देहाततिर पो भेटिन्छ देश : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
ओ… साथी !
सहरमा त देश
कहाँ छ र ?
त्यहाँ त अचेल
दल छ
बल छ
डुङडुङ गह्नाउने
ढल छ
दाउपेचको
छल छ
नेताको महल छ
कमाउनेको होड छ
सत्ताको बेजोड छ,
न्यायको खडेरी छ
भ्रष्टहरुको घडेरी छ
मुखमा श्रम
मनमा भ्रम
पाल्नेहरुको भिडमा
सच्चा देशभक्ति
अड्नै सक्दैन ।
साँच्चै हातमा कर्म
विचारमा धर्म
छातीमा राष्ट्रियता
नैतिकतामा स्वाभिमान
हेर्न त
गाउँ बस्ति जानुपर्छ,
ढिडो रोटो खानुपर्छ
नेपाल हेर्न त
कर्णालीका दुरदराज पुग्नुपर्छ
जहाँ न घरमा छाना छ
न भाँडामा खाना छ
न त आङमा नाना छ
तथापी
ओठमा हाँसो छ
स्वाधिन राष्ट्रको
सपना छ,
स्वलम्बनको
पहिचान छ
नेपाली हुनुको शान छ,
त्यसैले आजभोलि
वास्तविक देश खोज्न
देहाततिरै जानुपर्छ ।
तपाइँको प्रतिक्रिया ।