काठमाडौंमा सवल देखिए अध्यक्ष कृष्ण राई ,जनप्रतिनिधिहरुमा ओली पक्षको बलियो पकड

काठमाडौंमा सवल देखिए अध्यक्ष कृष्ण राई ,जनप्रतिनिधिहरुमा ओली पक्षको बलियो पकड

कपन अनलाइन

काठमाडौं ,पुस २७।

२०७४ शाल बैशाख ३२ गते भएको स्थानीय तह र मङ्सिर ४ गते भएको संघीय र प्रदेस सभाको निर्वाचनमा तत्कालिन नेकपा एमाले र बाम गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं जिल्लामा सानदार विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई पार्टीमा विवाद देखिंदा दुई तिहाई जनप्रतिनिधिलाई आफ्नो पकडमा राख्न सफल भएका छन।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको चुनावी कमाण्ड सम्हाल्दै महानगर प्रमुख विद्या सुन्दर शाक्यको दरिलो सारथि बनेका राईको नेतृत्वमा काठमाडौं जिल्लाका १० प्रतिनिधि सभा  निर्वाचन क्षेत्र मध्ये ६ मा र २० प्रदेस सभा निर्वाचन क्षेत्र मध्ये १६ वटामा नेकपाका उम्मेदवार विजयी बनेका थिए।

त्यस्तै काठमाडौं जिल्लाका ११ स्थानीय तह मध्ये ६ वटा नगरपालिकामा प्रमुख उपप्रमुख र काठमाडौं महानगरपालिकाको प्रमुखका साथै दुई नगरपालिकामा उपप्रमुख सहित बहुमत जनप्रतिनिधि जिताउने अभियानको नेतृत्व गरेका उनले पार्टीमा देखिएको विवाद संगै दुई तिहाइ भन्दा बढी जनप्रतिनिधिको साथ पाएको एक जिल्ला सदस्यले बताएका छन।

करिव ३ दशक काठमाडौं जिल्लाको कम्युनिस्ट आन्दोलनमा सक्रिय योगदान दिएका राईको नेतृत्वमा पुस २४ गते शुक्रवार आयोजना गरेको काठमाडौं जिल्ला स्तरीय जनप्रतिनिधि भेलामा देखिएको जनप्रतिनिधिहरुको उत्साहजनक उपस्थितिले उनको पकड देखाएको ति सदस्यको भनाइ रहेको थियो।

२०५० शालमा विशेष जिल्ला कमिटी सदस्य ,२०५४ शालमा जिल्ला कमिटी सदस्य हुँदै २०६७ शालमा काठमाडौं जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित बनेका राई २०७२ शालमा काठमाडौं जिल्ला कमिटीको अध्यक्ष र पार्टी एकीकरण पछि केन्द्रीय सदस्य  बनेका थिए।

काठमाडौं जिल्लामा जनप्रतिनिधिको अवस्था :

१. विघठित प्रतिनिधि सभाका ६ मध्ये ४ जना ओली पक्षमा 

पार्टीमा देखिएको विवाद संगै  विघटित प्रतिनिधिसभाका ६ सदस्यहरुमध्ये चार जना ओली पक्षतिर र बाँकी दुई जना प्रचण्ड–माधव पक्षतिर खुलेका छन्।

काठमाण्डौ   क्षेत्र नं  ३ का कृष्ण राई, क्षेत्र नं  ५ का ईश्वर पोखरेल, क्षेत्र नं   ७ का रामवीर मानन्धर र  क्षेत्र नं ९ का कृष्ण गोपाल श्रेष्ठ ओली पक्षमा छन् भने प्रचण्ड–माधव पक्षतिर क्षेत्र नं  २ का माधवकुमार नेपाल र ८ जीवनराम श्रेष्ठ रहेका छन्।

२. प्रदेस सभाका २० मध्ये १४ जना ओली पक्षमा 

काठमाडौं जिल्लाका २० निर्वाचन क्षेत्र मध्ये १६ वटामा प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य र ४ जना समानुपातिक सदस्य मध्ये १४ जना ओली पक्षमा र ६ जना प्रचण्ड -नेपाल पक्षमा सक्रिय देखिएका छन।

बागमती प्रदेस सभा सदस्यहरु  अजय क्रान्ति शाक्य, केशव स्थापित, गणेशप्रसाद दुलाल, नारायणबहादुर सिलवाल, योगेन्द्रराज संग्रौला, रमा आले मगर, राजेश शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाल, दीपक निरौला, प्रकाश श्रेष्ठ र मणिराम फुयाल,सिता लामा र बेलिमाया घले  ओली पक्षमा देखिएका छन भने अष्टलक्ष्मी शाक्य, कुसुम कुमार कार्की,  केशव प्रसाद पोखरेल र वसन्त प्रसाद मानन्धर ,सिता अधिकारी र उर्मिला कर्माचार्य प्रचण्ड -नेपाल पक्षमा  देखिएका छन।

३. नगरपालिकाका  ६ प्रमुख मध्ये ४ जना र काठमाडौं महानगर प्रमुख  ओली पक्षमा 

स्थानिय तहको निर्वाचनमा काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये ६ वटामा विजय प्राप्त गरेको नेकपाका ४ जना नगर प्रमुख ओली पक्षमा देखिएका छन भने दुई जना प्रमुख प्रचण्ड -नेपाल पक्षमा देखिएका छन।

काठमाडौं जिल्लाको शंखरापुरका प्रमुख सुवर्ण श्रेष्ठ ,बुढानिलकण्ठका प्रमुख उद्दव खरेल ,टोखाका प्रमुख प्रकास अधिकारी र तारकेश्वरका प्रमुख रामेश्वर बोहोरा ओली पक्षको केन्द्रीय सदस्य बनेका छन भने कागेश्वरीका प्रमुख कृष्ण हरि थापा र किर्तिपुरका प्रमुख रमेश महर्जन प्रचन्ड -नेपाल पक्षमा सक्रिय देखिएका छन।

त्यस्तै उपप्रमुखहरुमा कागेश्वरी मनोहराकी उपप्रमुख बिन्दु पुडासैनी ,बुढानिलकण्ठकी उपप्रमुख रमा राई ,टोखाकी उपप्रमुख ज्ञानमाया डंगोल र चन्द्रागिरीकी उप प्रमुख ओली पक्षमा देखिएका छन भने शंखरापुरकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ र किर्तिपुरकी उपप्रमुख सरस्वती खड्का प्रचण्ड–नेपाल पक्षमा देखिएका छन।

त्यस्तै तारकेश्वरकी उपप्रमुख भवानी डोटेल र नागर्जुनकी उपप्रमुख सुशिला अधिकारीले हाल सम्म कुनै पक्षमा नखुलेको श्रोतले जानकारी दिएको छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।