काठमाण्डौ महानगरको सहयोगमा टोखा राधास्वामीमा अक्सिजन थेरापी केन्द्र शुभारम्भ
कपन अनलाइन
काठमाडौं,जेष्ठ ७ ।
टोखा नगरपालिका सामाखुसीमा राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गरेका हुन । त्यस अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रधान सेनापति पूर्णचन्द्र थापा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,काठमाण्डौ महानगर उपप्रमुख हरिप्रभा खड्गी , सहित अधिकारीहरु उपस्थिति रहेका थिए ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । नेपाल सरकार, कोविड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, काठमाडौँ महानगरपालिका, नेपाली सेना उपत्यका पृतना, हेड क्वाटर, वीरेन्द्र अस्पताल छाउनी, राधास्वामी सत्संग व्यास र अमेरिका नेपाल मेडिकल फाउन्डेसन सेन्टरको सहकार्यमा अहिले ८८ वेड अक्सिजन र ९६ साधारण सामान्यबाट सेवा सुरु भएको हो। सो शुभारम्भ कार्यक्रममा आवश्यकताका आधारमा ९६ वेडलाई पनि अक्सिजन सहितको बनाउँदै लगिने नेपाली सेनाले जानकारी दिएको छ।
सेन्टर सञ्चालनका लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बैशाख २२ गते उपत्यका पृतना हेडक्वाटर गएर अधिकारीहरुसँग छलफल गरेपछि बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पतालसँग सम्झौता भएको थियो । सम्झौता बमोजिम काम थालनी गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराएको छ । त्यसपछिको खर्च सेन्टर सञ्चालनमा भएको लागतका आधारमा महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ।
सेन्टर शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजनको सहज व्यवस्थापन र भ्याक्सिन ल्याउने कुरालाई सरकारले जसरी पनि पूरा गर्ने बताउदै महामारी नियन्त्रण गर्नका लागि सरकारले नेतृत्व र अभिभावकत्व निर्वाह गर्ने धारणा राखेका थिए।
सो अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारी रोक्न सबै पक्षलाई सहभागिताका लागि अपिल गर्दै अहिलेका दुईवटा प्राथमिकतामा संक्रमण घटाउनु र दोस्रो अस्पतालमा विरामीको चाप घटाउनु रहेको धारणा राखेका थिए ।