दक्षिण कोरियामा अमेरिकी राजदुतमाथि चक्कु प्रहार
काठमाडौ, २१ फागुन(एजेन्सी) ; दक्षिण कोरियामा अमेरिकी राजदुत मार्क लिप्पर्टमा सिओलमा एक व्यक्तिले बिहिबार चक्कुले हमला गरेको छ । यो घटनामा ४२ वर्षीय राजदुत घाइते भएका छन् ।
राजदुत एक ब्रेकफास्ट मिटिङमा सहभागी हुनका लागि एक आर्ट सेन्टरमा पुगेका थिए । हमला गर्ने व्यक्तिले लिप्पर्टको दायाँ गाला र घाँटीमा चक्कु प्रहार गरेका थिए । हमला गर्ने समयमा ती व्यक्तिले कराउँदै भनेका थिए, ‘दक्षिण कोरिया र उत्तर कोरिया एक हुनुपर्छ ।’ बैठकमा राजदुत आफ्नो वक्तव्य सुरू गर्न लाग्दा ती व्यक्तिले १० इन्चको चक्कुले उनीमाथी हमला गरेका थिए । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए । राजदुत मार्कलाई तत्काल अस्पताल पुर्याइएको थियो । अहिले राजदुत मार्कको स्थिति स्थिर रहेको बताएका छन् ।
प्रहरीले ५५ वर्षीय हमलाकारी किम कि जोंगको रूपमा पहिचान गरिएको छ । हमलापछि उनलाई पक्राउ गरिएको थियो । दक्षिण कोरियाली इन्टेलिजेन्सले ती व्यक्ति सन् २००६ देखि २००७ कोबीचमा ६ पटक उत्तर कोरिया गएका थिए । सन् २००७ मा किमले आत्महत्याको प्रयास गरेका थिए । किम यसभन्दा अगाडि सन् २०१० मा जापानको राजदुतमाथि पनि हमला गरिसकेका छन् । उनले जापानी राजदुतमाथी ढुङ्गा प्रहार गरेका थिए । यो अपराधमा उनलाई ३ वर्षको जेल सजाय समेत भएको थियो ।
उता अमेरिकी स्टेट विभागले राजदुतको ज्यान खतरामा नरहेको जनाएको छ र शल्यक्रियापछि उनको अवस्था राम्रो भएको बताएको छ । दक्षिण कोरियाका प्रधानमन्त्री ली वेन-कुले हमलालाइ लिएर दुःख व्यक्त गरेका छन् ।