खोटो नजर :अशोक कुवर ‘नेत्र’(कथा )
कपन अनलाइन
काठमाडौं ,असार ६।
कथा लोककथा शैलीको छ तर यसले हाम्रो नेपाली समाजको नकारात्मक चरित्र अर्थात् खोटो नजरको स्पष्ट चित्र उतारेको छ । कथा यसरी सुरु हुन्छ :
कुनै एउटा गाउँमा अरूको जस्तै एउटा परिवार बस्दथ्यो, परिवारमा एउटा लोग्ने र उसकी स्वास्नी गरी दुई जना सदस्य मात्र थिए । लोग्ने सारै अपजसी थियो । आफ्नी स्वास्नीले आफ्ना लागि जति नै राम्रो काम गरे पनि कुनै न कुनै बहाना झिकेर ऊ स्वास्नीलाई गाली गर्न पुग्दथ्यो । लोग्नेको यही बानी देखेर स्वास्नी आफूबाट सकेसम्म गल्ती नहोस् भनी सजग हुने गर्दथी ।
पढे लेखेको नभए पनि समय परिस्थिति अनुसार ठिक तरिकाको निर्णय लिन सक्ने खुबी उसमा थियो । एक समय यस्तो आयो लोग्नेलाई स्वास्नीले कुनै किसिमको पनि गुनासो आलोचना गर्ने मौका दिइन । यो देखेर अपजसी लोग्नेको मनमा अनेकौँ किसिमका कुरा खेल्न थाले, “यो थाङ्नीलाई कसरी गाली गर्ने ?, निहु कसरी झिक्ने ?, कुनै तरिकाले पनि गाली गर्ने मौका दिनै छाडी, कसरी बहाना झिक्ने ? ‘‘बिहानको करिब ९ बजे खाना खाने बेला भयो ।
घरमा उस्तो त धनधान्यको अवस्था थिएन तर पनि स्वास्नीले सबै दरिद्रता लुकाएरै लोग्नेका निम्ति सकेको मिठो मसिनो तयार पारी । तिहुन, सब्जी, चट्नी, भात, दाल केहीमा पनि खोट लगाउने ठाउँ थिएन । लोग्नेले स्वास्नीको यो कला देखेर मन प्रसन्न बनाउनुको साटो स्वास्नीको क्षमता उपर डाहा जनायो – “यो भुसुनीले आज पनि मलाई खानामा टीका टिप्पणी गर्ने मौका नदिने भई ।”
उसको आँखा गल्ती औल्याउँदै थियो । उसले रिकापीमा गोलभेँडाको अचारसँगै खुइलाएर राखिएको कुखुराको उसिनेको अन्डा देख्यो – “अरू त के अब यही अन्डामा खोट देखाउनु पर्यो ।
उसले विचार गर्यो अनि झट्पट स्वास्नीलाई भन्यो – “राँड, आज मलाई अम्लेट खाऊ भन्ने थियो । यसले त अन्डालाई उसिनिछे ।” “ए, मैले त हजुरले उसिनेको अन्डा खानुहुन्थ्यो कि भनेर उसिनिदिएँ । पसलमा गएर अर्को अन्डा ल्याएर एकै छिनमा बनाइदिन्छु नि त ।” तत्काल उपाय झिक्दै स्वास्नीले उत्तर दिई ।
“भो राँड । अब खाना बुत्याउने बेला अन्डा पकाउने कुरा गर्छे । आफुलाई बढो समझदार भन्ठान्छे तर गति बुद्धि भने दुई पैसाको छैन ।” स्वास्नीको झाँको झार्न पाएकामा लोग्ने सन्तुष्ट मन लिएर बस्यो । स्वास्नी आफ्नो कमजोरी उपर लज्जित हुदै थकथकाएर बसी । उसले अब भोलि बिहानको खानामा चाहिँ लोग्नेका निम्ति अम्लेट बनाउने दृढ सङ्कल्प गरी । भन्दाभन्दै भोलिपल्ट भयो ।
स्वास्नीले लोग्नेका निम्ति निकै जाँगर लगाएर खाना तयार पारी । घरमा भएको, नभए छिमेकबाट पैँचो लिएर आएको सबै आवश्यक सामग्री हालेर छिमेकसम्म नै मगमग बास्ना आउने गरी भान्सा तयार पारी । भान्सामा अघिल्लो दिन लोग्नेले मन गरेको अम्लेट पनि बनाएकी थिई ।
भान्साको समय भयो । लोग्नेले आफ्ना निम्ति तयार पारेको सबै परिकार एक एक गर्दै नियाल्यो दाल, भात, चट्नी, काँक्राको सलाद, सब्जी, तिहुन कुखुराको अन्डाको अम्लेट ।
फसाद ! आज लोग्नेको मुख बन्द हुने गरी अम्लेट बन्यो । उसले हिजोको कुरा सम्झियो, “राँड, आज मलाई अम्लेट खाऊँ भन्ने ।”
“अब के गर्ने ?, के भन्ने ?”, ऊ बिलखबन्दमा पर्यो र तत्काल उपाय निकाल्दै भन्यो, “यो ओथारे आइमाई, आज मलाई उसिनेको अन्डा खान मन लागेको दिन अम्लेट बनाइछे ।” उसले भुन्भिनिएको, मुर्मुरिएको जस्तो हाउभाउ गर्यो । “माफ पाऊँ हजुर, हजुरले हिजो अम्लेट खाने मन गर्नुभएकाले मैले आज अम्लेट बनाएकी थिएँ । अब पसल गएर अन्डा ल्याएर बनाऊँ त ? एकै छिन त हो ।”
“भो परेन राँड । लगन पछिको पोतेको के काम ?“ आज पनि स्वास्नीलाई झाँको झार्न पाएकामा लोग्नेले सन्तुष्ट मन बनायो । स्वास्नी भने आफ्नो कमजोरीउपर फेरि पनि दुखी बनी । उसले अब भोलि चाहिँ पसलबाट दुइटा अण्डा ल्याउने, एउटालाई अम्लेट र अर्कोलाई उसिन्ने, लोग्नेले जे खान्छन् खान्छन्, बाँकी आफुले खाने निर्णय गरी ।
भोलिपल्ट उस्तै मिहिनेत गरी भान्सा तयार पारी । “लोग्नेले आज चाहिँ खोट देखाउने कुनै ठाउँ राख्दिनँ ।“, आफ्नो पत्नीधर्मलाई समेत हेक्का राख्दै उसले विचार गरी । भान्साको समय भयो ।
लोग्ने सदा झैँ भान्साका निम्ति आयो । यसो हेर्यो , खोट लगाउने ठाउँ कतै पनि छैन । आज त अम्लेट चाहिए अम्लेट, उसिनेको अन्डा चाहिए उसिनेको अन्डा । लोग्नेलाई आज फसाद पर्ने भयो । “स्वास्नीले आज खुब विचार पु¥याइछे ।” उसलाई लाग्यो । अनि निकै बेर भान्साको परिकारउपर नजर दौडाएपछि भन्यो, “राँड, तैँले आज पनि बर्बाद गरिस् । जुन अन्डा उसिन्नुपर्ने थियो त्यसलाई तैँले अम्लेट बनाइछेस् अनि जुन अन्डा अम्लेट बनाउनुपर्ने थियो त्यसलाई तैँले उसिनिछेस् ।“
स्वास्नीले लोग्नेको पारा देखेपछि निःशब्द भई अनि लोग्नेको अनुहार ट्वाल्ल परेर हेरिरही ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक