भोगाइमा कोरोना : समिर अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
कटकट खायो शरीर टाउको टनटन गरी टन्कियो
सुस्त सुस्त गरीकन सारा शरीर नै पो लौ रन्कियो
दुख्न थाल्यो छाती अनि सुरू भो खोकी जसै
आत्तीइ स्वाव परीक्षण गर्न लगाएँ मैले तसै
आयो रिपोर्ट केही समय पश्चात कोभिड पोजेटिभ भनी
अलग्गिएँ परिवार अनि समाजबाट पनि महाअछुतो बनी
क्षणभरमै मायालुहरु त्रसित भइ परपर तर्किन थाले
चोखिन हतपत आफैंलाई स्यानीटाइजर छर्कीन थाले
आफ्नाहरुको साथचाहिने यस्तो असक्तताको बेलामा
खाना औ ओखती राखिदीन थाले दैलोको त्यो ठेलामा
घरीघरी फोन गरी आफन्तले सोध्छन् अहिले कस्तो छ
सासै फेर्न गाह्रो छ आफूलाई खै कसरी बोलुँ जस्तो छ
अर्ती दिँदै एकाथरी मान्छे अनेक मेसेज पठाउँछन्
वाइफाइ नै बन्द गरी बसुँजस्तो हैरान लौ कटाउँछन्
न जिब्रोमा स्वादछ कुनै न नाकमा कुनै बासना
ढलेर बिछ्यौनामा खप्दैछु कोरोनाको शासना
अक्सिजन घट्दै जाँदा लाग्दछ अब रहन्न म
साह्रै गाह्रो भइ सक्यो थप पीँडा अब सहन्न म
यो खा, त्यो खा भन्छन् जति खाएनी पेट ह्वाङ्गछ
भोटे कुकुरको भुकाइझैं खोकी लौ सधैं घ्वाङ्घ्वाङ्ग छ
गलेर शरीर अहो नराम्रोसँग रहेछ नि खङ्गरिने
कहिले अनि कसरी होला पूर्ववत भइ तङ्गरिने
देखेर, भोगेर यस्तो पीँडा सबैमा अब चेतना जागोस्
विन्ती छ यस्तो ज्यानमारा रोग शत्रुलाईनी नलागोस् ।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक