नालाङ्ग भित्र हेर्दा : तिलकप्रसाद लुइटेल
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ४।
काभ्रे जिल्लाको नालामा जन्मिएका माधवलाल श्रेष्ठ काठमाडौँलाई कर्मस्थल बनाएर शिक्षा एवं समाजसेवामा लामो समय बिताए पनि जीवनको उत्तरार्धमा भने साहित्यतर्फ उन्मुख भएका स्रष्टा हुन् ।’ शुभकामना शीर्षक दिएर घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष परशुराम पराशरजीले यति लेख्तै यस कृतिका स्रष्टाको परिचय दिइसक्नुभएको छ ।
‘मुक्तककारको भिडमा पृथक् देखिनु र पृथक् किसिमको लेखिनु नै उनको परिचय हुन आएको छ । मायाप्रेम, ख्यालठट्टा, विरह र बिछोडभन्दा पृथक् लाग्छन् राजनीतिले निथ्रुक्क भिजेका मुक्तकहरु । तसर्थ पनि यसलाई पृथक् मान्न मन लाग्यो ।’
शिवपुरी सन्देश पत्रिकासँग सम्बन्धित वियोगी बुढाथोकीले चोटिलो प्रहारलाई शुभकामना भन्ने शीर्षकको लेख पढेपछि यसभित्र भएका पठनीय सामग्री के र कस्ता रहेछन् भन्ने अनुमान गर्न सकियो ।
टोखा काठमाडौँका प्रभात सापकोटाले नालाङका मुक्तकहरु भन्ने शीर्षकमा ‘कविले यहाँ प्रतिकूल स्थितिलाई मात्र अगाडि ल्याएका छैनन् । अनुकूल अवस्थालाई पनि उतिकै महत्तव दिएका छन् । हामी सबैलाई राष्ट्रभक्तिको गीत सुनाउँदै माटाको बास्ना सुँघाएर देशविकासमा सक्रिय हुनका लागि कवि माधवले प्रस्तुत गर्न खोजेको समाधान सहितको सिर्जनात्मक चिन्तन… ’ भन्ने लेखिएको छ । यसबाट स्रष्टाले सचेत भएर कलम चलाएका पाटाहरु देख्न सजिलो भयो ।
सम्पादकीय शीर्षकमा विशालनगर काठमाडौँ निवासी रुद्र अधिकारीले ‘एकदम शिक्षित, भद्र र सहयोगी व्यक्तिका रुपमा वहाँलाई पाएँ मैले’ भनेर लेखेको देखेपछि व्यक्तिगत रुपमा माधवलाल श्रेष्ठजीको सहयोगी आनीबानी र सुन्दर मिजासका विषयमा थाहा भयो । मसँग पनि लामो समयदेखिको परिचित छिमेकी भएका कारण आफू पनि त्यसै भन्छु ।
माधवलाल श्रेष्ठजीले आफ्नै कुरा शीर्षक राखेर लेख्नुभएको छ ‘नालाङ्ग मुक्तक सङ्ग्रह पहिलो कोसेली हामी माझ छ । ऐतिहासिक, पौराणिक एवं पुरातात्त्विक महत्त्वको नाला सहरको ऐतिहासिक नाम नालाङ्ग थियो ।
जन्मस्थानको सम्मान स्वरूप पुस्तकको न्वारन गर्दा नालाङ्ग भएको हो । देशमा प्रजातान्त्रिक गणतन्त्र स्थापना भएपछि भए गरेका समसामयिक घटनाहरू, समाजमा हुने गरेका विसङ्गतिको नालीबेली नै नालाङ्ग मुक्तकसङ्ग्रह हो ।’ यति लेखेको पढेपछि स्रष्टा मुक्तककारलाई इतिहास र राष्ट्रवादप्रति चासो गहिरो रहेछ भन्ने प्रस्ट भएकै छ ।
अब आफूले पनि त पुस्तकमा सङ्कलित रचना त पढ्नुपर्यो भनेर मुक्तक १ पढेँ । त्यसमा नेताले देशका जनतालाई युगौँदेखि दिँदै आएका आश्वासन देखियो । देशभक्ति भन्न मिल्छ होला । अनि मुक्तक १४ पढ्दा पनि उही नेताको लोलीबोली र आश्वासनपछि हस्स परेका नेपालीको व्यथा नै देखियो । लेखाइ
कति बेजोड छ त्यो त पुस्तकमा आफैँ पढ्दा राम्रो । अब मुक्तक २८ पनि घत लागेरै पढेँ । चोरलाई चौतारी साधुलाई शूली भन्ने नेपाली उखान त्यसै बनेको होइन । कति मिलाएर लेख्न जानेको भनेर ताजुब लाग्यो ।
मुक्तक ४२ पढिहेर्दा विश्वको बनावटी सुन्दरताले लोभ्याउने नसक्ने गरी आफ्नो देश चार हरफमा अटायो । यसलाई लेखनको कुशलता मान्दा अचम्म लाग्दैन । सदाचार र देशप्रेम एक अर्काका पूरक हुन् भन्ने ठहर गरेर मुक्तक ५६ आएको छ । पुस्तक हातमा छ भने पल्टाएर हेरिहाल्दा हुन्छ । देश जोगिए सबै छौँ देश नरहे कोही छैन भन्ने भाव आएको बुझियो ।
नेता र नीति बारबार परिवर्तन भए तर नियत परिवर्तन नहुँदा नियति परिवर्तन हुन सकेन भन्ने भाव मुक्तक ७० मा देखेको छु । बाँदरका हातको नरिवल र सुँगुरलाई स्वर्गको काम छैन भन्ने शब्दमा कति राम्ररी सजाएको । जो गाउँको मुखिया उही बाटो बिगारा भन्ने भाव बोकेको मुक्तक ८४ मा प्रयोग भएका शब्दावलीमा आँखा परे ।
यहाँ पनि शक्तिशाली व्यक्ति वा समूहबाट जनता आशावादी छन् भन्ने भाव छ तर दुधको साक्षी बिरालो भनेको जस्तो मात्रै होला कि भन्ने त्रास मुक्तकका हरफमा झल्कन्छ । अब मुक्तक ९८ मा हेरौँ । आफ्नो जीवन आफू बाँचेका छौँ तर अर्काले गर्देला कि भनेर आशा पनि साँचेका छौँ । भनाइमा भुल्याउने ठगको दुहुनो भैँसी बन्ने कि आफ्नो बाटोगल्ली सुधार्न आफैँले खन्ने त्यसतर्फ ध्यान आकृष्ट गर्न विद्यमान प्रवृत्तिको परिदृश्य देखाइएको छ ।
राजनीतिलाई नै हानेको मुक्तक ११२ छ । प्राकृतिक प्रकोप र नेताको धोका नेपाली जनताका लागि नयाँ अनुभव होइनन् । पढेपछि चित्त बुझ्छ । मुक्तक १२६ पनि चिप्लो कुरा गर्नेले चिप्ल्याएरै छोड्छ भन्ने भावमा देश समाजमा निमुखाले भोग्नुपरेको विडम्बना व्यक्त भएको छ । मुक्तक १४० अन्तिम हो । यसमा बाहिर बाहिर नाटक र भित्रको खेल अर्कै भएका अवस्थालाई दर्साइएको छ । सम्मान गर्ने नाटकमा दोहन मात्रै होइन शोषण नै भइरहेको यथार्थको कुरा गर्दै पुस्तक सकियो । सबै मुक्तक एक एक विशेष सन्देश बोकेका हुनाले राम्रा छन् । प्रत्येक दस दसवटा मुक्तकको अन्तरालमा तिनको भाव आफ्ना मनज्ञानले जस्तो देखेँ उस्तै उल्लेख गरेँ । त्यसरी हरेक १४ औँ मुक्तकको चर्चा गर्ने विचार गरेकाले यस लेखमा सबै मुक्तकहरुले बोकेको विषयवस्तु समेटिन सकेन । पाठक स्वयंले पढ्दा राम्रो । त्यही भएर मुक्तकको सङ्ख्या दिए पनि पूरै हरफ उतारिएन । मुक्तक १०८ बनोटमा
छोटिलो र भनोटमा चोटिलो पाइयो । भाइ फुटे गवाँर लुटे भन्ने हिन्दी उखानको भाव मुक्तक १०८ ले बोकेको छ । अति छोटा हरफ भएको हुनाले यसले दृष्टि तान्यो ।
सुरुमा शुभकामनाका टिपोटहरु लेख्तै जाँदा मुद्राराक्षसको हस्तक्षेप सुरुका तीनवटामै भेटियो । अन्य ठाउँमा पनि कताकति यस्तो पाइएको छ । पुस्तक एकै बैठानमा पढिसकियो । पढ्दा झर्को लाग्ने कुरा त परै जाओस् जासुसी उपन्यासमा अब के होला भन्ने खुल्दुली लागेको जस्तै अबको मुक्तकमा के कुरा होला अथवा कस्ता शब्दको संयोजन होला भन्ने चासो लागिरह्यो । पाठकलाई रुचिकर मुक्तकसङ्ग्रह हो । आफू जन्मेका ठाउँलाई जसरी सकिन्छ त्यसरी सम्मान गर्नुपर्छ भन्ने भाव भएका मुक्तककार कवि माधवलाल श्रेष्ठजीलाई असीम साधुवाद छ ।