मलाई यस्तै हुन मन छ : हेमा सुवेदी (कविता )

मलाई यस्तै हुन मन छ : हेमा सुवेदी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २८।

सर्पले काचुली फेरे जस्तै
मलाई पनि एक पटक काचुली फेर्ने मन छ

जीवनका आरोह अवरोहहरु
तिर्खा अनि तृष्णा हरु किलामा झुन्ड्याएर
आफुलाई आफैं बाट फुकालेर
शून्य शून्य हुँदै महाशून्य हुँदै
निर्जन यात्रामा निस्कने मन छ ।
सर्पले काचुली फेरे जस्तै
मलाई पनि एक पटक काचुली फेर्ने मन छ

लगाम लगाएको घोडा झैं
समय सङै सिधा रेखामा हिडेपछि
सधै नियमको परिधिमा बाधिएपछि
जीवनले पनि कोर्दो रहेछ कल्पनाको अनेक बुट्टाहरु
दैनिकीले नि सोच्दो रहेछ नयाँ नौलो परिवेशहरु
क्षितिज पारी पुगेर
घुम्तीहरु मा रमाइदिउ
घना जङ्गलमा हराइदिउ
आफुबाट आफैलाइ मेटाएर
सागरको पिधमा पुगेर चिच्याउन मन छ
सर्पले काचुली फेरे जस्तै
एक पटक काचुली फेर्ने मन छ

केही टुटोस केही फुटोस
सम्पुर्ण पर्दाहरु खुलोस
नयाँ नयाँ अन्दाजमा नयाँ सूर्य उदाउदै
एकनासको निरस निरन्तरतामा पुर्ण बिराम लागोस
पर्खालहरु अझ अग्लिएपछी
मनको आकाश पनि खुलेपछि
मनले पनि खोज्दो रहेछ नयाँ आकाश नयाँ आयाम
तेरो मेरो
राम्रो नराम्रो
सबै ज्ञान ईमान र विवेकलाई ताला लगाएर
आफुबाट आफैलाई निचोरेर
माथी माथी बादल माथी बिचरण गर्ने मन छ
सर्पले काचुली फेरे जस्तै
एक पटक काचुली फेर्ने मन छ ।

(सहकार्य कपन बानेश्वर साहित्यिक साप्ताहिक )

तपाइँको प्रतिक्रिया ।