मृत्यु उत्सव : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २५ ।

मान्छे रोइरहेका छन् रोगका बाँणले गरी
उठ्न गाह्रो भएको छ कलह व्देषले चरी
तैपनि बाँड्न थालिन्छ रङ्गिन सपना जब
सारा संसार भन्नेछन् यही हो मृत्यु उत्सव । १।

नपाई फक्रने मौका कोपिला चुँडिए सब
स्वतन्त्र मनका भाव छातीमै थुनिए सब
पढिन्न कविता काव्य आतङ्क हुन्छ उद्भव
भन्नै पर्दैन जानिन्छ यही हो मृत्यु उत्सव । २।

फस्टाई स्वार्थको खेती सेवा भाव अभाव भो
अस्थामा बोलियो धावा दुष्कर्मको दवाव भो
जाल तिक्डमको पाटो मूलबाटो भयो सब
पाकाहरू सबै भन्छन् यही हो मृत्यु उत्सव ।३।

इन्द्रेनी मन देखिन्नन् तुँवालो छ जतातता
वस्तीमा पनि बिस्तारै पस्न थाल्यो व्यथै व्यथा
सक्नेले नगरी माया गर्दैछन् अझ ताण्डव
पर्ने परे बचेकाले हेर्दैछन् मृत्यु उत्सव । ४।

हाहाकार छ भन्दैछन् मुर्दा शान्ति छ त्रास छ
आमामा देखिँनै लाग्यो आँसुका भेल व्यापक
तैपनि कतिले भन्छन् हुन्छ सुधार सम्भव
दुनियाँ जन भन्दैछन् यही हो मृत्यु उत्सव । ५।

टिपेर फूलका थुँगा आऊ श्रद्धाञ्जली दिऊँ
उत्साहको भयो अन्त्य विदाई गर्न तम्सिऊँ
अन्तिम भोज हो खाऊँ जे जति हुन्छ सम्भव
नदेखाई डराएको मनाऊँ मृत्यु उत्सव । ६।

नगरौँ अब यो बेला नीति पध्दतिका कुरा
नगरौँ अब सद्भाव गति सङ्गतिका कुरा
लछारिन्न कतै केही बाटो छोडी कुदौँ सब
होओस् उत्सव नै जस्तो यो हाम्रो मृत्यु उत्सव । ७।

बनाए पनि बिचल्ली नबनाए सरी बनौँ
हराए पनि संस्कार नहराए सरी बनौँ
निर्धक्क लाम लागेर आगोमा होमिऊँ सब
ऐतिहासिक नै होओस् यो हाम्रो मृत्यु उत्सव ।८।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।