जीपी कोइराला सामुदायीक क्याम्पस चाबहिलमा तलाबन्दी
कपन अनलाइन
काठमाडौं , फागुन २।
प्रजातन्त्रवादी प्राध्यापक संघले जीपी कोइराला सामुदायीक क्याम्पस चाबहिलमा तलाबन्दी गरेको छ।
६ बुँदे माग राख्दै संघले शुक्रबार तालाबन्दी गरेको हो। स्थापनाकालदेखि कार्यरत प्राध्यापकलाई नियुक्तिपत्र नदिएको विरोधमा ताला लगाएको संघका अध्यक्ष ऋतु खतिवडाले जानकारी दिए।
बिना मापदण्ड क्याम्पस प्रमुखले नयाँ प्राध्यापक र कर्मचारीको नियुक्ति गरेको आरोप उनीहरुको छ।
‘स्थापनाकालदेखि कार्यरत प्राध्यापकलाई अहिलेसम्म नियुक्ति दिइएको छैन,’ उनले भने, ‘तर क्याम्पस प्रशासनले नयाँ प्राध्यापकलाई त्रिवि नियमावली विपरित नियुक्ति दिएको छ।’ माग पूरा नभएसम्म ताला नखुल्ने अडान संघको छ।
संघले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा प्राध्यापकलाई नियुक्ति-पत्र दिनुपर्ने, त्रिवि नियमावली अनुसार पूर्णकालीन प्राध्यापक तथा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षाकोषको व्यवस्था गर्नुपर्ने, त्रिवि नियमावली विपरित गरिएका नियुक्ति खारेज गर्नुपर्नेलगायत माग राखिएको छ।
संघले निमित्त क्याम्पस प्रमुखको राजीनामासमेत मागेको छ।