आजका कुरा :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,असार ६।
सकसमा म गरौँ कसका कुरा ?
अपजसै अथवा जसका कुरा
विलयका अथवा लयका कुरा
विजयका अथवा जयका कुरा ।
किन गरौँ म कुरा हतियारको
छल पर्यो परिगो सँधियारको
किन कुरा दलका मतियारको
समय यो, छ सयौँ दरबारको ।
छ अहिले त कुरा प्रतिरोधको
बरु कुरा छ उही अवरोधको
बस भनौँ पर भै मन होस् घना
अनि बसौँ घर होस् पर कोरना ।
जन–जनै छ कुरा लिपुलेकको
अनि कुरा छ सिमा र छिमेकको
छ नि कुरा लुटने लुटिने मिली
सँगसँगै कसरी रहँने भनी ।
अब गरूँ कि कुरा बरुरेलका
अझ कुरा छ नि ग्याँस र तेलका
सुरुङका त कुरा कसरी गरौँ
कि त चुनाव छिरोस् अनि त्यैँ भनौँ ।
किन कुरा पिउने जलको गरौँ
बरु कुरा दलका बलको गरौँ
बरु बुझौँ चलखेल कहाँ कति
किन सधैँ गुटको फुटको मति ?
अति अभाव छ रे जन एकता
बरु पुरा गठजोड गरौँ त्यता
सकस भो तल भै जिउनै पुरा
बरु गरौ सिपको श्रमको कुरा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक