तारकेश्वरको साङला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा सञ्चालनमा ल्याइने

तारकेश्वरको  साङला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा सञ्चालनमा ल्याइने

कपन अनलाइन

काठमाडौं श्रावण १९ ।  तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा  हेमोडायलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ ।  शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली र तारकेश्वर नगरपालिका बीच समजदारी पत्रमा  हस्ताक्षर गरिएको छ राष्ट्रिय  मृगौला  उपचार केन्द्रका निर्देशक डा. ऋषि कुमार काफ्ले  र तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले   सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नगरपालिकाका, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, सूचना अधिकारी होमनाथ न्यौपाने, नगर स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिति रहेको  थियो ।

 नगर प्रमुख बोहोराले साङ्ला डायलासीस सेन्टरमा नगरवासी र छिमेकी नगरपालिका, नुवाकोट र रसुवा जिल्लाका नागरिकहरुले पनि डाइलासिस सेवा लिन पाउने बताएका छन्  । डाइलासीस सेन्टर दशैं तिहारको आसपासदेखि सञ्चालनमा ल्याउने बताइएको छ ।  आवश्यक सामान व्यव्स्थापन र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिने कार्य पश्चात डायलासीस सेन्टर सञ्चालनमा आउनेछ।

  तारकेश्वर नगरपालिकाले १ लाखभन्दा बढि नागरिकहरुलाई आफ्नो किड्नीको अवस्था परीक्षणको लागि आफ्नै वडाको स्वास्थ्य केन्द्रहरुमा व्यवस्था मिलाउन लागेको नगर प्रमुख  बोहोराले जानकारी गराएका छन्  ।‌ त्यस्तै स्वयंसेवीका मार्फत घरदैलो अभियान सञ्चालन गरेर “मिर्गौला बचाउँ” लेखिएको प्लेकार्ड बोकेर जनताको घरघरमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्ने नगरपालिकाको योजना रहेको छ ।    राष्ट्रिय मृगौला उपचार केन्द्रले मृगौला पीडित बिरामीहरुको लागि डाइलासीस सेन्टर सञ्चालन र आवश्यक स्वास्थ्यकर्मीहरुलाई तालिम व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

फोटो सौजन्य : साझा पाना

तपाइँको प्रतिक्रिया ।