काठमाडौं- ढल्केवर बिजुलीको प्रसारण लुप जोडियो
कपन अनलाइन
काठमाडौं मंगसिर ७। नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केवार–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकि रहेको काठमाडौंदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप ( सर्कल) जोड्न सफल भएको छ । नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो । ‘ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका छन्,’ शाक्यले भने , ‘पटक–पटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पथ्र्यो ।’ उहाँले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु रहेको जानकारी दिए ।
‘सुरुका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानको कदमहरु चाल्न आग्रह गरेको थिएँ,’ उनले भने , ‘खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए । तर, सैद्धान्तिक छलफलपछि उहाँहरु पनि आश्वस्त हुनुभयो । सबैको प्रयासबाट हामी सफल भयौँ ।’ उहाँले दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिए । यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उनले बताए । ‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो । अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भने , ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगन भने हेटौँडा तिरको लाइनबाट विजुली ल्याएर जोड्नुपथ्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्र्यो ।
कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन ।’ अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यहि लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ । ‘यो सामान्य समस्या हो, दुइ–चार जना इन्जिनियर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो,’ उनले भने , ‘यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो । यो समाधान भयो ।’ शाक्यले स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी)को कन्ट्रोलरुममा पुगी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिकहरुसँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताउनुभयो । ‘केही इन्जिनियर साथीहरु सुरुमा यो काम गर्नु हुदैंन भनी पछि हटेका थिए । ,’ उनले भने , ‘उहाँहरुले केही समय मागेपछि हामी यो कार्य आइतबार सम्पन्न गर्न सफल भएका छौँ ।
रक्सौलमा पनि कहिले भारत केहिले नेपाल गर्दा त्यस्तो समस्या छ । अब त्यो पनि तत्काल समाधान गर्ने गरी टिम परिचालन भएको छ ।’ शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नु पर्ने बाध्यता पनि अब हट्ने दाबी गरे । उनले आफ्नै दक्ष इन्जिनियरहरुको हौसला बढाएर र उनीहरुरुसँग छलफल गरी अघि बढ्ने हो भने विश्वसनीय सेवा दिन सकिन्छ भन्ने सन्देश पनि यो कामले दिएको बताए । ‘हामीले आगामी दिनमा क्लालिटी, सर्भिस र प्राइससँगै आयोजनाहरुमा स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दिएर अघि बढ्नुको अर्को विकल्प छैन,’ शाक्यले भने , ‘सधैँभरी विदेशी परामर्शदाताको मात्रै भर पर्ने हो भने ठाउँ–ठाउँमा धोका पाइन्छ । ढल्केबर सबस्टेशनले यदि हाम्रो इन्जिनियरिङ प्रयोग नभएको भए यति छिटो प्रगति गर्ने थिएन ।
स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दियो भने जस्तासुकै समस्या पनि हल गर्न सकिन्छ भन्ने त्यो एउटा गतिलो उदाहरण हो ।’ उहाँले आफ्नो कार्यकालभरी स्वदेशी प्रविधि र प्राविधिकलाई नै प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘चिलिमे मोडेल अर्थात स्वदेशी प्रविधि, स्वदेशी सिप र स्वदेशी लगानीमा अघि बढ्नुपर्छ । ठूला–ठूला आयोजनामा पनि अब स्वदेशी परामर्शदाता नै प्रयोग गर्नुपर्छ म त्यसैमा लाग्छु,’ उनले भने , ‘आजको दिनमा विद्युतको चुनौति भनेको लोडसेडिङ होइन, अब त्यसलाई इतिहास बनाएर विश्वसनियता, राम्रो सेवा र उपयुक्त मुल्यमा जोड दिनुपर्छ ।’ त्यसका लागि विद्युत प्रणालीलाई प्राविधिक हिसावले स्तरीय र बलियो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । ‘त्यसका लागि प्रसारण लाइनहरु निर्माण गर्ने र सबस्टेशनको क्षमता थप गरी आधुनिकिकरण गर्दै लैजाने र वितरण प्रणाली सुदृढ गर्नु आवश्यक छ,’ उनले भने ।
आगामी दिनमा काठमाडौं उपत्यकामा बढन सक्ने लोड समेतको विचार गरी प्राविधिक उपायहरु अप्टिमाइजेशनमा आधारित भई सम्भव भएसम्म सस्तो र स्वदेशी बुद्धिले जानेको र मानेको जुक्तिहरु लगाई कार्य गरिने पनि उनले बताए । प्राधिकरणका अनुसार यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाट सम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृत दिएको छ ।
२ सय ५० मेगावट मध्ये केही (८० देखि १५० मेगावाट ) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । ‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भैरहेको बताइएको छ । गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभिमा चार्ज भइ भारतबाट ४०० केभिमा पहिलो पटक बिजुली प्रवाह भएको हो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी वर्षात मा ५०० देखि ६०० मेगावाट सम्म निर्यातको संभावना बनेको छ