विदेशको सपनाले : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
१
बस्छौँ प्राण दुई ठुलो शहरमा साथी छ कोठा चिसो
पर्नेभर्नु भुँडी अनेकन गरी गर्छन् अरूले जसो
छोरा रुन्छ, छ जेलमा अरबमा, अन्यायचर्को गरी
छाती दुख्छ यहाँ पर्यो गरिबमा यो दुर्दशाको झरी ।
२
हाँसो ल्याउँछ, ल्याउँछन् सब जना जाँदा त्यता, लौ भनी
मान्यौँ बन्धक राख्न खेत सपना देखेर राम्रो हुने
भेट्टाएछ दलाल ढुक्क मनले पोको बुझाई दियो
पायो जान परन्तु काम त्यसले, अर्कै थमाई दियो ।
३
साह्रै दुर्गममा लगेर उसले भेडा चराऊ भन्यो
यस्तो काम त हैनगर्दिन म ता भन्दा उसैले थुन्यो
ऐले बन्दछ जेल भित्र उसको आरोप अर्कै छ रे
मिल्ने होइन बात गर्न बिचरा चिन्ता पस्यो भन्छ रे ।
४
आयो साहु भनेर नित्य तँ बुझा सावाँ तथा व्याज यो
मैले के दिनु खै जवाफ सजिलै, त्यो खेत मेरो गयो
केहीकाम गरौँ भने नि दुनियाँ भन्छन् सबै यो बुढो
पापी पेट छ साथमा नभरिने सारै बिचल्ली पर्यो।
५
छोराको छ उता विजोक र यता हामी बिखर्ची रह्यौँ
लाग्यो लाज समाजको शहरमा आएर घुस्री दियौँ
आफ्नो छैन कमाउँने वय कहाँ के गर्नु टाढा गई
आमाको मन हो बुझाउँ कसरी रोएर मर्ने भई ।
६
भाडा पर्दछ नित्य तिर्नु नतिरे पाइन्न बस्नै यहाँ
दोटै छाक चुलो तताउनु पर्यो माग्दै म जाऊँ कहाँ?
नाम्लो एक छ गाउँ देखि सँगमा बोकेर त्यो चोकमा
कुर्नेगर्दछु काल, भन्छ मनले गर् आत्महत्या यहाँ ।
७
कैलेसम्म थुनिन्छ खै खबर त्यो आउन्न केहीपनि
आशाको विरुवा ढल्यो पर सुक्यो जान्दै नजान्ने बनी
साह्रै दुख्ख विलाप गर्छ मन यो रोएर के पो हुने ?
जैल्यै आउँछ पुत्र त्यो नजरमा धिक्कार मेरो जुनी ।
८
केही हुन्छ उपाय छुट्छ कि भनी जानिन्न के हो कता?
मान्छेको भिडमा म एक छु दुःखी को सुन्छ मेरो व्यथा?
गर्दै ढाँट कुरा फसाउँन हुने कानून नै पो छ कि ?
सक्नेले गर जे जसो छुट हुने नेपाल मै हो हकि?
९
सुन्ने को छ र खै कुरा गरिबका सर्कार तैँले सुनेस्
पाएका म यतै विदेश कसले रोज्थ्यो र भन्ने बुझेस्
हामी मर्न तयार छौ अब यसै, मान्छे नमार्नू अरू
गोली दे विषका म खान्छु अझ के मैले विलौना गरूँ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक