त्रिसट्ठीवर्षे विमान उड्डयन इतिहासमा पहिलो दुर्घटना
काठमाडौँ, २१ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सबै अन्तर्राष्ट्रिय उडान शुक्रबार बिहान १० बजेसम्मका लागि स्थगन गरेको छ ।
बुधबार टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन समय लाग्ने भएकाले भोलि बिहानसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अवरुद्ध धावनमार्ग खुलाउन भारतबाट ल्याइएको उपकरणसहित भारतको विज्ञ टोलीले काम सुरु गरिसकेकाले धावनमार्ग भोलि बिहानसम्म खुल्ने कार्यालयले अनुमान गरेको हो ।
टर्किस एयरलाइन्सको विमान दुर्घटना भएदेखि नै अवरुद्ध धावनमार्ग खुलाउन त्यसक्षेत्रमा दक्ष जनशक्ति र उपकरणको प्रयोग गरी युद्धस्तरमा काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताउनुभयो ।
मुलुकको जनशक्ति र उपकरणबाट विमान हटाउन सम्भव नभएपछि भारतीय विशेष विमानमार्फत आज अपराह्न १ बजे विमानलाई सुरक्षितरुपमा उठाउने उपकरण (एयर ब्याग) सहित २५ जनाको विज्ञ टोली आई काम सुरु गरिसकेको छ ।
दुर्घटनापछि धावनमार्गको किनारको जमिन धस्सिएकोले सो विमान हटाउन स्वदेशी र विदेशी दक्ष प्राविधिकको टोली रातभर काममा सक्रिय रहने जानकारी गराउँदै महानिर्देशक सुमनले भन्नुभयो, “धावनमार्ग खाली गर्न चारघण्टा पनि लाग्न सक्छ, २४ घन्टा पनि लाग्न सक्छ ।”
धावनमार्ग खुलाउन विदेशी विज्ञ टोलीसहित नेपाल एयरलाइन्सका प्राविधिक तथा सुरक्षा निकायलगायतको जनशक्ति सक्रियतापूर्वक कार्य गरिरहेको विमानस्थल कार्यालयले आज एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ ।
त्रिभुवन विमानस्थलको धावनमार्गको जम्मा लम्बाई १० हजार ४० फिट रहेको र सो दुर्घटना भएको विमान लम्बाईको बीचमा रहेकाले बाँकी उत्तरतर्फको आधा धावनमार्गबाट हाल आन्तरिक उडानहरू भइरहेका छन् ।
त्रिसट्ठीवर्षे विमान उड्डयन इतिहासमा पहिलो दुर्घटना
इतिहासमा विरलै हुने यस किसिमको दुर्घटना नेपालको विमान उड्डयन सेवाको ६३ वर्षे इतिहासमा यो पहिलो घटना भएको विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालका लागि यस किसिमको दुर्घटना पहिलो भएकाले पनि यहाँका उद्धारकर्मीलाई विमान हटाउन अफ्ठ्यारो हुनुका साथै उपकरण पनि भारतबाट ल्याउनुपरेको कार्यालयले जनाएको छ ।
घटना घटेलगत्तै उद्धार गर्ने यस्ता उपकरण सामग्री विमानस्थल साँघुरो भएकाले राख्न नसकिने र यस्ताखालका महँगा विशेष उपकरण छिमेकी मुलुक भारतमा र थाइल्यान्डमा एक÷एकवटा रहेका छन् ।
विमान सो क्षेत्रबाट हटाउन विमानको वरपर रहेको घाँसे मैदानमा ५ डोजरले दुर्घटना भएको दिनदेखि नै नियमित काम गरेर पक्कि बाटो बनाइरहेका छन् भने एअरब्याग जमिनमा राखी फुलाएर धस्सिएको विमान माथि उठाउने बताइएको छ ।
जमिनमा धस्सिएको विमानको चक्का र गियरबक्समा क्षति पुगेकाले ती सामग्री फेरेर मात्र विमानलाई एयरक्राफ्ट रिमुभल किटको सहयोगमा सारिने कार्यालयले बताएको छ ।
उडान अवरुद्ध हुदाँ कति क्षति भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा महानिर्देशक सुमनले भन्नुभयो, “नियमित आर्थिक कारोबारबाहेक अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा कत्तिको प्रवेशाज्ञाको समय सकिँदैछ भने कतिको अध्ययन र आवश्यक बैठक तथा भेटघाट पनि हुन नसकेकाले क्षतिपूर्तिको मूल्याङ्कन गर्नै सकिँदैन ।”
विमानस्थलको प्रारम्भिक अनुसन्धानअनुसार कमजोर ‘भिजिबिलिटी’का कारणले बुधबार बिहान सो विहान दुर्घटना भएको अनुमान गरिएको छ ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवरोध हँुदा सबै अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएपछि यतिखेर मुलुकमा समानान्तर धावनमार्ग वा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको टड्कारो आवश्यकता महसुस गरिएको छ । रासस