छैन, सौन्दर्य छैन : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

१. लेख्दा–लेख्दै छ कलम अडिने झन् समाचार ऐले
सुन्दा–सुन्दै अझ सुनुँ सुनुँझैँ पाउँछौँ बात कैले ?
मेरो वस्ती सकसमय हुँदा हाँस्न सक्दैन नानी
फाली कालो कलह जगतको, खै खुलेको बिहानी ?

२. कोही हाँसे पनि किन किन खै ? लाग्छ त्यो अट्टहास
मान्छे फर्के घरतिर तर ती देख्छु साह्रै हतास
हुन् आफन्तीजन मन–मनले कत्ति छैनन् मिलेका
को भन्देला मनुज किन यहाँ बेसरी तर्सिएका ?

३. देख्दा जे हुन् किन किन दुनियाँ भित्र उस्तै हुँदैनन् ?
ठान्यो आफ्नै किन किन मनुवा मित्र जस्तै हुँदैनन् ?
को कस्ता हुन् अलमल छ सधैँ चोर वा साधु को हुन् ?
चिन्नै छाड्यो निठुर समयले भाइ वा दाजु को हुन् ?

४. चर्को कोलाहल किन पलमै जाग्न खोज्दो रहेछ ?
डाँडा काटी किन सब सपना भाग्न खोज्दो रहेछ ?
टाढा बन्दै सुख सयल कतै बस्न खोज्दो रहेछ ?
मान्दै मौका समय मसमसी कस्न खोज्दो रहेछ ।

५ कालो छाया अटुट छ युगको, छैन सौन्दर्य छैन
मीठो बास्नारहित कुसुम छन्, छैन माधुर्य छैन
मान्छे कुद्छन् जड सरह सधै, छैन चातुर्य छैन
सारा उस्तै किन नव दिनमा, छैन कौमार्य छैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।