गुमनाम : पेशल आचार्य (कविता )

गुमनाम : पेशल आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २५ ।

अचेल गुमनाम शब्द वतन बद्लेर
गुमनाम छ
हिजोआज
चुपचाप शब्द पनि थात थलो फेरेर
चुपचाप छ
तिघ्रे मुङ्ग्रेलाई कुस्त कमाउने बहार छ
निर्धाहरूलाई सास टेकाउनकै लागि हतार छ
कठै !
देश अक्सिजनको खोजीमा निस्केको
अझै वतन फिरेको छैन,

मरेर बाँचिरहेकाहरू
र बाँचेर पनि मरिरहेकाहरू
खोप खोप भन्दैछन्
खाना र नाना पनि माग्दैछन्
खोपका लागि ङिच्च दाँत देखाएर हात फैल्याउने
सरकार चुनावका लागि बेफिक्री पैसा खर्च गरिरहेछ,

मुर्दाहरूको देश
मुर्दाहरूको शासन
मुर्दाहरूबीच हुने
भविष्यका ती चुनावहरू
यतिखेर बाँचेकाहरूबीच
अट्टहास हाँसिरहेछन्,

बाँकी सबै गुमनाम छन्
जीवनहरू
इच्छाहरू
रहरहरू
र सबैभन्दा बढी
मानवताहरू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।