साथीभाइसँग देउसी खेल्दै साङ्गीतिक यात्रा अगाडि बढाएका टुहुरे अब जनताका मञ्चमा पुगे । आजीवन ठुला ठुला आमसभाहरुमा समाज परिवर्तनका पक्षमा आवाज उठाइरहे ।
जेबी टुहुरेले नेपाली कम्युनिस्ट आन्दोलनका विकासमा गीतसङ्गीत गाउँदै र संगठन विस्तार गर्दै हिँडे । कम्युनिस्ट पार्टीको फुट सँगै उनले सम्हालेका जनसांस्कृतिक मोर्चाहरु पनि फुट हुन्थे तर दुवै पक्षले उनकै गीत गाइरहेका हुन्थे । यस आन्दोलनको फुटबाट राल्फामा पनि फुट आयो । रायन नेकपा (चौथो महाधिवेशन) तिर लागेर वेदना सास्कृतिक परिवार बनाए । रामेश र मञ्जुल नेकपा मालेतिर लागेर गीत गाउँदै हिँडे। टुहुरे पनि कोशी प्रान्तीय कमिटी हुँदै मालेतिर लागे र सांस्कृतिक मोर्चा समाले । रामेश, मंजुल, टुहुरे, शम्भु राई, रामकृष्ण दुवाल भएर “संकल्प गितीयात्रा“ पनि गरे ।

२०३४ सालमा गितीयात्राको क्रममा धरानमा टुहुरेले पहिलो पटक “आमा दिदीबहिनी हो“ भन्ने यस लेखको आरम्भमा उठाएको गीत गाएका थिए । यो गीत गुल्मीका स्रष्टा एकदेव ज्ञावलीले लेखेका थिए । यस गीतमा भएका केही शब्दहरु बम देवान र रामेशले फेरेका पनि थिए भनिन्छ । यसमा सामूहिक सम्पादन भएको चर्चा पनि नसुनिएको होइन तर यही गीत बढी चर्चित भयो ।
टुहुरे आफठ्नै संघर्षबाट उठेका पात्र हुन् । उनको पहिलो एकल सास्कृतिक कार्यक्रम २०२७ सालमा भएको थियो । उनका नाममा त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्थित अडिटरियम हलमा “वान मेन शो“ नामक कार्यक्रम भएको थियो । प्रजातान्त्रको पुनर्बहालीपश्चात उनका गीतहरु धमाधम रेकर्ड भए । उनका करिब १५० गीत रेकर्ड भएका छन् ।

उनको २० वटा नयाँ गीत रेकर्डको तयारीमा भएको जानकारी उनैले दिएका थिए । जीवनको उत्तराद्र्धमा उनको नेपाल प्रज्ञाप्रतिष्ठानको सभा हलमा भव्य एकल कार्यक्रम पनि भएको थियो । उनले सगरमाथा टेलिभिजनको एउटा अन्तरवार्तामा आफूलाई सातै प्रदेशमा एकल कार्यक्रम गर्ने रहर छ भनेका थिए । उनले आफ्नो योजनाअनुसार नै आज विद्या भण्डारी राष्ट्रपति बनेको, ओनसरी घर्ती सभामुख भएको विचार पनि राखेका थिए ।
एनले फर्क फर्क फर्क हो ……
भ्रष्टाचार हटाउन
आफ्नो गाउँ बनाउन
उक्त गीत गाएर उनले महेन्द्रको गाउँ फर्क अभियानलाई पनि सघाएका थिए । उनले कान्तिपुरको एउटा अन्तर्वार्तामा धर्मराज थापा लगायतका जागरणधर्मी गायकहरुको प्रभाव रहेको बताएका थिए । उनका जागरण गीतमा लोकशैली रहनुले उनी धर्मराजका गीतबाट प्रभावित भएको पक्ष प्रस्टै देखिन्छ । उनले राहुल साङ्कृत्यायनका रचनाहरुले प्रभावित गरेको पक्ष पनि बताएका थिए ।

उनी चरीभरर भन्ने कृतिबाट बढी प्रभावित भएको, मदनभण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रितहरुसँगको भेट र सङ्गतले आफूलाई प्रगतिशील गायन र संस्कृतितर्फ आकर्षित भएको बताएका थिए । उनी सरल जीवन र उच्च विचारसाथ निरन्तर एकै निष्ठा र आस्थामा अगाडि बढिरहे ।
२०४४ सालमा स्थापित जनसाँस्कृतिक मञ्च (हालको महासंघ)का उनी सस्थापक हुन । उनी यस मञ्चको दुई कार्यकाल अध्यक्ष भए । नेकपा एमालेको अनुशासन बिभागको सदस्य भएर काम गरे । साँस्कृतिक बिभागको सदस्य भएर काम गरे । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य समेत भए ।
गीत सङ्गीतका पण्डितहरुले जस्तो उनी गीतका राग र शास्त्र केलाउन सक्तैन थिए । सायद त्यासो भएर उनी प्रज्ञा परिषद्मा परेनन् । सायद त्यसो भएर उनी लाभका पदमा रहेनन् तर उनका गीत जन जनका मनमा बसे । उनका गीतलाई हेरेर नयाँ गीतिशास्त्र बने । यो नै उनको सफलता हो ।
जननेता मदन भण्डारीसँग उनी धेरै ठाउँमा गीत गाउँदै हिँडे । भण्डारीको निधन भएपछि अनिल पौडेलले लेखेको “मृत्यु पनि मान्छे पिच्छे फरक हुदोरैछ, देशभक्त छोरो मर्दा देशै रुदो रैछ“ भन्ने गीत गाए । यो गीत आम सहिदलाई सम्झने साझा गीत बन्यो । उनले एकताका र जागरणका गीत नै गाइरहे ।
दु,खको बोझ बिसाउन चौतारी बनाउँ है
एकले हैन हजारौँ मिलेर लौ न
लौन एक भै जुटौँ न ।
नदी र खोला बनेर सागर बन्द छ …
जस्ता गीत गाएर नेपाली जातीय एकताको र सांस्कृतिक एकताको काम गरे । उनले जनपक्षीय गीत पनि गाए, भ्रटाचार विरोधी गीत पनि गाए ः
जनता सबै देशलाई
देश जनतालाई
कोही पनि आफ्नो हुन्न भ्रष्टाचारीलाई
हामी पिउँछौँ हावा पानी त्यसले पिउँछ रगत
एक एक थोपा रस चुसी बटुल्दछ तागत ….
टुहुरेको राजनीतिक यात्रा उतारचढावपूर्ण रह्यो । उनी जायनकै बाटो मेची महाकाली घुमे, जेलनेल सहे । सङ्कल्प गितीकार्यक्रम लिएर देश दौडाहामा निस्किए । उनी मनमोहन अधिकारीले नेतृत्व गरेको पुर्व कोशी प्रान्तीय कमिटीमा संलग्न हुँदै अगाडि बढेका थिए । उनमा मनमोहनको सरल पनि पनि थियो । उनलाई दधिराम आचार्यले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए ।

दधिरामको सरल पन पनि थियो । टुहुरेको राजनीतिक यात्राको आरम्भमा मोरङको मधुमल्ल स्थित टुहुरेको घर नेताहरुको जक्सन थियो । टुहुरेले बिराटनगरमा सञ्चालन गरेको “शान्ति शीतलु“ लज मालेका नेताहरुको तत्कालीन सेल्टर थियो । २०३९ सालमा सि.पी मैनाली र झलनाथ खनाल बीचको विवादबाट रामेश र मंजुल पार्टी राजनीतिबाट अलग भए पनि टुहुरे पार्टीको काम । जागरणमा निरन्तर लागिरहे । २०४७ सालमा नेकपा एमालेले पूर्णकालीन काम गर्न थालेका उनी २०६६ सम्म यसै पार्टीमा रहे । हजारौँ सभामा परिवर्तनका गीत गाइरहे ः
………
धेरै सयौँ दुख पिर अब सहँदैनौँ
नयाँ नेपाल नबनाई हामी छोड्दैनौँ
आन्दोलनको झन्डा बोकी लड्ने हामी जनता
रगतको खोलो बगाई सहिद हुने जनता
नझुक्याउनुहोस् नेताहरु हामी झुकिँदैनौ…..
टुहुरेको सपना कम्युनिस्ट पार्टीको सत्ता आएपछि सर्बहारा बर्गको उत्थान हुन्छ भन्ने थियो । आफूले पढ्न नपाए पनि शिक्षामा सबैको पहुँच पुगोस् भन्ने थियो । सबैको स्वास्थ्य निशुल्क हुन्छ भन्ने थियो । आफ्नो पार्टी पटक पटक सरकारमा पुग्दा पनि उनको सपनाको एक छेउ पनि पूरा नहुँदा उनी दिक्क भए । उनको अर्को एउटा गुनासो थियो : पार्टीले कलाकारलाई सधैँ गाइने बनायो । पार्टीप्रति उनको गुनासो र असन्तुष्टि बढि नै रह्यो । उनले २०६६ सालमा नेकपा एमाले छोडेर तत्कालीन नेकपा माओवादीमा प्रवेश गरे । यो एमालेका सांस्कृतिक जीवनमा ठुलो क्षति थियो । माओवादीले उनलाई समानुपातिकतर्फ संविभान सभासद् बनायो । टुहुरेलाई गाइनेबाट सभासद बनाएर नेपालको कम्युनिस्ट आन्दोलनको अर्को धारले सघायो ।

