दिनप्रतिदिन बल्झिँदै लोडसेडिङ समस्या

दिनप्रतिदिन बल्झिँदै लोडसेडिङ समस्या

47664a

दिनप्रतिदिन बल्झिँदै लोडसेडिङ समस्या

—सुरेश चौलागाई

अब त विद्युत् प्राधिकरणले पनि खम्बा नगाडिएको कर्णाली र खम्बा गाडिएको कर्णाली गरी देशलाई नै जम्मा दुई भागमा बाँड्दा जनताले पनि मन बुझाउने बाटो पाउने थिए होलान् ।

नेपाल विद्युत प्राधिकरणले आगामी आइतबारदेखि लागु हुने गरी दैनिक ११ घण्टा विद्युत् कटौती गर्ने नयाँ तालिका बुधबार सार्वजनिक ग¥यो । जलविद्युत् उत्पादन क्षमतालाई हेर्ने हो भने दोस्रो धनी देश नेपाल दैनिक ११ घण्टा लोडसेडिङ खेप्न बाध्य भैसकेको छ । एक वर्षमात्र होइन करिब पाँचवर्षदेखि नेपाली जनताहरू अँध्यारोमुनि बस्न बाध्य छन् । कर्णाली लगायत दुर्गम गाउँहरूमा त प्राधिकरणले पोल ठड्याउन र तार तन्काउन नसकेर अँध्यारोमा बस्नुपरेको छ तर बत्तीका पोल उठाइसकेको दशक पुगेका ठाउँहरूको पीडा बेग्लै छ । कुनै वर्ष कोशी ब्यारेज भत्किन्छ त कुनै वर्ष कुलेखानीको पानी सकिन्छ चाहे जुनसुकै बहानामा किन नहोस् नेपाली जनता सधैँ भरि ट्युबलाइट र बल्ब झुड्याएर पनि अँध्यारोकै जीवनयापन गर्न बाध्य भएका छन् ।

 

पहिले पहिले त बत्ती आएर बानी बिगा¥यो, एकछिन लोडसेडिङ हुँदा कस्तो नरमाइलो हुन्छ भन्ने व्यक्तिहरू अहिले बत्ती आउँदा नरमाइलो मान्लान् कि भन्ने डर उत्पन्न भैसकेको छ । हिउँद याममा नदीमा पानीको बहाव घटेर लोडसेडिङ हुन्छ त वर्षायाममा पानीको मात्रा धेरै बढेर । हिउँदमा पानी नभएर उत्पादन नै हुन छाड्छ त वर्षायाममा बाढी पहिरोले जलविद्युत्को पावर हाउस, ड्याम नै भत्काएर लान्छ । कहिले पानी धेरै हुने त कहिले पानी नहुने, वर्षौँदेखिको यो समस्या तत्काल कुनै दैवीशक्ति आएर कमी गर्ने अवस्था छैन ।

हुँदाहुँदा पछिल्लो समय त मासिहरूको सबैभन्दा बढी ध्यान प्राधिकरणको परिवर्तन भैरहने लोडसेडिङ तालिकाले खिच्न थालेछ । अहिले त एप्सको रेकर्ड हेर्ने हो भने सबैभन्दा पपुलर र धेरै डाउनलोड हुने एप्सको लिस्टमा सबभन्दा पहिले ‘नेपाल लोडसेडिङ एप्स’ आउँछ । आफ्नो परिचय पत्र बोक्न बिर्सने मानिसले गोजीमा लोडसेडिङ तालिका बोकेको हुन्छ । आफ्नै घरको दुई तला मुनि के हुँदैछ थाहा नहुने घरका बुढा हजुरबा, हजुरआमालाई लोडसेडिङ कति बढ्यो तत्काल थाहा हुन्छ ।

 

पछिल्लो समयमा आएर त के सम्म देखियो भने युवापुस्ताहरू जो खेलकुदमा रुचि देखाउँछन्, उनीहरूको त विद्युत् प्राधिकरणको लोडसेडिङ तालिकाको फरक फरक समूहमा बस्ने मिलेर नयाँ समूह नै बनाउन थालिसकेछन् । नयाँ खेलको टाइसिट सार्वजनिक भयो कि लोडसेडिङको तालिकासँग भिडाउन थालिहाल्यो । अनि कहिले कसकोमा म्याच हेर्ने पहिले नै फिक्स । तर विविधको विडम्बना भनौँ या के भनुँ त्यो म्याच सुरु हुने बेलासम्म फेरि अर्को नयाँ तालिका आउँछ, अगाडि त्यत्रो मिहनेतका साथ तयार पारेका सबै कार्यक्रम रद्द ।

 

अब त विद्युत् प्राधिकरणले पनि खम्बा नगाडिएको कर्णाली र खम्बा गाडिएको कर्णाली गरी देशलाई नै जम्मा दुई भागमा बाँड्दा जनताले पनि मन बुझाउने बाटो पाउने थिए होलान् । आखिर कर्णालीमा बस्ने अँध्यारोमा बसेका छन् पूर्वाधार निर्माण नहुनाले तर यहाँ सदरमुकाम अझ भनुँ राजधानीमा बस्ने अँध्यारोमुनि बसेका छन् जसका घरघरमा दशकौँ अघिदेखि तार जेलिएका छन्, घरका सुरमा खम्बा ठडिएका छन्, कोठा कोठामा अनि घरका पर्खालभरि अनेक डिजाइन र मोडलका बत्ती जोडिएका छन् तैपनि घर त अँध्यारै छ ।

 

बत्ती नपुगेका गाउँका जनताले पनि दुःख नमाने हुन्छ अब त बत्ती नपुगेका गाउँमा भन्दा बत्ती पुगेका ठाउँमा पीडा धेरै लुकेको छ । एकातिर महिनैपिच्छे तिर्नुपर्ने विद्युत् महसुल त अर्कातिर सधैँभरि अँध्यारोमा बास । एकदिन ढिला भयो भने जरिवाना लिन तम्सिने विद्युत् प्राधिकरण र सरकार वर्षौँदेखि जनतालाई आधी दिनरात अँध्यारोमा राख्दा किन दीर्घकालीन सोचविचार लिएर अघि बढ्दैन ? के जनता अँध्यारो मुनि बस्दा सरकार टुलुटुलु हेरेर मात्र बस्ने हो कि चाँडो समस्या समाधानका लागि पहल कदमी गर्ने हो ?

 

चाँडै लोडसेडिङबाट मुक्ति पाएर नेपाल उज्यालो बाटोतर्फ लम्कियोस् । एक नेपाली भएकै कारण आफ्नो देश सुविधासम्पन्न एवं समस्यामुक्त हेर्न खोज्नु सबै नेपालीको भित्री चाहना रहने गर्छ । तर एकपछि अर्का किचलोमा फसेर नयाँ आयोजना निर्माणमा ढिलाइ हुनु तथा भएका आयोजनाहरूको समयमा मर्मतसम्भार नहुनु नै प्रमुख समस्या बन्दै आइरहेको छ ।
छिट्टै नै नेपाल रङ्गीचङ्गी होस्, सबका घरघरमा बत्तीको झिलिमिलि एवं चोकचोकमा उज्यालो फैलियोस् । तार जेल्ने र खम्बा ठड्याउने काममात्र नहोस्, ट्युबलाइट र बल्ब जडान भएका घरका नेपाली अँध्यारोमा बस्नु नपरोस् भनेर भन्नु आवश्यक भैसकेको छ । सबैभन्दा धेरै लोडसेडिङ हुने देशका रुपमा भन्दा पनि चाँडै नै सबैभन्दा विद्युत् आपूर्ति सहज भएको देशका रुपमा चिनाउने काममा सबैजना लागिपर्ने बेला आएको हो कि !

तपाइँको प्रतिक्रिया ।