मान्छे भित्रको मान्छे : राम आचार्य पुष्पप्रेमी (कविता )

मान्छे भित्रको मान्छे : राम आचार्य पुष्पप्रेमी (कविता )

कपन अनलाइन

काठमाडौं ,माघ २०।

जब मान्छे भित्रको
मान्छे नै अवसान भइसके पछि
उ भित्र मानवता अड्ने
ठाउँ नै कहाँ रहन्छ र ?
विचरा
उसले कसरी भन्न सकोस त
अरु पनि बाँचोस भनेर ।
उसको खोक्रो आकृति भित्र
आफै मुर्छित छ भने
मानवताका सम्वेदनाहरु
कसरी जीवित रहन्छ ?
एउटा उजाड आत्मा भित्र
न सृजना र साधनाका
बीउउम्रिन सक्छ
न त उत्साहाका पोथ्रा
हुर्किन पाउँछ ।

सम्वेदनाको खडेरीमा
जिज्ञासु सपनाहरु
चेतनाका मरनच्याँसे कोपिला
सुवासिलाफूल बनेर
फक्रिनै सक्दैनन् ।
कल्पनाशील चेतनाको अवशानमा
चिसो मस्तिष्कले
कसरी खोज्न सक्छ र ?
मानव सभ्यताको नविनतामा
रंगिएको सुनौलो जीवन ।
जति पटक ऐना हेरे पनि
उसैलाई मात्र देख्छ
ऐनाले केवल उसैलाई
प्रबिम्वित गर्ने त हो ।

जिन्दगीको खोक्रो
भग्नावशेष भित्र
कसरी अंकुराउन सकन्छ र
सजिव साधनाका टुसाहरु ।
आफू भित्रको मान्छे
बचाउन सक्नेले
निराशाको चिसो पोखरीमा
कहिल्यै डुबुल्की मार्नु पर्दैन
र अरुको मनमा
खुशीको द्विपजलेको पनि
कसरी देख्न सक्षम हुन्छ र ?

जो भित्र मानवता जिवित हुँदैन
उसको जिन्दगीका स्वणिम आयमहरु
संघर्षको मैदानको कुइनेटामा मिल्काएर
केवल शुन्यतामा हराई रहेको हुन्छ ।
उर्जाशील सृजना हुर्काउन त
गतिशील मस्तिष्कको स्पर्शबाट मात्र
मान्छे भित्रको मान्छेलाई
सजिवताको ओखती प्रदान गर्न सक्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।