आज पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १९औं स्मृति दिवस

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १३।

वरिष्ठ पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज १९औं स्मृति दिवस हो । गणतन्त्र र संविधानसभाका पक्षमा आवाज उठाएएका कृष्ण सेनलाई २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लव र सैन्य हिरासतहरुमा कठोर यातना दिई जेठ १३ गते हिरासतभित्रै हत्या गरेको थियो ।

२०३२ सालमा दोस्रो श्रेणीमा एस.एल.सी. पास गरेर  कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा  काम गर्दागर्दै उनले स्वाध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आई.ए. र  बी.एड परीक्षा उत्तीर्ण गरेका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा पक्राउ परेर कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसको  विद्यार्थी आन्दोलनमा सक्रिय रहदा रहदै २०३९ सालमा पुनः पक्राउ परेका थिए।५ वर्ष जेलमा बसेर उनी २०४४ सालमा मात्र जेलबाट छुटेका थिए।

उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका इच्छुक  २०४५ सालमा  अखिल नेपाल राष्ट्रिय स्वत्नत्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बनेका थिए।

त्यस पछि इच्छुक संयुक्त जनमोर्चा नेपालको सम्त केन्द्रीय सदस्य ,अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद, पत्रकार महासङ्घका पार्षद, दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्य समेत भएका थिए।

राजनीति संगै पत्रकारिताको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका इच्छुक तत्कालिन सात दल र नेकपा माओवादीको सम्पर्क शुत्रका रुपमा रहेका थिए।

तत्कालिन नेकपा माओवादीको मुखपत्र जनादेशका प्रधानसम्पादक समेत रहेका इच्छुकका धेरै साहित्यिक कृतिहरु प्रकासित भएका छन।

इच्छुकको चर्चित कविता :

                  प्रतिवन्ध 
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि-याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू ! अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ

तपाइँको प्रतिक्रिया ।