काठमाडौं जिल्लामा आज बाट भेरोसेल खोप लगाइने ,कहाँ छन खोप केन्द्र ?
कपन अनलाइन
काठमाडौँ,श्रावण १४ ।
काठमाडौं जिल्ला खोप समन्वय तथा अनुगमन समितिले कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत साउन १४ देखि १८ गतेसम्म काठमाडौं जिल्लामा भेरोसेल खोप पहिलो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
५० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुको हकमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाले सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने गरी खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप लगाउने सम्बन्धमा खोप कार्यक्रम सञ्चालन हुने समयमा नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गई खोप लगाउन सक्ने छन् ।
यसैगरी खोप केन्द्रहरुको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा प्रबन्ध मिलाउने तथा भिड नियन्त्रण गर्ने निर्णय समेत आज बसेको बैठकले गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको समितिको बैठकले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी तथा व्यवस्थित गर्ने निर्णय समेत गरेको छ ।