नालाङ्ग मुक्तक सङ्ग्रह : यथार्थ आवाज

नालाङ्ग मुक्तक सङ्ग्रह : यथार्थ आवाज

कपन अनलाइन

काठमाडौं ,फागुन १ /विष्णु प्रसाद शर्मा पराजुली
भक्तपुरका राजा जगज्योती मल्लले वि.सं.१६७७ मा काभेपलाञ्चोकको नालामा नाला भगवतीको स्थापना गरेका हुन् भन्ने इतिहासमा पाईन्छ । प्यागोडा शैलीमा निर्मित त्यो चारतले मन्दिर काभ्रेपलाञ्चोकको मात्र नभई ऐतिहासिक महत्व बोकेको नेपालको धार्मिक र साँस्कृतिक गौरव हो । नालामा जन्मेका पूर्व शिक्षक, व्यापारी, समाजसेवी तथा कवि माधवलाल श्रेष्ठले नालाको प्राचीन नाम नालाङ्ग नाम राखेर समसामयिक मुक्तक सङ्ग्रह प्रकाशन गरी आफुलाई  यथास्थितिवाद बिरोधी मुक्तककारको रूपमा परिचित गराएका छन् ।
माधवलाल श्रेष्ठको समसामयिक मुक्तक सङ्ग्रहमा चार–चार पङ्क्तिमा लेखिएका १४० मुक्तकहरू समावेश गरिएको छ । सबै मुक्तकहरू सामान्य साक्षर नागरिकले सहजै पढ्न, त्यसमा व्यक्त गरिएको भाव बिना व्याख्या सहजै अर्थ्याउन  सक्छन् । भारी बोक्दै गरेको भरिया, खेतबारीमा काम गर्दै गरेको किसान र दैनिक ज्यालामा काम गर्ने सहरिया ज्यामीले भोगेको दुःख, कष्ट र तीनले वर्तमान राजनीति, कुशासान, र भ्रष्टाचार एवँ नेतृत्व वर्ग र कर्मचारीतन्त्र प्रति गर्ने व्यङ्ग्य र प्रहार, आशा र निरासा ती मुक्तकमा प्रतिविम्बित भएका छन् ।
सबै मुक्तकहरू मुलतः राजनीति, जन बलिदानबाट उपलब्ध राजनैतिक व्यवस्थाले जनताका सामान्य भन्दा सामान्य विषयहरू पनि पटक्कै छुनै नसकेको परिवेश वरपर घुमेका छन् ।

नेपाली नागरिकले वारम्बार आन्दोलन, त्याग र जीवन सुम्पेर निरङ्कुश राजनैतिक व्यवस्थाको ठाउँमा संघिय गणतान्त्रिक राजनैतिक व्यवस्थाको स्थापना गरे । त्यो परिवर्तन, परिवर्तन पछि आम नेपालीनागरिकमा देखा परेको आशा र विश्वासको मधुरो मुस्कान, विश्वास विपरित त्यो मुस्कान माथि परेको बज्र प्रहार, नेतृत्व वर्गको अराजक तथा निरङ्कुश चरित्र र व्यवहार, भ्रष्टाचार र कुशासन एवँ त्यसले नागरिकमा नेतृत्व प्रति परेको प्रभाव र नागरिकको दृष्टिकोण बारे मुक्तकहरू खुला रुपमा नागरिकको ओठहरूमा पुगेर सलबलाउन सफल छन् । मुक्तकमा उनी भन्छन्ः
गणतन्त्रको पारा नि उही निरङ्कुश पञ्चायती ।
हेलिकप्टर चढेर भाषण छाँट्छन् किफायती ।
भो अब नगरौँ कुरा केन्द्रीय सिंहदरवारका,
स्थानीय सिंहदरवारका नि तिनकै हिमायती ।
जहानीया राणा शासनको समयमा हुने जस्तो गरी देखिएको नातावाद र कृपावाद, गुट र लुट तथा त्यसबाट आमनागरिकमाउत्पन्न निरासा मुक्तकमा सरलताका साथ उनी जस्ताको तस्तै यसरी पस्कन्छन्ः
कस्तो ल्याएछौँ देशमा गणतन्त्र ?
नेताले बनायो मनपरी गर्ने यन्त्र ।
राम्रा छोडेर हाम्रालाई ल्याउने,
यही नै भयो एक मात्रमूलमन्त्र ।

जताततै मैलाएछ भन्छन् गुटै गुट ।
चलाउँछ शासनबोलेर झुटुै झुट ।
देशबिग्रेर के भो र भन्छन् तिनीहरू
नेता सप्रेकै छन् मच्चाएर लुटैलुट ।
गणतन्त्रको स्थापना पश्यात जनताको मतले चुनिएर गएका नेताले देशमा सुशासन ल्याउछन्, नागरिकका आधारभूत आवश्यकताका विषयमा दीर्घकालिन नीति ल्याएर देशलाई आर्थिक सम्पन्नता तिर लैजान्छन भन्ने आशा माथि दिनहुँ बढ्दै गएको भ्रष्टाचार विरुद्ध उनी यसरी प्रतिरोध गर्दछन्ः
खायो सबैलाई छक्का पन्जाले ।
भुलायो सबैलाई छक्का पन्जाले ।
राष्ट्र, प्रजातन्त्र, समृद्धि भन्दै,
उडायो सबैलाई छक्का पन्जाले ।

