बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

कपन अनलाइन

काठमाडौं ,चैत्र ३।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएका तारकेश्वर नगरपालिका–३, जीतपुरका ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले उच्च अदालत पाटनले तीन दिन कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज काभ्रेस्थलीबाट पक्राउ गरिएको जानकारी दिइन् । “पक्राउ परेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा झुक्यानमा पारी कुमारी बैंक लिमिटेड नयाँ बसपार्कको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको अनुसन्धानमा खुलेको छ,” उनले भनिन् ।

पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।