पहुँचका आधारमा विकास हुदैन, आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल

कपन अनलाइन

स्याङ्जा,  मंसिर १५  ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुँने भन्दै आवश्यकताका आधारमा विकास हुने उहाँले बताउनुभयो । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो। मन्त्री अर्यालले भन्नुभयो, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन् । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’ वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उहाँले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताउनुभयो । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उहाँको भनाई थियो ।

‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ । यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङकनले नै भनेको छ’, उहाँले भन्नुभयो । आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठुलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ती हो ।

स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउने सुरुवातको सरकारले उद्घोष गरेको छ ।’ भौतिक संरचनासंगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै उहाँले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताउनुभयो । जनप्रनिधि जनताको सेवक भएको बताउदै उहाँले सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको बताउनुभयो । सबै जनप्रतिनिधिलाई जनताले पद दिएको भन्दै उहाँले यो जनताले दिएको जिम्मेवारी भएको बताउनुभयो ।

‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो । हामी जनप्रतिनिधि ठुला मान्छे होईनौँ, पद त जिम्मेवारी हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘जनता हामी देखि डराउने, कुरा गर्न नसक्ने हुनुहुँदैन् । हामी त जनताको सेवक हौँ । उहाँहरुको सेवा गर्न उहाँहरु ले नै हामीलाई यो पदमा पठाउनुभएको हो । यो स्थानमा पठाउनुभएको हो ।’

तपाइँको प्रतिक्रिया ।