प्रकृतिको दुःखेसो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ११।
खोली आँखा टह–टह नभ यो, हेर्न मैले सिकाएँ
अग्ला डाँडा वन चउर चुली, नाघ्न मैले सिकाएँ
बन्दा प्यासी कल–कल जलले, शान्त मैले गराएँ
लड्दा धेरै रिपुसँग जगमा, नित्य मैले जिताएँ ।।१।।
मान्छे भन्छन् तर सब नियती, मान्यता छैन मेरो
ठान्छन् आफैँ हर पल बलियो, सम्झना छैन मेरो
आफैँ कुद्छन् प्रकृति रित भुली, भाग्यको खेल भन्दै
पेल्छन् फोस्रा चिजबिज कसरी, आउला तेल भन्दै ।।२।।
गर्छन् यात्रा पनि विचलित भै, दिव्य गन्तव्य भुल्छन्
कैले पुग्ने शिखरतिर कठै, स्वार्थमै लिप्त हुन्छन्
आफ्नै दोषी मन छ प्रकृतिको, चुँड्दछन् आँकुरा नै
खोसे हाँसो बल जफत गरी चुल्बुले टाकुराकै ।।३।।
ल्याएँ मैले जगतिर मनुवा, नाम जान्दैन मेरो
हेर्छन् मेरै ग्रह–गण बबुरो, काम जान्दैन मेरो
जैल्यै पर्दा पछि म छु अघि जून वा घाम कुद्छन्
यौटै दाता प्रकृति छ नभनी, नित्य अस्तित्व लुट्छन् ।।४।।
नाँच्छन् कोही छम–छम बमको, जन्मदाता बनेर
हिँड्छन् कोही प्रतिपल धनमै, लोभ लाखौँ बुनेर
चुँड्छन् मान्छे, कुसुम–जगतका, हुन्न मैले फुलाई
गर्ने माया छ र कुन दुनियाँ, सिर्जनामा रमाई ? ।।५।।
कोही छैनन् कि यस जगतमा सत्य साकार पार्ने
चोखो धर्ती नभतिर बलले छन् बलत्कार गर्ने
सच्चा कानून छ जुन भवको ध्वस्त पार्दै छ मान्छे
गर्दै चर्को खलबल दुनियाँ त्रस्त पार्दै छ मान्छे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक