कोभिड–१९ सँगै भित्रिएका चुनौती र यसको समाधान
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १२ /नानी हेरा शाक्य
सामाजिक प्राणी भएकै नाताले पनि मानिसहरू एक अर्का बिना अपूर्ण हुन्छ अथवा भनौं हामी एक्लै बस्न रूचाउँदैनौ । र त, जिवनमा आमाबुबा, छोराछोरी, नातिनातिनी र यस्तै यस्तै अनेक सम्बन्धहरू सहितको आत्मिय पारिवारिक बन्धनमा रमाउने हाम्रो स्वभाव हुुन्छ । यहि कसिलो बन्धनको मायाममताले गर्दा घरमा एक जना बिरामी हुँदा अन्य सदस्यहरू उसको उपचार र हेरविचारका लागि हरप्रहर लागिरहन्छ । भनिन्छ, बिरामी भएको बेला मनैदेखि हेरचाह गर्ने साथै मात्र पनि कोही भयो भने आधा बिरामी त त्यतिकै निको भएर जान्छ । त्यसैले आफ्नो नातेदार गम्भीर बिरामी भएको थाहा हुनासाथ सात समुन्द्र पारीको बैभव लत्याएर फर्किने पनि कैयौं छन् ।
तर यसपटक सबै रोगमा आफन्तजन कै पनि सामिप्यता खोज्न नमिल्ने रहेछ भन्ने कुरा हामीले प्रत्यक्ष अनुभव गरिरहेका छौ । सन् २०१९ को बर्ष सकिदै गर्दा हामी यस्तो एउटा अपत्यारिलो रोगको मुकदर्शक हुनुपर्ने अवस्था आयो कि हेर्दाहेर्दै लाखौले ज्यान गुमाए। यो रोगको बेलिविस्तार यहाँ लगाईरहनु जरूरी छैन किनभने यसको बारे जानकारीहरू लिदै समय बिताएको पनि अब त एक वर्ष नाघि सकियो। समग्रमा यो रोगलागे पछि अरूलाई नसरोस् भन्नाका निम्ति आफूले आफूलाई एक ठाउँमा बन्द गर्नु आवश्यक हुनजान्छ । सायदै हामीले यस्तो रोगको सामना न विगतमा गरेका थियौं, न कहिल्यै परिकल्पना नै गर्यौ ।
कोभिड–१९ (Coronavirus Disease of 2019) नामक यस रोगले विश्वका सम्पन्नशाली राष्ट्रहरूदेखि हाम्रो जस्तो विकासोन्मुख मुलुक पनि आक्रान्त हुँदै गर्दा यसले निकास पाउनुको सट्टा नेपाल नयाँ भेरिअन्टको कोरोना भाइरस दोश्रो लहरको व्यापक चपेटामा नराम्रोसँग फसिसकेको छ । सरकारी कदम निराशलाग्दो छ भने जनताहरू भयभीत छन् ।
अर्कोतिर यसको अनुगमनमा प्रत्यक्ष सम्लग्न स्वास्थ्यकर्मीहरू नेपालको स्वास्थ्य प्रणाली ध्वस्त भईसक्यो र आपत्तकालिन अवस्था सम्झेर सरकारले यसलाई सम्बोधन नगरिदिने हो भने हामीले पनि बिरामीको मृत्यु रोक्न सकिने भएनौं भनेर हारगुहार मागिरहेको अवस्था छ भने समुदाय स्तरबाटै पनि अक्सिजन सहितका Isolation Center हरू बनाएर सक्नेले सक्ने समाधानतर्फ सोच बनाएको पनि देख्न सकिन्छ । यसैबीच नेपाललाई माया गर्न सधै अग्रपङ्तिमा रहेर जीवन अर्पण गरिरहेका चिकित्सक, कलाकार र पत्रकार लगायतका बौद्धिक वर्गले समेत आपत्तकालिन धारणा प्रस्तुत गर्ने क्रम जारी छ ।
कतिपय अवस्थामा डाक्टरहरूले स्वयं सामाजिक सञ्जाल मार्फत पनि उपयोगी खुराकहरू पस्किने मात्र नभई प्रत्यक्ष रूपमा टेलिफोन परामर्शबाट बिरामीहरूलाई सेवा दिइरहेका छन् । जुन वास्तवमै अहिलेको अवस्थामा अत्यन्तै सह्रानीयपूर्ण छ । हरेक तहमा बसेर यो जोखिमलाई प्रत्यक्ष सामना गर्दै बिरामीको उपचारमा दिनरात लागिपरेका निष्ठावान समस्त चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, व्यवस्थापक देखि एम्बुलेन्स चालकहरू सबै नमनका पात्रहरू हुन् ।
अहिले सबैको एउटै मानसिक अवस्था छ, कुनै पनि क्षण मेरो घरमा कसैलाई आलस्य महशुस भयो, ज्वरो आयो, खोकी लाग्यो, घाँटी दुख्यो वा जिऊ दुख्यो भने के गर्ने त भनेर अन्यौलमा परिरहेका छन् । जसले गर्दा यस्ता अन्यौलग्रस्त मनस्थितिले लगेको बाटोमा जाँदा कतिपय अवस्थामा अनेकन तवरले त्यो कदम घातक सिद्ध हुनजाने देखिन्छ ।
यहि कारणले गर्दा सस्तो, सहि र उचित प्रतिफल सहितको उपचारका बारेमा पूर्ववत सचेत रहनु जरूरी छ । नत्र न ज्यान न सम्पत्ति रहने अवस्थाको शिकार भएको कैयौं उदाहरण हामी माझ विद्यमान छ । एक जना दाईको साथीलाई थुप्रै अस्पताल धाई सकेपछि एउटा अस्पतालमा भर्ना गर्न सम्भव भयो । दश दिनको उपचार गराईरहँदा ज्यान त बचाउन सकिएन नै बदलामा तेह्रलाखको बिल परिवारलाई थमायो । साथीभाई र आफन्तजनमा हारगुहार गर्दा समेत लाश निकाल्न त्यति धेरै रकम जम्मा गर्न हम्मेहम्मे कै स्थिति आईपर्यो ।
अर्को एकजना साथी गत वर्ष कोरोनाले समातेपछि परिवारले ललितपुर कै एक प्रतिस्थित अस्पतालमा पुर्याएका उनलाई नौ दिनको बसाँई पछि पाँचौलाखको बिल हात पर्यो भने अहिले सम्म गम्भीर बाथ रोग साथमा लिएर पिडादायी जीवन बाचिँरहनु परेको छ । अब यो औषधीको नकारात्मक प्रभाव हो या न शरीरले नै मागेको रोग हो, अनुसन्धान नगरि यत्तिकै भन्न सकिने कुरै भएन ।
यस्तै घरसँगैको एकजना आमा गत वर्ष यहि बिरामीले थला परेर टेकु अस्पतालमा प्लाज्मा थेरापीको उपचारसहित विस्तारै धेरै दिन लगाएर निको हुनुभयो । अहिले सकुशल घरकै कामकाजमा व्यस्त भएको देख्दा सबैको मन प्रफुल्ल हुने नै भयो । यो उदाहरणहरू कथा होइन वास्तविकता हो, यसै वास्तविकताको शिकार आजको समयमा को कहाँ कसरी हुन्छ भन्ने ठेगान छैन ।
अब सरकारले के गरेन, अस्पताल के कस्तो अस्तव्यस्त अवस्थाबाट गुर्जिरहेको छ, अस्पतालमा लाश व्यवस्थापन देखि पशुपति आर्यघाटमा दाहसंस्कारसम्मको लेखाजोखामा सबै अलमलिदैँ गर्दा हामी केही फरक कुरा गरौं ।
ढुक्क हुनुस्, बेवास्ता नगर्ने हो भने संक्रमित भईहाले पनि बाचिने रोग हो यो, तर पनि यस्ता केही सरकार देखि समुदायसम्मका यावत कमीकमजोरीहरूले गर्दा हामी सबै जीवन र मृत्युको दोसांधमा छौ कि भन्ने शंकामा छौं । यो सत्यलाई आत्मसात गर्दै सहि गन्तव्यको मार्ग पहिल्याउनमा सधै लागिरहनु पर्नेमा कसैको दुईमत नहोला । आउनुस् केही यस्तो कुरा गरौ, जुन आम रूपमा अब उपरान्त सबैलाई उपयोगी रहोस् ।
काठमाडौ कुलेश्वरका शान्त श्री रत्न बज्राचार्य पेशाले विद्युत व्यवसायी हुन् भने महायान बौद्धधर्म अन्तर्गतको स्नात्तकोतर तहका उप–प्राध्यापक समेत हुन् । सधै विविध कर्ममा क्रियाशिल भईरहनु पर्ने शालीन र स्वस्थ बज्राचार्यलाई कोरोनाको महामारीको सङ्कतमा पुरै परिवार नराम्रोसँग गिजोलिएला भनेर अन्दाज सम्म थिएन ।
यो दोश्रो लहरको लकडाउन शूरू हुनु भन्दा छ दिन अगाडि उहाँमा कोरोना पोजिटिभ देखिएको थियो । अन्य परिवारका सदस्यहरूमा पनि यो भन्दा अगावै ज्वरो देखि नै सकेको थियो । यो रोगको संक्रमण निकै चाँडै एकअर्कामा सर्ने भएकोले होला दुई दिनको अन्तरालमा सबैलाई पोजिटिभ मात्र देखाएन कि रोगको अवस्था दिनप्रतिदिन गम्भीर समेत बन्दै गयो । केहि दिनमा आमा, दाजु, श्रीमती र भाईलाई घरमै अक्सिजन दिनु पर्ने अवस्था आयो ।
त्यस्तो पनि चुनौतीपूर्ण समयसँग जुध्नु पर्यो कि जुन समयमा आफै संक्रमित भईकन पनि परिवारका अन्य सदस्य झन् पिडामा भएका कारणले गर्दा खाना पकाउने देखि सबैको हेरचाह गर्ने, अक्सिजनको व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी आइपर्यो ।
एकरात आमालाई अस्पताल भर्ना नै गर्नुपरेपछि समस्या झन् थपियो । घरमा अवस्था गम्भीर भएका बिरामी सबैको हेरचाह मिलाउन र अस्पतालमा आमालाई हेर्ने सन्तुलन कायम गर्न निकै कठिन भएको बज्राचार्य सम्झिनु हुन्छ । प्रयास गर्दागर्दै पनि केही दिनपछि उहाँको आमाको देहावशान हुनपुग्यो, जो अन्य रोगले पनि पहिलेदेखि नै पिडित थिए ।
आफन्त धेरै भएरै पनि आमालाई अस्पताल लग्ने देखि पशुपति आर्यघाटमा पुगरे अन्त्येष्टि क्रियाकर्म गर्ने शोकाकुल अवस्थामा आफू एक्लै रूम्मलिनु परेको क्षण सम्झिदा अहिले पनि उहाँको मन चिस्सिन्छ भने आँखा आपसेआप भरिएर आउँछ । आमाको बिदाईका निम्ति भरिएका थुप्रै आफन्तजनका आँखाका आँशुहरू र मनमा उर्लेका बेचैनीको तरङ्गहरू घरमै कोरोनासँग लड्दै बस्नुपर्यो । जीवनमा जे पर्छ सहनुको विकल्प हुन्न, पशुपति आर्यघाटमा यस्तै भयावह पिडामा रहेका थुप्रैलाई देख्दा यस्तो अकल्पनिय समस्यामा म र मेरो परिवार मात्र होइन, आजको दिनमा धेरै मानिसहरू परिरहेका छन् भनेर मन बुझाउने बाटो पाएको जस्तो पनि भयो । यसलाई लेखान्त सम्झेर स्वीकार्नुको विकल्प अर्को केही छँदा पनि थिएन ।
यति भयावह अवस्थाबाट उहाँको परिवार कसरी बाहिर आउन सफल भयो त भन्ने सन्दर्भमा तपाईंहामी पनि जानकार हुनु आजको समयको आवश्यकता हो । यस प्रक्रियामा मेडिकल स्वास्थ्य सल्लाहका लागि सर्जन बैज्ञानिक डा. संजिव ह्योजुको साथ सहयोग पाउनुलाई उहाँ भाग्यको कुरा मान्नुहुन्छ । डा. ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाईरस र इम्यून सिस्टमका विषयहरूमा विद्यावारिधिका अनुसन्धाता हुन् ।
बैज्ञानिक डा. ह्योजुले कोरोना भाईरसमा गर्नुभएको गहिरो अनुसन्धान र यसको उपचारमा आफूले समेटेको अनुभवको आधारमा यस रोगको सफल उपचार गर्न सकिन्छ भनेर दाबी गरिएका औषधीहरूले धेरै भन्दा धेरैले यस महामारीको अत्यासलाग्दो वातावरणबाट मुक्ति पाएर स्वस्थ जीवनयापनमा फर्कन सक्नुहोस् भन्ने नै यस लेखाईको मूल ध्येय पनि हो ।
यसरी डा। ह्योजुसँग निरन्तर सम्पर्कमा रहेर घरमै बसेर उपचारको थालनी गरेको बज्राचार्यको परिवार अहिले सामान्य अवस्थामा आउनुले हामी यी औषधीको उपयोगितालाई लिएर उत्साहित हुन सकिने प्रशस्त आधार देखिन्छ ।
जुन मूल्य कै दृष्टिकोणबाट हेर्दा पनि निकै सस्तो र नेपालकै उत्पादन हुनु हामी सबै नेपालीहरूको निमित्त निकै सुखद पक्ष समेत हो । यहाँ बज्राचार्यको परिवारले डा. ह्योजुको प्रत्यक्ष भर्चुअल निगरानीमा रहेर शूरूवातमा दिनको तीन पटक Flexon Tablet प्रयोग गरे पनि यसले काम नगरेपछि बिरामीको BP, Pulse, Temperature र Oxygen को अवस्था दिनमा तीन चोटी जाँच गरेर चरणबद्धरूपमा Clonidine Tablet BP (Lonid 100, Rs 2/- Per Tablet), Dexamethasone Tablets BP 0.5 (Dexin, Rs 2/- Per Tablet) र Famotidine Tab (Fam–40, Rs 2/- Per Tablet) जस्ता तीन प्रकारका औषधीहरूको प्रयोग गरेका थिए ।
बज्राचार्यको भाईको खकारमा रगत नै देखिसकेको अवस्था थियो भने, अन्य केही सदस्यहरूको अक्सिजन लेभलमा गम्भीर समस्या त कसैको ज्वरोको मापन उच्च पुगिसक्दा पनि यिनै औषधीले रामवाणको रूपमा काम गरेको अनुभव उहाँहरू जस्तै अन्य बिरामीहरूका पनि छन् । बज्राचार्यले उहाँको परिवारमा असमान लक्षण देखिएका चार वर्षको सानो बच्चा देखि भिन्नाभिन्नै सबै खालका उमेर समूहमा रहेका पारिवारिक सदस्यहरूको कोभिडको असरलाई यी चार प्रकारका औषधीको सहि समयमा सहि रूपमा सेवन गरेर हदै सम्म कम भएर अहिले सबै स्वस्थ हुन थालेको सन्तोषजनक अनुभव संगालेका छन् ।
यद्यपी बिरामीको ज्यानको सवाल भएको हुनाले कुनै पनि औषधी प्रयोग गर्नुभन्दा अगाडि सम्बन्धित चिकित्सक तथा बिज्ञहरूसँग आवश्यक परामर्श लिन भने कुनै पनि प्रयोगकर्ताले बिर्सनु हुन्न । यहाँ बज्राचार्य कै दृष्टान्तलाई मात्र प्रस्तुत गर्दा पुग्छ भन्ने लाग्यो किनभने डा। ह्योजुमार्फत अहिले अमेरिकाबाटै सल्लाह पाउने बज्राचार्य एक उदाहरणीय पात्रमात्र हुन् भने उहाँले अरू पनि धेरै कोभिड बिरामीहरूलाई आवश्यक निर्देशन दिईरहनुभएको छ र यसको परिणाम सर्वथा सकारात्मक आईरहेको छ ।
तपाईंहरूले औषधीको सहि उपयोग कुन चरणको कोभिड बिरामीका लागि कसरी गर्न सकिन्छ त भन्ने जिज्ञासा समाधान गर्नका लागि डा। ह्योजुले चलाईरहनु भएको भएको “Free Online Health Clinic NEPAL” फेसबुक पेजको लिङ्क https://www.facebook.com/SKhyoju/ मा गएर सन्देश मार्फत अमेरिकामा बसोबास गर्ने यी नेपाली बैज्ञानिकसँग प्रत्यक्ष सर–सल्लाह गर्न सक्नुहुन्छ । त्यसैगरी COVID-19 Response Group Nepal फेसबुकको परामर्श ग्रुपमा पनि जोडिन सक्नुहुन्छ ।
खोई समस्याका कुरा कहाँबाट शूरू गरेर कता लगेर अन्त गरूँ, सक्नेसम्मको उपाय घरमै गर्दा पनि केही गम्भीर अवस्थामा सर्वसाधारणले भरपर्ने भनेको अस्पताल नै हो ।सरोकारवालाहरूले देशमा अनेक सुविधा दिएका कुरा फलाक्दै हिडेको भएपनि एम्बुलेन्स सेवा र अस्पतालमा भर्ना प्रक्रिया जस्तो सामान्य आधारभूत पहूचँका निमित्त समेत अहिले निकै कठिनाई सर्वसाधारणले भोगिरहनुपरेको छ ।
यहाँनिर बज्राचार्यले नै भोगेको प्रसङ्ग कै कुरा गर्दा उहाँले आमालाई अस्पताल लग्नका लागि चालिस जना भन्दा बढि एम्बुलेन्स चालकहरूलाई सम्पर्क गरेपछि बल्ल एकजना आउन मान्यो । तर कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा घन्टौघन्टा अनेकतिर भौतारिनु पर्यो, अक्सिजनको अभाव फेरी अर्को समस्या थियो ।
हामीलाई पनि ज्ञात छ कि अस्पताल र स्वास्थकर्मीका कतिपय बाध्यता छन् आजको दिनमा, तर सरकार जनताको जीवनलाई अवमूल्यन गरेर आफूहरू फोहोरी राजनीतिक खेलमा तल्लिन रहनुले अभिभावकविनाको घरमा छु कि भन्ने आभास जनताहरूलाई गराउँदैछ । अथवा भनौ नेपाल आमालाई मृत्युशैयामा लथालिङ्ग बेबारिसे छाडेर भागवण्डामा व्यस्त सन्तानहरुको जत्थाले राज गर्ने देशको नागरिक पो हौं हामी भन्ने वास्तविकताले मन नमिठोसँग पोल्ने रहेछ ।
घरबाटै आपत्तका बखत अस्पतालको बाटो तय गरेका कोभिड पिडित वा अन्य बिरामीले कमसेकम अस्पतालमा सहज प्रवेश पाउनु भनेको त जनताको नैसर्गिक अधिकारका कुरा हुन् भन्ने तर्फ हरेक तह र तप्कामा डेरा जमाएर बसेका व्यक्तिहरूले बुझ्नु नितान्त जरूरी छ ।
कोभिड उपचारको त कथा विकराल छँदैछ, यदि यस भाईरसको गम्भीर शिकार भएपश्चात कथमकदाचित यो रोगबाट त्राण पाईयो भने पनि कोभिड नेगेटिभ देखाईसकेपछि पोष्ट कोभिड केयरका लागि लाग्ने उपचार खर्च खासै सस्तो छैन भने यो रोगको अन्त्य सँगै अन्य कुनै पनि किसिमको रोगको शिकार हुन सकिने सम्भावना देखि आर्थिक समस्याको अर्को चरणको दुःख त अहिले धेरैले झेलि नै रहनुपरेको छ ।
जे होस्, नआत्तिकन समयमै उपचारका निमित्त सहि पाईला चाल्न सकेको खण्डमा सरलतवरले निको हुँदै जाने रोग भएको हुनाले बिरामी आफै नै सचेत हुनैपर्दछ । त्यसैले समस्त सरोकालवालाहरूले छातीमा हात राखेर सहि, सर्वसुलभ, सस्तो, स्वास्थ्यमा नकारात्मक प्रभाव नपर्ने खालका नेपाली उत्पादनका औषधीमा जोड दिनका लागि प्रतिज्ञा गर्न ढिला गर्नु हुदैन ।
यस्तो अप्थ्यारो समयमा पनि पैसा कमाउने, लोभ, लालच अनि रोग लागेपछि जसरी नि रकम जोहो नगरेर सुख छ र भन्ने सोच राखेर अगाडि बढ्ने हो भने यो रोगले एकातिर परिवारमा प्रियजनसँगको अप्रत्यासित वियोग मात्र होइन आर्थिक सङ्कतको भूमरीमा हाम्रो जस्तो समाज फस्ने कुरामा सबै ढुक्क भए हुन्छ । सस्तो औषधी कै बाबजूद पनि रगत जाँच देखि अक्सिजन व्यवस्थापनका लागि अहिलेसम्म बज्राचार्यको परिवारले पाँच लाखभन्दा बढि व्ययभार उठाईसकेका छन् ।
अहिले अस्पतालहरूले प्रयोगमा ल्याईरहेका केही औषधी निकै महङ्गो भईकन पनि सामाजिक सञ्जालमा यस्ता औषधीहरूको माग देखेर बज्राचार्य वास्तवमै चिन्तित देखिनुहुन्छ । चिन्ताको मूल बिषय यस्ता औषधीको उपयोगिता र बिरामीले पाउने प्रतिफल खासै सन्तोषजनक नहुनु नै हो । जुन तथ्यको सत्यतामा सबै वर्ग सचेत हुनुपर्ने देखिन्छ ।
अन्तमा, आजको दिनमा नियतिले जता लग्छ जाउँला भनेर मौन भएर बस्ने हो भने भोलिको दिनमा हामी मध्ये को यो संसारमा रहिरहला अथवा कति जनाले संसारबाटै बिदा भएर जाला भनेर भगवान भरोसामा रहनु नितान्त मूख्र्याइ ठहरिनेछ । त्यसबेलासम्म समयले धेरै घटनाहरू आफ्नै हिसाबमा निर्धारण गरेर लगिसकेको हुनेछ र परिस्थिति नियन्त्रणबाट बाहिर जाने निश्चित छ । समस्या यति विकराल बन्ने पनि समय नआओस् कि जुनबेला यहाँ असंक्रमित भन्दा संक्रमितको संख्या उल्लेख्य हुनेछ ।
त्यस्तो विषम परिस्थिति आउनु भन्दा अगावै वा भनौं परिवारका सदस्यहरू कोरोनाको गम्भीर शिकारमा पर्नु पूर्व हामी सबैले आफ्नो गलत आचरणको आत्ममुल्याङ्कन गरेर एकजुट भई चेन ब्रेकको अभियानमा कडाईका साथ लाग्नैपर्दछ । साथै प्रत्येक नागरिकलाई खोपको सुविधा शिघ्रातिशीघ्र घरघरमै पुर्याउनु नै यस पिडादायी डरत्रासको अचुक समाधान हो र यसका लागि चुस्तताका साथ लाग्नुपर्दछ ।
यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण जान अब कत्तिपनि ढिलासुस्ति गरिनुहुन्न । यस्तो संबेदनशील समयमा पनि चुक्नु भनेको जनताका आँखाबाट झर्ने आँशुबाट स्वतःस्फूर्त दुस्प्रवाहित हुने श्रापको भागिदार बन्नु हो ।
हालसम्मको मृत्युले थुप्रै परिवारमा बाचुञ्जेल मनमा अमित छाप भएर रहने वियोगको चोट पैदा गरिसकेको अवस्थालाई अब नजरअन्दाज गरिनुहुन्न । यसर्थ जनताप्रतिको नैतिक जिम्मेवारी, वफादारीता र परमकर्तव्य बोध गर्ने यो नै उचित समय हो भन्ने कुरा सरोकारवाला निकायका तर्फबाट बेलैमा मनन गरियोस् ।
(लेखिका नानी हेरा शाक्य उपप्राध्यापक हुन)