खाऊखाऊ राष्ट्रिय ढुकुटी मिलेर खाऊ ।
विरोधीहरूलाई पनिवाइनपिलाऊ ।
समृद्धि र सुखको मन्त्रणा गर्दै र जप्दै,
पुरातनशासन र भाषणमै रमाऊ ।
मुक्तकमा आशा, भरोसा छन् । तीआशा र भरोषालाई मिठो बोलीले मलम लगाउँदै हिंडने बेलामा छुरा धसिएका पिडा ज्वलन्त छन् । राजनैतिक पक्षबाट भएको विश्वासघातबाट उब्जन खोजेका निरासालाई व्यूझाउँन पनि उनी थाकेका छैनन् । मानवजीवन एक पटक आउने हो, त्यो जीवनलाई हामीले सफल पार्नु पर्छ, भन्छन्, उनीः
सौभाग्यमान्नु पर्छ हामीले मानवजन्मपाई ।
अनुकरणीय कर्म गरी सफलपारौँ जन्मलाई ।
सत्ता स्थायीहुँदैन ।

राजतन्त्र ढल्यो ।

कुर्चीमा पुग्दैमा जमिन बिर्सन हुँदैन ।

धरातल बिर्सँदा इतिहासले नराम्रो गरी धिक्कार्छ ।

जनता भनेका शासनका मूल धरोहर हुन् । तिनलाई झुक्याउँन हुँदैन । जनताले दिने सजाय कति खेर कुन समयमा रानीपोखरी नजिकको घण्टी बज्छ भनेर पर्खन पर्दैन । त्यो नागरिक घण्टी जुनसुकै बेलापनि जतिसुकै शक्तिशाली तानाशाहलाई पनि बज्न सक्छ । त्यसैले सत्तामा पुग्नेहरू होसियार होऊ भन्दै उनले यसरी सचेत पार्छन्ः
मातृभूमि भन्दैछिन् आउनु बनेर मन्डेला र खान ।
आश्वासन किन बाँड्छौ पहिला आफैलाई जान ।
नबनाउ पेसा राजनीतिलाई परै रहू झोलेबाट ,
देश समृद्धिको मूलमन्त्र मात्र जनतालाई मान ।

हतियार देखायौँ त के भो म कलम देखाउँछु ।
मात्र भाषणमा होइन म हरदम देखाउँछु ।
भो अब चाहिएनतिम्रा मीठा अश्वासनहरू ,
कुरा र कामको म एक मीठो सङ्गम देखाउँछु ।
विकास र राष्ट्रियताको सन्दर्भमा भाषण र प्रतिवेदनले मात्रहुँदैन । कुरा गर्दागर्दै देशको भूमी लुटिइसकेको छ, वर्षेनी नेपालीभूमी अरुले कोपर्दै लगेका छन् भन्ने सन्दर्भमा उनी भन्छन्ः
देखिसक्यो विश्वले जीवनकाआँकुराहरू ।
सबै जालो बुनेर बन्दैछन् यीमाकुराहरू ।
देशको विकास सबै सेताकागजमामात्रै,
अर्कैले दावी गर्न लागे हाम्रा टाकुराहरू ।
कति राजनीति मात्र गर्ने? राजनीति त्यस्तै हुन्छ । प्रेमको पूmल दिन्छु भनेर सत्तामा पुगेपछि कुशासनको फल दिन्छ । त्यसैले त्यो मात्र त जीवनहोइन नि । जीवन प्रेमहो । जीवन प्रकृतिको सुन्दरतमा झुम्न लालयित हुन पर्छ । हाम्रो प्रेम क्रिडाले प्रकृतिपनि रमाउँन बाध्य हुन्छ, आऊ प्रेम गरौँ र हाँसौँ भन्दै कवि माधव भन्छन्ः
सूर्योदयको पहिलो लालीसँगै ।
वर्षातको रुझानमाकालीसँगै ।
मिलनहुँदादुई मनमुटुको,
झुम्यो मन फुलको  त्यो डालीसँगै ।
मिठो छ । सरल छ ।माधवका मुक्तक पढदा वर्तमान राजनैतिक परिवेशललाई हिउँदमा हिउँ परे पछि सफा भएर खुलेको नीलो आकास जस्तै देखिने गरी देख्न र महसुस गर्न सकिन्छ । अठासी पृष्ठको नालाङ्ग पढेर वर्तमान नेपालको राजनैतिक चित्र हेर्न एक घण्टा पनि लाग्दैन । पढौँ । मित्र माधवलाई मुरिमुरि बधाई दिदै बिदा माग्छु ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।