काठमाडौ महानगरपालिकाको नवौ अधिवेसन सुरु

काठमाडौ महानगरपालिकाको नवौ अधिवेसन सुरु

कपन अनलाइन

काठमाण्डौ ,असार ४।

काठमाडौ महानगरपालिकाको नवौँ अधिवेसन सुरु भएको छ । राष्ट्रिय सभा गृहमा सुरु भएको अधिवेसनको पहिलो बैठकमा प्रमुख विद्यासुन्दर शाक्यले आ. व ०७८/०७९ को बार्षिक नीति पेश गरेका छन  । समृद्ध, सुरक्षित र जीवन्त सांस्कृतिक सहरको समृद्धिका लागि ‘सम्पदामा आधारित पर्यटन र नवप्रवर्तनमा आधारित उद्यमशीलता’, ‘आवद्धतामा आधारित सहरी विकास’ र ‘तथ्यमा आधारित नीति निर्माण’ लाई दीर्घकालीन नीतिका रुपमा प्रस्ताव गरिएको छ ।

कोविडका कारणले जनजीवनमा परेको असरलाई न्युनीकरण गरी क्रमिक रुपमा जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कार्य चुनौती पूर्ण भएको कुरालाई महसुस गर्दै ५ क्षेत्रमा अल्पकालीन योजनालाई समेटिएका छन् । यी क्षेत्रहरु आर्थिक उत्थानशीलता, समुदायमा आधारित पूर्वाधार विकास, विद्युतीय प्रविधि प्रयोगमा व्यापकता, खाद्य हरित सहरको अवधारणा अनुरुपको विकास र जनस्वास्थ्य सेवाको प्रभावकारीता हुन् ।

प्रमुख शाक्यले वैठकमा ९५ वटा बुँदामा चालु आर्थिक बर्षका कामको प्रगतिका विषय उल्लेख गर्नुभएको छ । त्यसपछिका २२७ वटा बुँदामा आउँदो बर्ष गरिने कार्यक्रमलाई ५ क्षेत्र र २४ वटा उपक्षेत्रमा नीति समेटेका छन ।

पेश गरिएको प्रमुख क्षेत्रमध्ये आर्थिक तथा रोजगारी क्षेत्र पहिलो हो । यसअन्तर्गत कृषि, पशु उद्यमशीलता, सहकारीलगायत उपक्षेत्र छन् । दोस्रोमा सामाजिक विकास क्षेत्र छ । यसअन्तर्गत जनस्वास्थ्य, शिक्षा, जेष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, युवा, खेलकुद लगायतका  उपक्षेत्र छन् ।

तेस्रोमा भौतिक पूर्वाधार क्षेत्र राखिएको छ । यसअन्तर्गत सहरी र्भाैतिक पूर्वाधार विकास, संस्कृति सम्पदा तथा पर्यटन, खानेपानी तथा सरसफाइ, सार्वजनिक यातायात व्यवस्थापन, सुरक्षित बस्ती विकास तथा सहरी सुव्यवस्था, विपद व्यवस्थापन लगायत उपक्षेत्र छन् । चौथोमा वातावरण व्यवस्थापन तथा सहरी सौन्दर्यीकरण क्षेत्र छ । यसअन्तर्गत फोहोरमैला व्यवस्थापन, प्रदुषण नियन्त्रणलगायत उपक्षेत्र छन् ।

पाँचौँमा सुशासन तथा संस्थागत विकास क्षेत्रलाई राखिएको छ । यसअन्तर्गत सूचना प्रविधि, मानव संशाधन विकास, न्याय निरुपण तथा मानव अधिकार प्रवर्धन, राजस्व तथा वित्त व्यवस्था, सुशासन र अन्तराष्ट्रिय सम्बन्ध लगायत उपक्षेत्र छन् ।

नीतिमा विगतदेखि सञ्चालन हुँदै आएका कार्यक्रमको निरन्तरता, विगतमा लिइएका त्यसबेला कार्यान्वयन हुन नसकेका तर अब कार्यान्वयनमा ल्याउन सकिने खालका र समसायिक जनअपेक्षाका कार्यक्रमलाई महत्व दिइएको छ ।

यसरी लिइएका नीतिहरुमध्ये १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट तथा सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य वीमा कार्यक्रम’ सञ्चालन गर्ने, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सञ्चालन गर्ने, विद्यालयका प्रधानाध्यापकाहरुलाई मासिक १ हजार रुपैयाँ विशेष प्रोत्साहन दिने, सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा दिने कार्यक्रम विशेष महत्वका नीतिका रुपमा हेर्न सकिन्छ ।फोटो सौजन्य : काठमाण्डौ अनलाइन

तपाइँको प्रतिक्रिया ।