सानु शर्माका जिन्दगीका पानाहरु पल्टाउँदा : तिलकप्रसाद लुइटेल ( पुस्तक समिक्षा )
कपन अनलाइन
काठमाडौं ,बैशाख ११।
समयअनुसार साहित्यले आफ्नो बाटो बनाउँदो रहेछ । समय अनुसार नै समाज र यसका मूल्य मान्यताहरु पनि बन्दै जान्छन् । त्यसैले समय, साहित्य र समाज आपसमा सहकार्य गर्छन् । स्रष्टा त्यसको अभियान्ता हो ।
मान्छेकै लागि समयको महत्व ठूलो छ । मान्छेकै लागि समयको उपस्थिति अनिवार्य छ र मान्छेकै लागि साहित्यको निर्देशन अपरिहार्य छ । साहित्य जहाँ समृद्ध हुन्छ, समाजको उन्नति उसै रुपमा उन्नत हुन्छ ।
साहित्यकारले समाजको उन्नतिमा सहयोग पुर्याउँछन्, साहित्यले समाजको उत्थान र पतनको समेत अभिलेख राख्छ । सानुशर्मा त्यस्तै साहित्य मार्गकी एक यात्री हुन् । साहित्यको बाटोमा अविरल गतीशील छन् ।
मैले जान्दा जान्दै र छान्दा छान्दै दुई पुस्तक हातमा परिसके, अनुभूतिका आँकुरा पढेको छु, त्यसमा रहेका कुरा देखेको छु र त्यसकै विषयमा यस्तै केही शब्द लेखेको छु । अहिले यो जिन्दगीका पानाहरु, दोस्रो मुक्तकसङ्ग्रह पाएको छु । मैले मुक्तकलाई कविताकै एउटा प्रभावकारी रुप देखेको छु । त्यसैले सानु शर्मालाई कविका रुपमा हेरेको छु । यहाँ सङ्कलित २८८ वटा मुक्तकहरु मैले पढेँ, असाध्यै रसिला मिठासले भरिपूर्ण मुक्तक देखेँ ।
मुक्तकसङ्ग्रह जिन्दगीका पानाभित्र मायाप्रेम, भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक जस्ता जीवनका अपरिहार्य सुखद र उन्नतिशील विषयहरु प्रस्तुत छन् । यसरी आरोह पक्ष मात्रै समाजको सत्यता होइन ।
यहाँ हत्या, आतङ्क, बलात्कार, छुवाछुत, भेदभाव, लुटपाट, भ्रष्टाचार, असमानता, निरीहता बिछोड, जस्ता दुःखद पक्षको पनि विविध पाटाबाट चर्चा छ । विलासिता, व्यग्रता र न्यायको राज्यमा विधिको शासन, न्यायको तराजु जस्ता विषय र विकराल वस्तुस्थिति र परिवेशमा रचिएको मुक्तकहरु वास्तवमै मन छुने रहेछन् ।
यसलाई हेरेर प्रा. डा. गार्गी शर्माले– राष्ट्रप्रेम, सामाजिक स्थिति मात्र होइन प्रेमिल संसारको पनि निक्कै चिरफार गरिएको छ, मायामा घात गर्नेलाई विषालु गोमन भन्न पनि पछि पर्दिनन् सानुले भन्नू भएको छ ।
यथार्थमा कुरो यही नै हो मायाले संसार बनाउँछ र भताभुङ्ग पनि पार्छ । प्राज्ञ माया ठकुरीले देश, समाज र परिवारमा घटिरहेका अनेकौँ अप्रिय घटनाहरु मुक्तककार सानु शर्माका मुक्तकहरुमा
अटाएका छन्, जिन्दगीका पानामा आजका मानिसहरुको साँगुरो चिन्तन र स्वार्थपूर्ण व्यवहारलाई सुन्दर किसिमले चित्रित गरिएका छन् भन्नुभएको छ । यस विचारले सानु शर्माका मुक्तकहरुम समेटिएका विषयवस्तु र विचारलाई सङ्केत गरेकै छ ।
त्रिपूरा पौडेल रेग्मी भन्नुहुन्छ, अनुभूतिका आँकुरा एकपटक पढेर रमाएकै बेला अहिले फेरि दोस्रो मुक्तकसङ्ग्रह जिन्दगीका पानाहहरु पनि निकाल्न लागेकी छन् भन्ने थाहा पाउँदा निक्कै खुसी लागेको छ । उहाँले सानुशर्मा कवयित्रीसँगको भौतिक सान्निध्य र वौद्धिक परिचय दुवै रहेको जानाकारी गराउनुभयो ।
नोबेल साकोस साहित्य संस्थाकी अध्यक्ष सरस्वती गौतम लमजुङको चितीमा जन्मेर काठमान्डूको बाफलमा स्थायी बसोबास गरिरहेकी स्रष्टा सानु शर्माले अनुभूतिका आँकुरा पहिलो सङ्ग्रह पश्चात् यो जिन्दगीका पानाहरु नामक दोस्रो मुक्तकसङ्ग्रह प्रकाशित गर्न आफैँ आबद्ध संस्था नोबेल साकोस साहित्य संस्थालाई अनुमति दिनुभएकोमा स्रष्टाप्रति हार्दिक अभार व्यक्त गर्दै साधुवाद ज्ञापान गर्नुहुन्छ ।
रुद्र अधिकारीको सम्पादकीय लेखमा मुक्तक भन्नेबित्तिकै आफ्नो मनै हरर भएर आउँछ, झन यसमा साथीहरुको समेत काम गर्न पाउँदा त हृदयमा आनन्दको अनुभूति हुन्छ, यति चट्ट परेको विधा सायद अरु कुनै नहोला भन्नू भएको छ । रचनाकार सानु शर्मा स्वयंले पनि आफ्ना यस कृतिका विषयमा मेरो जिन्दगीका हरेक मोड, उकाली ओराली, सुखदुःख, पीडारोदन हाँसीखुसीका हरेक पाइलामा साथ दिने मेरा दाजु फणिन्द्र शर्मा र भाउजू रत्नकुमारी शर्मा नै मेरो जिउने आधार हुनुहुन्छ, उहाँहरुको साथ सहयोग र प्रेरणाले मेरा दैनिकी सुखका साथ खुसीले बितिरहेका छन् उहाँहरु लगायत सबै शुभचिन्तकमा म हार्दिक आभार प्रकट गर्दछु भन्नुभयो ।
रचनाकारले राम्रो लेख्ने प्रयास गरेकै हुन्छ । सङ्ग्रह निकाल्ने बेलामा ती राम्राबाट पनि छानेर अझ राम्रा जति समावेश गर्ने प्रयास गरेको हुन्छ । त्यसैले यहाँ आएका मुक्तक सबै राम्रा छन् । तिनीहरुमा पनि झट्टै मन लोभ्याएका केहीलाई यसरी टिपोट गरियो ।
अन्नको मूल्य भोको पेट रुँदा बुझेकै हो
जिन्दगीको अर्थ रित्तोगोजी हुँदा बुझेकै हो
सुखदुख पनि ज्ञानको पाठशाला रहेछ नि
चोखो मायाले पनि मन नछुँदा बुझेकै हो
यो थालनीको मुक्तक । यसरी मुक्तकसङ्ग्रह सुरु भयो । यस्तै गरी अर्को मुक्तक
माया कति गर्थे जोख्ने मानापाथी भएन
मेरो वचन काम कहिल्यै तलमाथि भएन
बियोगमा तडपिएर रसाउँदा यी नयन
गुनासो पोख्न साथमा प्रिय साथी भएन ।३
जीवनले मनलाई खुला गरेर कुरा गर्न रुचाउँछ भन्ने साझा भावना सुन्दर शब्दमा प्रकट गरेको यस मुक्तकबाट जसलाई पनि सकारत्मक प्रभाव अवश्य पर्छ । मुक्तक नम्बर ४ मा जीवनको कथाको चर्चा छ, यो रचनाको भोगाइ प्रायजसो जीवनलाई मिल्छ ।
धोका, गरिबी र यादले सधैँ चोट दिन्छ
सोच्न नसके यी कुराले ज्यान समेत लिन्छ
ऋृण कर्त्ब्य र सत्रुहरुसंग जिस्कनु हुँदैन
आमाबुबाको आशीर्वादले सुख किन्छ ।४
जीवनको खोजी सुख हो । सुखबाट माथि उठेर शान्ति हो । मनले रुचाएको कर्म गर्न र पाइयो र गरेका कर्मले सन्तोष दियो भने मानिसले आफूलाई लक्ष्यका नजिक पुगेको अनुभव गर्छ । आफ्ना कर्ममय जीवनको सार्थकता उसले त्यहीँ पाउँछ ।
यो धर्तीमा जन्म भयो रमाउँनको निम्ति
पुण्यकर्मले धर्म कमाउँनको निम्ति
उकाली ओराली जिन्दगीका पाटा हुन्
जिउनु छ अस्तित्व जमाउँनको निम्ति ।५
यस्तै यस्तै मन छुने मुक्तकहरु सानु शर्माको जिन्दगीका पानहरुभित्र छन् । सबै आफ्नै देखाइ र भोगाइका अनुभूति हुन् जस्तो लाग्छ । सबै रचना मुक्तकको नियम अनुसार पहिलो दोस्रो र चौथो हरफमा अनुप्रास मिलेका र तेस्रो अनुप्रास विहीन छन् । कतिपयमा अनुप्रासयुक्त पद बीचमा नै आएका छन् र अन्तमा तुक्काले सजाइएको पनि छ । पुस्तक बाहिरी आवरणका दृष्टिले पनि आकर्षक छ । पढ्ने पाठकले यी मुक्तकहरुबाट नयाँ प्रेरणा पाउने सम्भावना मनग्य देखिन्छ । मुक्तकारलाई धेरै धेरै साधुवाद छ । पाठकहरुले रुचि लिएर पढ्नुहुनेछ र समयको उपयोग गर्नुहुनेछ भन्ने लाग्छ । धन्यवाद !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक