आमा : ललिता ‘दोषी (कविता )
कपन अनलाइन
काठमाडौं ,माघ १८ ।
कालो–कालो रूप थियो गालामा थियो कोठी
चाँदीझैँ कपाल थियो छोटो लगाउँथिन् धोती
आँखा थिए निर्मल ठूला सलक्क परेका आँखीभौँ
गए तिनका दिन कठै ! राम्रो नलाईकनै
न बाँध्थिन् चोलीका तुना, न धोती मिलाउँथिन्
मोतीझैँ कपाललाई सधैँ गुजुमुज्ज बनाउँथिन्
आफ्नो पीडा बाँध्दै अरूका पीडामा छट्पटाउँथिन्
कोही भोकैनाङ्गै भए भोको भुँडी भराउँथिन्
न गरिन् तिनले कहिले साँधसँधियारका कुरा
खाइन् यातना तिनले हुर्काउन धेरै भुरा
न गर्जिन् मेघ भै कहिले न लगाइन् एक लपेटा
धर्ती नै हुन् तिनी सहिन् कति चोटचपेटा
छालमै डुब्यौँ हामी मायाका भोका भएनौँ
छटपटाउँदै कहिल्यै पनि हामी पाखा गएनौँ
अर्को जन्म भए कतै तिम्रै काख पाऊँ
त्यही मायालु काखमा निर्धक्क भै निदाऊँ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।