जीवनवादी छोटा कविताहरू : पेशल आचार्य (कविता )

जीवनवादी छोटा कविताहरू : पेशल आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार १।

१. आशा

हामी वर्षौंदेखि
भोकलाई
मिठो व्यञ्जन मानेर
आश्वासनमा हाली
निरन्तर निरन्तर चपाइरहेछौं ।

२. केन्द्रविन्दु

काठमाडौँको नाभी
धरहरा
मनमा विराजमान भो
अब हामी घुम्दैछौं फनफनी ।

३. कवि

शब्दका पाँजाबाट
अक्षरका दाना झारेर
फेसबुके आत्मरतिमा
आजकाल अघोरै रमाउँछ – ऊ ।

४. मार्ग

ध्यानको राजमार्गमा
वर्षौंवर्ष हराएको म
स्वज्ञान पिउनका लागि ।

५. यौन

जति जोते पनि
कहिल्यै बाँझो नमारिने
अटेरी ! पर्ती खेत !

६. प्रेम

मोरीले
झन्नै गाल पारी
होटलको बिल तिर्ने बेलाँ
धन्न पर्स रित्तो रहेनछ ।

७. सन्तान

आउँछन्
खान्छन्
रून्छन्
हाँस्छन्
र बाआमालाई ओल्चेर जान्छन्
एकएक ओटा छुद्र वचन ।

८. उत्तेजना

पर्दा उघारेपछि
अनायाश बिजुली चम्कियो
देखेँ,
ऊ सर्वाङ्ग नाङ्गै रहिछे ।

९. देश

जसको देश हुन्छ
उसले पिर, दुखाइ र स्वाभीमान्
लुकाउने ठाउँ पाउँछ
जसको देश हुँदैन
उसले पिर, दुखाइ र स्वाभीमान्
लुकाउने दुलो पनि पाउँदैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।