सन्तान अस्ट्रेलियामा बाबुआमा वृद्धाश्रममा
काठमाडौँ । सिन्धुपाल्चोक जलबिरेका ८६ वर्षीय मेहरमान खड्का अस्टे«लियामा रहेका डाक्डर छोराको प्रतीक्षामा पशुपति वृद्धाश्रममा टोलाइरहेका छन् । सन्तान र आफन्तले बेवास्ता गरेपछि उनको वाध्यताको बसाइँ बनेको हो वृद्धाश्रम ।
“दुई भाइ छोरामध्ये जेठो छोरा भारतमा ठूलो व्यापारी छ, उसले मलाई कुनै वास्ता गरेन, कान्छो छोरो अस्टे«लियामा छ, उसले पनि मलाई हेला गरेर आफ्नी आमालाई मात्र लिएर गयो” – मेहरमानले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो – “सन्तानले छोडे पनि सँगै जिउने मर्ने कसम खाएकी श्रीमतीले समेत दुःखका बेला छाडेर छोराकै पछि गई ।”
बुढेसकालमा छोरा, बुहारी र नातिनातिना वा आफन्तको सहारा पाइयोस् भन्ने सबै बाबुआमाको चाहना हुन्छ । तर आफ्नो मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि भनेजस्तो सन्तान निष्ठूरी भएपछि कसैको केही लाग्दैन । बदलिँदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम बढेको र अन्य कारणले हेलामा परेर वृद्धाश्रम बस्ने क्रम बढेको छ । तीनै मध्येका एक हुन् पशुपतिमा टोलाएर बस्ने गरेका मेहरमान ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका २३० वृद्धवृद्धा छन् । अस्टे«लिया, अमेरिका, बेलायत र क्यानाडालगायतका मुलुकमा विदेशिएका सन्तानका वृद्ध आमाबुबा यो आश्रममा जीवनको अन्तिम दिनहरू गुजार्दैछन् ।
पशुपति वृद्धाश्रममा २०६७ सालदेखि बस्दै आएका ललितपुर ठूला दुर्लुङका ७७ वर्षीय भीमनाथ दुलाल र सात वर्षदेखि बस्दै आएका दाङ पञ्चकुलेका कुलबहादुर खत्रीको पनि मेहरमानको भन्दा फरक छैन पीडा । ढल्कँदो उमेरमा स्मृतिमा बेलाबेला देखापर्ने सम्झना र सुख दुःखका कुराहरू साटासाट गर्दै यो आश्रमका वृद्धवृद्धाको दिनचर्या बित्छ ।
बुढेसकालमा बिहान बेलुका दुई छाक टार्न अर्काको घरमा काम गर्न बस्नुभएकी फूलकुमारी तामाङको ६१ वर्षमा शिरको सिउँदो पुछियो । बाँकी एकमात्र सन्तानका रुपमा छोरा रविनलाई दुःखजिलो गरेर हुर्काएर अध्ययनका लागि जापान पठाउनुभयो ।
तर, जापानबाट आएपछि रविनले आमालाई वास्ता गरेनन् । नचिनेझैँ गरी बोल्दासमेत बोलेनन् । छोरालाई भनेर उनले रातदिन दुःख गरेको रविनले चटक्कै बिर्से । “विदेशबाट आएपछि अहिले उसले मलाई नै चिन्दैन बोल्दैन । बरु यस्तो सन्तान हुनुभन्दा त बाँझै बस्नु बेस”–गहभरि आँसु पार्दै फूलकुमारीले भन्नुभयो ।
पछिल्लो जनगणनाअनुसार करिब २६ लाख ज्येष्ठ नागरिक छन् । सन्तानले नै बेवास्ता गरेपछि सक्नेहरू अधिकारका लागि सडकमा सङ्घर्ष गरिरहेका छन् । नसक्नेहरू वृद्धाश्रमहरू खोजिरहेका छन् । सडकमा मगन्ते जीवन जिउन बाध्य छन् ।
काठमाडौँमा दुई वर्षदेखि विभिन्न माग राखेर दैनिकजसो धर्ना बस्दै आएका वृद्धवृद्धाको मागको सरकारले अझै सम्बोधन गरेको छैन । बुढेसकालको जीवनयापन सहज गराउन ज्येष्ठ नागरिक संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा मीनभवनस्थित सडकमा धर्ना बस्दाबस्दै करिब दुई दर्जनको निधन भइसकेको छ ।
धर्नामा बसेका ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्नेलगायतका माग तत्काल पूरा नगरिए सडकमै आत्मदाह गर्नेसम्मका चेतावनी दिँदै आएका छन् ।
संयुक्त परिवारको संस्कृतिमा निर्माण भएको नेपाली समाजमा पछिल्लोपटक एकल परिवारको संस्कृतिले प्रश्रय पाइरहेको भन्दै पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, बाबुआमा जीवित रहुन्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्नेसमेत ज्येष्ठ नागरिकले माग गर्दै आएका छन् ।
देशभर ९० वटा वृद्धाश्रम छन् । उपत्यकामा मात्रै २५ वटा छन् । धेरैजसो वृद्धाश्रम ज्येष्ठ नागरिकमैत्री देखिँदैनन् । समाज कल्याण केन्द्र वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेतका अनुसार हाल वृद्धवृद्धा रहेको भवन संरचना ज्येष्ठ नागरिकमैत्री नभएको हुँदा नयाँ भवनमा सार्ने छलफल भइरहेको बताउनुभयो । मन्त्रालयले वृद्धाश्रमका लागि मात्र वार्षिक रु एक करोड ३९ लाख बजेट छुट्याएको छ । वृद्धाश्रममा रहेका २३० वृद्धवृद्धामध्ये १०६ वृद्ध र १२४ वृद्धा रहेका छन् ।
समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपति १९३८ सालमा स्थापना गरिएको सरकारद्वारा सञ्चालित एकमात्र वृद्धाश्रम हो । राजा सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाठशालाका रुपमा स्थापना भई सञ्चालनमा आएको वृद्धाश्रम २०३४ सालदेखि समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिको नाममा सञ्चालित हुँदै आएको छ ।
वृद्धाश्रमले वृद्धवृद्धाका लागि लालनपालन, आवास, औषधि उपचार तथा दाह संस्कारलगायतको व्यवस्थासमेत गर्दै आएको छ । सुशील दर्नाल, रासस