मेरी आमा : अञ्जु चालिसे (कविता )

मेरी आमा : अञ्जु चालिसे (कविता )

कपन अनलाइन

काठमाडौं ,फागुन १ ।

आज एकपटक फेरि
त्यो मुहार देखे , सपनामा
अस्पष्ट….अधुरो….
बाक्लो तुवाँलो अगाडि थियो वा
पछाडि सुन्दर अनुहार ढाकिरहेको ?

त्यो मुहार अष्पट देखेर म
जोर जोरले चिच्याउँदै थिएँ,
मामु….मामु….मामु….!

एउटा अर्को आवाज प्रतिध्विनित बन्यो
टाढा ….धेरै….. टाढा,
अस्पष्ट, अष्पट आवाज
वायुमा ठोक्किएर
त्यो चिच्याहट मामुको थियो या,
मेरो आफ्नै पीडाग्रस्त चिच्याहट थियोे ?
ठम्याउन सकिन मैले त्यो के थियो, कसको थियो ?

चारैतिरबाट प्रतिध्वनित आफ्नै आवाज
फर्कियो फेरि मेरै कानमा,
मामु…..मामु….मामु….
र अचानकखुल्यो आँखा

सपनाबाट व्युँझदा,
त्यो अस्पष्ट अनुहार
अझै आँखा अगाडि नै थियो,
मायालु, स्निग्ध, कोमल
आमाको मनजस्तै मायालु
आँसु भरिएकाआखाभरि त्यहीदृश्य थियो,
मनभरि विछोडको पीडा !

अब कहिले भेट होला, अर्को सपनामा
त्यो बेलाअनुहारमा
के अनुहार छेक्ने त्यो तुँवालो हट्ला, नहट्ला?
अस्पष्ट देखिने सपनाको मुहारमा
स्पष्टता देखिएला, नदेखिएला?
फेरि एकपटक
आमालाई भेट्न पाउँलानपाउँला,
सपनीमा मैं भएपनि
अँगालोमा भरेर मनभरिका सुखदुःख,
गहभरि भरिएका आँसुमा बगाउँदै
भन्नपाउँला, नपाउँला
मामु…..मेरी मामु !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।