खोस् कान्छा अझखोस् ! ( कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २४ / त्रिलोचन आचार्य
खोसेर फोनको सेट मोबाइल तँ जन्मिइस्
घडी खोसेर त्यो आफ्नै साथमा राख्न तम्सिइस्
खोसेर रेडियो तैँले सर्लक्कै पेटमा हुलिस्
खोसेरै क्यामरा आफैँ एकाधिकारमा चलिस् ।
के जबर्जस्ति हो खोस्दै टिभि डेक पुरै निलिस्
खोस्दै किताब वा कापी तँ डम्म गम्म झन् फुलिस्
नोटबुकहरू खोस्दै टिप्छस् खास्खुस खास्खुस
भाले खोसेर तैँआफैँ बास्छस् बिहान झिस्मिस ।
म कहाँ पाउँला पात्रो सारिस् बिजुली पातमा
कम्प्युटरहरू खोस्दै हाुल्दिइस् हातहातमा
फोटोकपी तथा स्क्यान खोस्दै सानो गरी भिरिस्
चिठ्ठी पत्रहरू खोस्दै तँ हुलाक स्वयं छिरिस् ।
खोसिस् ठानी त्यतै खोजेँ शब्दकोश हराउँदा
खोसिस् डाक्टर त्यैँ सोध्छु चस्स मुटु चर्याउदा
खोस्दैछस् बैँकका नोट पानी बिजुलीका बिल
खोसिस् टिकट यात्राका खोस्नमा कति माहिर ?
खोसेरै जफतीतैँले पुस्ताकालय बोक्दछस्
खोसी अफिसको काम घरैमा गर्न खोज्दछस्
पोस्दैछस् दुनियाँलाई खोस्दै खोस्दै सबै कुरा
खोस्लास् नि ! दृष्टि मान्छेको हान्दै दिमागमा छुरा ।
आमाबुबाहरू खोसी कोठाको शून्यता कुरिस्
खोसेरै कति खेलौँनातँगजक्कहुँदै फुलिस्
खोस्दै समाज एकांकी बन्न सिकाउँने तँ छस्
खोस्दै आदत लौ एक्लै बर्बराउतँ भन्दछस् ।
यो मोबाइल जे खोस्छ, म ज्ञाता बन्न सक्छु र ?
जिब्रा हजार चाहिन्छन् म कहाँ भन्न सक्छु र ?
तेरो लाग्दा नियास्रो मै खल्ती छाम्छु घरी–घरी
म स्वयं खोसिएँ तेरो मायावी जालमा परी ।
खोस्नैका लागि जन्मेछस् पुग्दै जतातता तँ खोस्
कोक्रोमा तँ सुतानानी आमाको ममता तँ खोस्
खोस्, खोस्दै पेट त्यो पोस्नू, पोस्न बाँकी छ क्यै भने
खोस् कान्छा अझखोस् चाँडै, खोस्न बाँकी छ क्यै भने ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक