नेपाल स्काउटको १५ दिने एस एम एस अभियान सम्पन्न
कपन अनलाइन
काठमाडौं ,असोज ५/नविना श्रेष्ठ
नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम् युनिसेफको सहयोगमा उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाई कोभिड-१९ को सँक्रमणबाट बच्न बचाउनका लागि समुदायलाई सुसूचित गराउने जनचेतनामूलक अभियान सम्पन्न भएको छ।
भदौ २० गते नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट शुरुभएर मिति २०७७ असोज ३ गते पन्ध्रौँ दिनमा सहभागीहरुलाई प्रमाणपत्र एवम् टोकन अफ लभ वितरण गरी उक्त अभियान समापन गरिएको हो।
यस अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरत बिद्यार्थी समेत गरी १०० जना स्वयमसेवकहरु दैनिक रुपमा परिचालन हुँदै आएका थिए ।
हरेक दिन बिहान र बेलुका बढी भीडभाड हुने उपत्यकाका बिभिन्न ठाउँहरू कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज र ललितपुरका पाटन, लगनखेल, ग्वार्को, सातदोबाटोलाई मुख्य क्लष्टर बनाई लुभु, गोदावरी, चापागाऊँ, भैँसेपाटी, किर्तिपुर, थानकोट, दहचोक, रामकोट, बुढानिलकण्ठ, बौद्ध जोरपाटी एवम् कपनसम्म पुगी तथा भक्तपुरका सबै नगरपालिका लगायतका क्षेत्रमा कोभिड-१९ बाट बच्न र बचाउन जनचेतनामुलक अभियान अन्तर्गत मुख्य रुपमा कम्तीमा २ मीटर भौतिक दुरी कायाम गर्न सिकाउने र अनुरोध गर्ने, घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्नुका साथै यसको सहि प्रयोग गर्न सिकाउने, र मास्क नलगाएकालाई मास्क वितरण समेत गर्ने, बिस सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने (एस. एम. एस) लगायतका जनचेतना अभिवृद्धि गर्ने अभियानमा यस विचमा संचालन गरिएको थियो ।
नेपाल स्काउटका संयोजक भण्डारीले नेतृत्व तहमा रहेका कारण यो अभियानलाई पूर्ण सफल बनाउनु आफ्नो जिम्मेवारी रहेका कारण स्वयँसेवकहरुसँगै फिल्डमा निस्किएको बताउदै यसले अभियानमा खटिएका स्वयंसेवकहरुलाई प्रोत्साहित गर्नुका साथै अभियानलाई गति समेत प्रदान गर्ने विश्वासव्यक्त गरेका छन ।
कोभिड १९ को सँक्रमण बिरुद्ध जनचेतना जगाउने अभियानमा सहभागीहरुले सिकेका सीपलाई आ आफ्नो स्थानिय तहमा समेत लैजानु पर्ने र यसो गर्न सकेमामात्र यो अभियानको सार्थकता रहने बताउदै उनले यसमा जनस्वस्थ्यका बिद्यार्थीहरुको भूमिक अझ महत्वपूर्ण रहने बताएका छन ।
अभियानमा सहभागी नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईका अनुसार नेपाल स्काउटका स्वयँसेवकहरुले सुरुवाती अबस्थादेखि नै कोभिड १९ को सँक्रमण रोकथामका लागि देशका बिभिन्न स्थानमा हात धुने स्टेशनको सञ्चालन, संक्रमितको उपचारका लागि नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा सम्भावित संक्रमितको घर घरसम्म पुगेर उनीहरुलाई अस्पताल पुर्याउने, स्वाब कलेक्सन, यात्रा विवरण बटुल्ने, क्वारीन्टाइन र आइसोलेसन कक्षको निर्माण, मास्क सिलाई र वितरण, कोभिड १९ को सँक्रमणका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापन तथा लकडाउन पालना तथा जनचेतना अभिवृद्धि अभियानमा फ्रण्ट लाइनमा रहेर काम गर्दै आएको बताएका छन।
लकडाउनका कारण भोकै परेका पशुपंक्षी तथा माछाहरूलाई खाना र दाना दाना खुवाउने, सडक मानव र मजदुरहरुलाई खाद्यान्न तथा तयारि खाना सहयोग गर्ने कार्यमा नेपाल स्काउटका स्वयँसेवकहरुले सक्रिय भुमिका निर्वाह गर्दै आएको भट्टराईले बताएका छन ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )