टेक्का थिरेल (व्यङ्ग्य)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०/अर्जुन निरौला/विश्वनाथ आसाम
मान्छेले कहिलेदेखि जुवा खेल्न थाल्यो, त्यो अहिलेसम्म ठम्मिएको छैन । जुवाका रसिकहरुले धुतक्रीडको इतिहास खोतल्ने समय पाउने हैनन् । घर जाने फुर्सत् छैन । पृथिवीले म कहिलेदेखि घुम्न थालें भन्दै टोलिएर घुम्नै बिर्सियो भने चल्छ र ? र नै उनीहरुलाई न अल्मल्याई म आफैं एक छिन घोत्लिएँ । महाभारत सम्म पुगें । फेला प¥यो । त्यहाँ भन्दा अघि पनि कतै छ भने छ । अलिकति पड्दै कति हो कति पढेजस्तो लागिहाल्छ, ब्रह्माण्डको ज्ञान प्राप्त भएझैं बोध हुन्छ र पोखिन खोजिहाल्छ । अल्पविद्यामै गल्प सिध्या कया ।
महाभारतमा सकुनीको अध्यक्षतामा राज दरबारमा द्यूतक्रीडा सु–सम्पन्न भएको त पाइन्छ, तर साधारण प्रजालाई यो मात्लाग्दो खेल खेल्ने अनुमति थियो — थिएन त्यो चाहिं निर्कोल्न सकिएन । जेसुकै होस्, महाभारत कालमा जुवाको प्रचलन थियो भन्ने चाहिं ट्याक्क फेला पा¥यो निरोलियन अनुसन्धानले । हुन ता बिचरा युधिष्ठिर पनि सकुनीको शकुनित्वको बली चढेका हुने । तैपनि ठप्पा त लागिगो ! महाभारतमा जुवाको अहितकारी स्वरुप दर्शाएर, द्यूतक्रीडाको कोपमा पमण्डव सर्वस्वान्त भएको देखाएर मान्छेलाई यसको विरुद्ध सचेत पारेको होला । तर ’युधिष्ठिरले त खेलेका थिए’ भन्दै आत्म पक्ष समर्थन गर्ने मौका परवर्ती जुवाडेहरुले पाइहाले क्यारे । गज्जब छ । सगल्तो चाहिं देख्दैन, लुगाको उध्रिएको ठाउँ मात्रै देख्छ । एउटा साथी भन्थ्यो ’मइले राखी सावन्तका सबै आइटम डान्स हेरेको
छु ।’ मइले भनें ’नृत्य त राम्रै गर्छिन्, नाक चाहिं अलिक कस्तो कस्तो छ हैन ?’ उनी भन्छन् ’कुन्नी , अनुहारतिर त मैले हेरेकै छैन ।’
कविलाई कविता कोर्न ट्रयाजिक अथवा रोमान्टिक बहानाका साथै अरु वीर रस, भक्ति रसका बहाना पनि चाहिन्छ । मातेको कलमको प्रहार तातेको फलामको भन्दा तीब्र हुन्छरे । तर मदिरानुरागीहरुलाई पिउने दुइटा बहाना भए पुग्छ । कि त ज्यादै खुसी, कि त दुःख । क्या ओखति ! हर्ष र विषादको एउटै । गजलकार पनि गद्गद् हुंदै भन्छन् — ’शराबजिसने बनाई उसे हमारा सलाम ।’ सोमरसको वैधता साबित गर्न लगत्तै यसो पनि भन्छन् —’ये जीते जी कराती है सैर जन्नतको, इसीलिए लोग कहते हैं शराब हराम ’। क्या तर्क !
कविता र मदिराको साइनो कतै कतै पाइँदै आएको छ भन, जुवा र मदिराको त झन् दिलका रिश्ता छ । तर पनि जुवामा मदिरा मेन्डेटोरी
चैं होइन । जुवाडेलाई दुःखको अथवा सरखको वहाना भए पुग्छ । दशैं तिहारको रमाइलो जुवा—तास नखेली परिपूर्ण नै हुँदैन । फेरि स्रस्कृति बचाउने अभिारा पनि काँधमा होला क्यारे ! गिनिज बुकमा जातको गौरव झल्काउन हाम्रा जातीय द्यूतवीरहरु निरन्तर एकाग्रचित्त प्रयासरत छन् । क्रिकेटको पाँच दिने टेस्टम्याचमा पनि छुट्टा—छुट्टै चार इनिङ्स हुन्छन् । ड्रिङ्क, लन्स ब्रेक हुन्छ । राति सुत्छन् पनि । हाम्रा दशैं—तिहारका जुवासम्राटहरुले त राति े पनि नसुती, शरीरका अपद्रव्य निष्कापनको तीब्र चाप पनि खपेर सिङ्गल सिटिङमा तीन दिन रात विरामहीनखेल प्रदर्शन गरेर सिद्धिलाभ गरेको रेकर्डलाई गिनिज बुक पक्षले कुनै मर्यादा नदिनु हाम्रो जातीय अपमानना होइन र ? हेपुवाहरु ! हाम्रा संस्कृतिका साधकहरुले तर पनि हिम्मत त हारेका छैनन् । हाम्रा चाडपर्वले पनि हामीलाई साथ दिएकै छन् । एउटा चाड सकिएपछि त्यसको मैजारो पश्चात् कक्रिएका खुट्टा सोझ्याउँदा—नस्योझ्याउँदै अर्को चाडले आँगन टेक्छ ।
सोह्र सराध सकिइसक्यो, त्यसै बस्ने भाइ हो ?
चर साथी भेट भयो अर्को साथी चाइयो ।
एता हेल्लो उता मिसकल इशाराका कुरा
क्षणभरमै बैठकेको कोटा हुन्छ पूरा ।
तिहारको बैठक त झन् रातभरी बस्छ
ओेछ्यान छोडी उठ्ने बेला छोरा घर पस्छ ।
जुवा खेल्ने उपरोक्त खुसीका उत्सवमय बहानाका साथै दुःख प्रकट गर्ने बहाना पनि छन् । मरि–मराउ प¥यो भने तेहृ दिन त तास नखेली दुःख मान्नै सकिँदैन बेलुके बैठकको निर्विवाद सांविधानिक ठाउँ फेला परिहाल्छ । कसैले हल्लाउन सक्दैन । एकदम टेक्का थिरेल । तेह्रदिने कामपछि वार्तालाप हुन्छः–
– दाहाल बाका कामसम्म तेरो के कस्तो भयो ?
– खास यताउति भएन, लास्टसम्ममा मूल मूलमै रहेँ ।
– मेरा त निक्कै गए । धमाल्नी आमै हिटिक्हिटिक् छिन् अरे, यहाँ गएका त्यहाँ उठाउनु पर्छ ।
अब धमाल्नी आमैले अबेर गर्दिइन भने त साथीको गोजी च्याप्टाको च्याप्टै रहने भो । हे धमाल्नी आमे, हजुले चाँडो गरेर माथिको बाटो लागिदिए देखि साथीको फुत्केको साउँ पुनरोद्धार हुनुमा निकै सहयोग पुग्ने थियो । अब धमाल्नी आमेको बहुआकांंक्षित तेह्रदिवसीय शोक कार्यक्रममा पनि भाग्योदय भएन भने मेलाहरुका झन्डिमुन्डा समारोहहरुले त साथ देलान् नि !
यी सुख र दुःखका दुई बहाना पर्याप्त नभएको खण्डमा एउटा अत्याधुनिक निहुँ प्रकाशमा आएको छ– टाइम पास । दई उत्सवका बीचको समयावधि अलिक तन्कियो र यसबिच कुनै सहृदय बाजे मास्तिरको बाटो लागेनन् भने यो न्यास्रो लाग्दो समयको सदुपयोग हेतु यो ‘टाइम पास’ बहाना बढो कारगर सिद्ध हुन्छ तासेहरुलाई । समय त काट्नै प¥यो ! अल त मल्लिनै प¥यो । आफुले टाइम पास नगरिदिए दुनियाँका घडी, घाम, जुन सबै ठिङ्ग उभिने हुन् कि ? ब्रह्माण्ड रोकियो भने ? र नै टाइम पास जरुरी छ । फेरि अनुशीलन जारी राख्नु पनि उत्तिकै जरुरी छ । जस्तै महान खेलाडीको पनि प्रैक्टिसको अभावमा ट्यालेन्ट भुत्तिने आशङ्का हुन्छ । टाइम पास र नेट प्रैक्टिस एक साथ । क्या खूब !
हे सुधीजन, हाम्रा संस्कृतिको यस्ता पाराको जगेडा गर्न आफ्ना पुत्र–पौत्रादिलाई घँचेड्ने उत्साह ठ्याम्मै नगर्नु, यो चाहि सिरियसली भनेको । नढाँटेका बेला त म साँच्चो बोल्छु । नत्र पछि सम्झाउँदाखेरी पनि सम्झिने छैनन् । कसरी भने–
– छोरा, जुवा खेलेको राम्रो हैन । यो त मास्सिने मेलो हो । एक दिन जितेर फुरुक्क पर्नु हुँदैन । आज जिते भोलि हारिन्छ, पर्सि जिते निकोर्सि हारिन्छ । त्यस्तो पो त ! बुझिस् ?
– बुझे बुवा ।्
– के बुझिस् ?
– दिन बिराई बिराई खेल्दा सधैँ जितिने रैछ !
अघि अघि त ट्वेन्टि नाइन, लुडो, केरम आदि सित्तैमा खेल्ने खेल थिए । अहिले सबै खेलहरुको द्युतीकरण भएछ । नानीहरु पनि लुडो, क्रिकेट आदि बाजी नराखी नखेल्न थाल्छन् । खप्पु जुवाडेलाई पनि कत्ति सजिलो–अर्काले ठाउँमा बाजी थाप्ता भै गो । म्याच नै पो फिक्स्ड गराई दिन्छन् । गाउँमा कुनै गाई ब्याउने हप्तादिन अघिदेखि नै बाछो कि बाछी भन्दै बाजी थाप्ने जातीय वीर पनि हाम्रा विचमा छन् ।
– म भन्छु बाछो हुन्छ ।
– म भन्छु बाछी हुन्छ ।
– लगा पान्सए ।
– लाग्यो !
उद्यमीले मरुभूमिमा पनि खेती गर्छ । अवसरवादी मानिस पुलबाट झ¥यो भने नुहाउन थाल्छ रे । लोतिखरेलाई कागती नै पर्वत, जाँगरेको निम्ति निचोरेर सर्बत । कि कसो ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक