म जागेँ भने : त्रिलोचन आचार्य (कविता )

म जागेँ भने : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

म जागेँ भने खै कहाँ को रहन्छ ?
म लागेँ भने खै कहाँ शान्ति हुन्छ ?
चुने मार्ग मेरो कहाँ को छ सग्लो ?
म हो मृत्यु को छौ म भन्दा नि अग्लो ? ।१।

म जागेँ भने घाम देख्दैन कोही
भयो जे, नयाँ याम देख्दैन कोही
सबै शक्ति टुट्दा न पासो न चासो
न उत्साह भारी न नासो गुनासो ।२।

म जागेँ भने पाइला चाल्न दिन्न
अँध्यारो सधैँ दीप नै बाल्न दिन्न
दिँदै दिन्न हाँसो कतै फुत्त खस्न
दिँदै दिन्न कोही कतै टुस्स बस्न ।३।

म जागेँ भने सृष्टि यो रोक्नसक्छु
नियाल्छौ कता दृष्टि नै टोक्नसक्छु
उचालेर सिङ्गै धरा बोक्नसक्छु
म बिर्सन्न केही सबै घोक्नसक्छु ।४।

म जागेँ भने कुद्छु गङ्गा सुकाई
म एक्लै बसी निल्छु संसारलाई
तमाशा झिकी भाइ तिम्रै लडाई
बसी छेउमै हेर्छु चिन्छौ मलाई ।५।

म जागेँ भने भो धुलो वा पिठो नै
कहाँ होस् बुढो यो छु लक्का ठिटो नै
बसेको छु आफैँ धाउँदैछौ भनेर
विदा माग्न यैँ आउँदैछौ भनेर ।६।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।