विपद संग जुधिरहेको मेलम्ची बजार पुग्दा …..

विपद संग जुधिरहेको मेलम्ची बजार पुग्दा …..

कपन अनलाइन

काठमाडौं जेठ ३/पुन्यराज पुडासैनी 

असार १ गते राति देखि वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजार र त्यस माथिका चनौटे ,तिम्बु लगायतका क्षेत्रमा निकै ठुलो क्षेती पुर्याएको छ।

करिव बेलुका ५ बजेको समयमा नदीमा काठहरु बगाएर ल्याएपछि र माथिल्लो भेग बाट तारन्तार सुचना आएपछि सक्रिय बनेका  मेलम्ची नगरपालिकाका स्थानीयहरु धेरै हद सम्म सुरक्षित भए पनि नुनिलो आँखा लिएर आफ्नो वर्षौ देखिको रगत र पसिना परेको वास डुबिरहेको हेर्न बाध्य बनेका थिए।

असार १ गते बेलुका करिव ८ बजेको समयमा प्रारम्भिक समाचार प्रकासित गरेको कपन अनलाइनमा विभिन्न माध्यम बाट बाढीको वितन्डाका वारेमा अपडेटहरु आइरहेका थिए।

असार २ गते बिहान पहिलो तस्विर र अपडेट नै बाढीले क्षेत् विक्षत बनाएको मेलम्ची बजारको थियो। यिनै तस्विर र अपडेट हेर्दौ गर्दा बिहान  करिव ७.२५ बजे तिर मित्र माधव सुवेदीको फोन आयो। उहाले केहि साथीहरुले मिलेर मेलम्ची जाने र सकेको सहयोग पनि गर्ने योजना रहेको सुनाएपछी मैले सहजै स्वीकार गरे। यस्ता स्थान र घटनाहरुको ग्राउन्ड जिरोमा पुगेर समाचार खोज्न सधै उत्सुक रहेने मनलाई उहाको प्रस्तावले निकै राहत दिएको महसुस भयो।

कपन देखि  मेलम्ची सम्मको हाम्रो यात्रामा माधव सुवेदी संगै धुर्वराज न्यौपाने ,नवराज भट्टराई , यज्ञ सुवेदी र सन्तोष लुइँटेल जोडिएका थिए। कुन बाटो जाने भन्दा भन्दै हामीले  भोटेचौरको बाटो समायौ जुन बाटोका कारण बाहुने पाटी सम्मै हामीले माधव जीको गाली खायौ भने गाडीको नम्बर प्लेट पनि हरायौ। निकै जिर्ण र नाजुक बाटोका कारण हामी साढे तिन घण्टाको यात्रा पछी मेलम्ची पुग्यौ।

जब हामी मेलम्ची बजार पुग्यौ तब हामीले उर्लिरहेको इन्द्रावती देख्यौ। हाम्रो आँखा अगाडी डुबिरहेको मेलम्ची बजार थियो भने केहि हप्ता पहिला आउदा देखेका धेरै संरचनाहरु बगरमा परिणत भएका थिए।

नगरपालिकाले गौरवको योजनाका रुपमा बनाएको पार्क र मन्दिर त्यहाको बालुवामा बिलिन भएको थियो भने आमा ह्याल्मो बसपार्कको कुनै संकेत सम्म थिएन।

स्थानीय रुपमा निकै कठिन संघर्ष गरेर आफ्नै भवन निर्माण गरेको संचार संस्था रेडियो मेलम्चीको भवन आधा भन्दा बढी डुवेको थियो भने जिल्ला सदरमुकाम र अन्य स्थान संग जोड्ने पक्कि पुलको कुनै अवसेष सम्म देखिदैनथ्यो।

बेला बेलामा नदीमा बाढीको बहाव बढिरहेको थियो भने नदी नजिक रहेका घरहरु पलपल जोखिमको सामना गरिरहेका थिए। असार १ गतेको त्रासदीपूर्ण रातमा उर्लिएको मेलम्ची खोला र इन्द्रावती नदीले पारेको क्षेतीको अनुमान लगाउन अझै निकै दिन लाग्ने देखिन्थ्यो।

हामी मेलम्ची बजार पुग्दै गर्दा सभामुख अग्नि सापकोटा स्थनीयहरु र संचारकर्मीहरु संग छलफलमा थिए भने विपदमा परेका जनताको दुख वेचेर रकम आर्जन गर्न बानीपरेको समुह पनि बजारमा निकै बाक्लो रुपमा देखिन्थ्यो।

त्यसवेला विस्मृत भावमा मलिन अनुहार लिएर अन्य बेला अविरल बग्ने शान्त इन्द्रावतीको रौद्र रुप डाँडामा बसेर हेरिरहेका स्थानीयहरु कोहि  आफ्ना कथा सुनाउदै थिए भने कोहि  पछिल्लो समय निकै बढेको मेलम्ची बजारको क्षेत्र र सम्भावनालाई पर धकेल्ने गरेर आएको विपत्तिमा विचलित नहुन आस्वासन दिइरहेका थिए।

इन्द्रावती नदीले बहाव परिवर्तन गरेर बजार क्षेत्र तर्फ बढे संगै जोखिम झन् झन् नजिक आए झैँ लाग्दथ्यो भने भेलले घरको जग र भित्ताहरुमा हान्दा लाग्थ्यो स्थानीयहरुको मुटुमा कुनै मुसल बज्रिरहेको छ।

कतै वर्षौको कमाइ खन्याएको रिसोर्ट बगाएको कुरा सुनिन्थ्यो भने बजारमा कतै गाडी किनेर ल्याएको हप्ता दिन नपुग्दै बालुवामा भासिएको चर्चा पनि चलिरहेको थियो। अनि बल्ल बल्ल उठ्न लागेको ट्राउट पालन क्षण भरमै बगेको कथा थियो भने कतै पुन जिरोकिलो भएर सदरमुकाम जानुपर्ने बाध्यताको रोदन थियो।

भूकम्प ,पहिरो पछी थपिएको बाढीको बज्रपातले सिन्धुपाल्चोक जिल्लाको मानवीय भूगोलमा निकै ठुलो अशर पार्ने देखिएको छ भने कतिपयलाई यसले घर र जमिन बिहिन समेत बनाएको छ।

बाढीले विक्षिप्त बनाएको मेलम्ची बजार त् केहि समय पछी निर्माण होला तर यसले मेलम्ची बासीको मन र मस्तिकमा पारेको प्रभाव र आफ्नै आँखाले देखेको प्रलय भने लामो समय सम्म रहिरहने देखिन्छ।

 

 

तपाइँको प्रतिक्रिया ।