जिन्दगीको लडाइँ : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १।
१. खोजेभन्दा पर मनुजको हुन्न गन्तव्य हुन्न
रोजेभन्दा पनि पर कतै हुन्न कर्तव्य हुन्न
टेकेभन्दा पर शिखरको हुन्न अर्को चढाइ
जे हो आफैँसँग छ सब यो, जिन्दगीको लडाइँ ।
२. टेडो कोही पनि यदि स्वयं टेढिए मात्र हुन्छ
बाङ्गो कोही पनि यदि स्वयं बाङ्गिए मात्र हुन्छ
बन्दा सोझो भन त कसले हेर्छ आँखा घुमाइ ?
लड्ने आफैँसँग फगत हो जिन्दगीको लडाइँ ।
३. हिँड्छौँ आफ्नै पथ यदि भने लात हान्दैन कोही
बोल्छौँ राम्रैसँग यदि भने बात काट्दैन कोही
आफ्नै लोभी मन मगज हो दोष झिक्ने उघाइ
गर्ने आफैँसँग फगत हो जिन्दगीको लडाइँ ।
४. होला केही तल वितल त्यो माग्न पाइन्छ माफ
नाफा घाटा समयक्रममा बन्दछन् राफ–साफ
घट्ने गर्छन् सब नियतका खोचबाटै उचाइ
आफैँ नै बन्दुक अनि स्वयं जिन्दगीको लडाइँ ।
५. मागे मिल्ने चिज पनि गए लुट्न त्यो पाइँदैन
लड्छौँ गर्दै अति हुन खती भीर नै चाहिँदैन
थापेरै चड्कन भनन को दिन्छ होला बधाई ?
वैरी आफ्नै वरिपरि यतै जिन्दगीको लडाइँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक