क्रोसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

स्पेन   युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति नकआउट चरणको खेलमा क्रोसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय अतिरिक्त समयमा भएको थियो । स्पेनले अतिरिक्त समयमा २ गोल गरेको थियो । खेलको १००औं मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए भने १०३औ मिनेटमा मिकेल ओयार्जाबालले अर्को गोल गरेका थिए ।

स्पेनका लागि यस अघि खेलको ३८औ मिनेटमा पाब्लो सर्बियाको गोलमा बराबरी गरेको थियो । त्यसपछि खेलको ५७औ मिनेटमा सिजार असपीलिक्यूएटाले गोल गर्दै स्पेनलाई २-१ ले अग्रता दिलाएका थिए भने स्पेनका लागि तेस्रो गोल खेलको ७६औ मिनेटमा फेरान टोरेजले गरेका थिए ।

खेलको २०औ मिनेटमा स्पेनका पेड्रीले आफ्ना गोलकिपर दिएको ब्याक पास सम्हाल्न नसक्दा आत्मघाती गोल भएको थियो र क्रोसियाले शुरुवाती अग्रता लिएको थियो ।

त्यसपछि ३-१ गोल अन्तरले पछि परेको अवस्थामा क्रोसियाका लागि मिस्लाभ ओर्सिकले खेलको ८५औ मिनेटमा गोल गर्दै कमब्याकको शुरवात गरेका थिए भने खेलको ९२औ मिनेटमा मारिओ पासालिकले गोल गर्दै खेल बराबरी गरेका थिए ।

अब स्पेनले क्वाटरफाइनलमा फ्रान्स र स्वीट्जरल्याण्डबीचको खेलको विजेतासँग खेल्ने छ  ।अहिलेसम्म क्वाटरफाइनलमा इटाली, डेनमार्क, चेक रिपब्लिक र बेल्जियम पुगिसकेका छन्  ।

तपाइँको प्रतिक्रिया ।