उनले लेखेको संविभानमा धेरै हकहरु लेखिए तर उनको परिवर्तनको सपना अधुरो रहँदै उनले देखिरहेको एकीकृत नेकपा पनि तीन चिरा भएकै बेला उनको निधन भयो । उनलाई श्रद्धाञ्जली दिन सबै पार्टीका नेता पुगे तर उनको सपना उनैलाई चढाएको फुल बागमतीमा बगे जस्तै बगिरहेको थियो । उनलाई श्रद्धाञ्जली दिन उभिएका नेताहरुलाई उनकै गीतले गिज्याइरहेको जस्तो देखिन्थ्यो । जाई जात्राको झाँकी जस्तै देखिन्थ्यो ।
‘छोराहरु हो छोरीहरु हो ’
‘पसिना झार्दै तरर चार दिनको बाटो कटारी बजार’,
किसानको मुटु छामी हेर’
गीत हाम्रा मस्तिष्कमा थिए । उनको पार्थिव शरीरअगाडि गाडी चढेर बढी गार्डसहित पुगेका कम्युनिस्ट नेता उभिइरहेका थिए ।
टुहुरेबाट नेपाली समाजले धेरै कुरा सिक्नुपथ्र्यो । उनीबाट सिक्न सकिने थुप्रै कुरा बाँकी नै छन् । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउन्डेसन स्थापना भएको छ । यसको अध्यक्ष उनका कान्छी छोरी निर्भिका टुहुरे छन् । यही फाउन्डेसनबाट उनको आत्माकथा प्राकशनको अन्तिम चरणमा पुगेको निर्भिकाले बताएकी थिइन् । टुहुरेले आफ्नो कथाको प्रकाशित रुप हेर्न पाएनन् ।

उनका एक छोरा चार छोरीहरु आआफ्ना क्षेत्रमा सक्षम छन् । उनले सघाएका पार्टीहरु अहिले माओवादी केन्द्र र नेकपा समाजवादीका नाममा सत्तारोहण गरिरहेका छन् । अब उनका नाममा राज्यले पनि केही सोच्ला तर जनताको अवस्था चाहिँ उनले गाएका गीतअनुसार उठ्न अझै कति लाग्ने हो भन्न सकिँदैन ।
अब जेवी टुहुरे हामीमाझ छैनन् । ७८ वर्षको उमेरमा भदौ १० बिहिवारका दिन उनको निधन भयो । उनलाई भदौ १ गते मस्तिष्कघात भई काठमाडौ बल्खुस्थित बयोधा अस्पतालमा भरना गरिएको थियो । उपचारको क्रममा नै उनको निधन भएको हो । उनी सुगर, प्रेसर, थाइराइड लगायत विविध समस्याबाट पीडित थिए । आजिवन जनवादी गीत गाएर हिड्ने थोरै कलाकारमध्ये टुहुरे एक हुन । सुगम संगीतको अर्को धारमा देखिने उनी आजसम्मका सर्वश्रेष्ठ कलाकार हुन् ।
उनी नभए पनि उनका गीत गुञ्जिइरहेका छन् । उनका गीतबाट समाज जागरण र मानवीय चेतना निर्माणका बहुमुखी स्वर छोडेर गएका छन् । देश विग्रियो भन्दाभन्दै पनि तस्कर र सामन्तहरुसँग हाम्रो चेतना विकेन भने अझै पनि हामी माथि उठ्न सक्छौँ । यो कुरा टुहुरेले धेरै वर्षअगाडि गाएको एउटा गीतले बोको छ । यो गीत मञ्जुलको रचना र सम्भु राईको संगीतमा गुञ्जिएको थियो ः
बरु मेरो छाती छेड्ला जनता रोप्ने भालाले
तर मलाई किन्न सक्तैनौँ सुन चाँदी सिकाले
जग्गावाला हो सम्पत्तिवाला हो
तर मलाई किन्न सक्तैनौ……….
जनताको छोरो हुँ म तिनकै लागि बाँच्छु
मर्नै परे हाँसी हाँसी तिनकै लागि मर्छु
मेरो बुद्धि सिप सारा तिनकै सम्पत्ति हो
तिनकै लागि मर्छु बाँच्छु के को आपति भो ..
डाका गर्ने डाकु पनि धनी मानी भाका छन्
आमा बेच्ने व्वाँसा पनि वैभवशाली भाका छन्
धनै मात्र सबै कुरा हैन भन्ने बुझे
न्याय अनि समानताको लागि अघि बढेँ ।
न्याय र समानताका गायक कृतिशेष टुहुरेप्रति हार्दिक श्रद्धाञ्जली । टुहुरेको परिवारमा हार्दिक समवेदना । उनकै गीति अंश गाउन मन लागेको छ । देशभक्त छोरो मर्दा देशै रुदो रैछ । यो कलम पनि रोएको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।