इन्द्रजाल : मुक्तिनाथ शर्मा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार ७।
महाँ तपस्वी तेजस्वी, विश्वामित्र ऋषि ठूलो
तपस्यामग्न छन् ऐले, मेरो देखिन्न क्यै भलो
आशङ्का छ मलाई जो, इन्द्रासन डगाउला
बेलैमा होसिलो बन्न, परेको छ मलाईता ।।१।।
तिमी समर्थ छौ यस्तो, संकट पार लाउन
जाउ लोभ्याउ फर्काउ, मायाजाल प्रपञ्चमा
आफ्नु रूप जवानीले, मिठो हाव र भावले
तान्न सक्छ्यौ ऋषिलाई, मुस्कान वाक्यवाणीले ।।२।।
आदेश इन्द्रको यस्तो, भयो अनि त मेनका
भन्छिन् सहज यो कार्य, छैन लाग्छ मलाईता
विश्वामित्र महाँ क्रोधी, तपस्वी हुन् यथार्थमा
म त सक्दिन झैं लाग्छ, त्यस्तालाई फसाउन ।।३।।
तापनि जान्न भन्दिन, सुरेन्द्र ! बरु एउटा
बिन्ति मेरो सुन्नपर्ला, हुन पाउँ सुरक्षित
जलकृडा म गर्ने छु, ऋषिका नजिकै गई
बायुले बस्त्र हल्लाओस्, कामदेव हउन् संगै ।।४।।
यसरी इन्द्रको जाल, चाल भो मेनकाजीको
विश्वामित्र फसे जाल्मा, तपस्या भङ्ग नै भयो
नानी शकुन्तला जन्म, माया महर्षि कण्वको
दुष्यन्तको ईतिहास, राज्य भारत खण्डको ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक