सलगमको सहर घुम्ने रहर !
कपन अनलाइन
काठमाडौँ, पुस ११/ गङ्गा कर्माचार्य पौडेल
रामचाको तरकारी बारीमा मूला, काउली बन्दागोभी फलेको थियो । भ्यान्टा र सलगम पनि लटरम्मै फलेका थिए । ती मध्ये पहिलो दिन रामचाले काउली टिपेर खर्पनमा राखि सहरमा बेच्न लग्यो । अर्को दिन बन्दागोभी र भ्यान्टा लग्यो । त्यो देखेर सलगमले मूलासित भन्यो –“दाई ! मलाई पनि खर्पनमा बसेर सहर घुम्न जान मनलाग्यो ।
“म जस्तो लोर्के जान पाछैन, तँ गान्टेलाई कस्ले लाने ?” मुलाले भन्यो ।
मूलाको बचनले सलगमलाई चोट प¥यो । उसले माटोभित्र पुरिएको आफ्ना अङ्गलाई बल गरेर माथि निकाल्यो । पहिला भन्दा अग्लो पनि देखियो । त्यसपछि ऊ ठिङ्ग माटो माथि उभिएर भन्यो – “हेर ! अब म पनि अग्लो भएँ नि ।”
मुलाले सलगमलाई कर्के आँखाले हेरेर ठुस्स पर्यो र अर्कै तिर मुन्टो बतार्यो ।
“दाई ! त्यसरी नरिसाउ न । अब यहाँ तिमी र म बाहेक अरु को छ र ? हाम्रा बाबा आमा, काका मामा सबैले छोडेर गइसके । उनीहरु किन गए, कहाँ गए त्यो कुरा चाही मैले बुझ्या छैन । बरु तिमीलाई थाहा छ भने भनन” सलगमले मूलालाई फकाउँदै भन्यो ।
“थाहा छ नि तर तँ गान्टेलाई भनेर के फाइदा ? घमण्ड ग¥यो मुलाले .
“कती गान्टे गान्टे भनेर हेपिरन्छौ ? मेरो शारीरिक अवस्था जे जस्तो भए पनि म भित्रको गुण कसैको भन्दा कम छैन क्यारे ”सलगमले भन्यो – “तँ जे सुकै भन् सहर पहिला मै जान्छु ।”
सलगमले फेरि भन्यो – “दाई यता हामी को पहिला सहर जाने भनेर हानाथाप गरिराछौं । उता गएका जति कोहि फर्केर आएका छैनन् । सहरमा के गर्दैछन् ? कुन हालतमा छन् ? अत्तोपत्तो छैन । उनीहरुसँग फेरि भेट होलाकि नहोला दाई ?” चिन्ता व्यक्त गर्यो सलगमले ।
“उतै रमाए बसे । तँलाई किन टाउको दुखाउनु पर्यो ? म पनि एकपटक सहर जान पाए फर्केर आउँदिन ।” मुलाले भन्यो मुलाको जवाफले सलगम खिन्न हुँदै भन्यो – “दाई ! मलाई सहर घुम्न जाने रहर मात्र लागेको हो । त्यहि बस्न होइन । हेर पहिला यहि ठाउँ कति हराभरा थियो । रमाइलो थियो ।अचेल उराठलाग्दो भएको छ । हामी जहाँ गए पनि जन्मेको माटो कहिल्यै बिर्सनु हुन्न । बरु पहिला यहाँबाट सहर गएका जति सबैलाई खोजेर यतै फर्काएर ल्याउनु पर्छ । आफ्नो ठाउँ छोडेर पराई भूमिमा सुखी भइदैन दाई ।”
सलगमको कुराले मुलाको घैटोमा घाम लाग्यो । उसले मनमनै पछुताएर भन्यो “ब्यर्थै गान्टे भनेर अपमान गरेछु । त्यसको ज्यान पुड्को भए पनि बुद्धि ठूलो रहेछ । उसँग माफी माग्छु भनी “भाई ! … भनेको मात्र थियो रामचा आएर धमाधम सलगम उखाली खर्पनमा भरेर हिँंडिहाल्यो । जाने वेलामा सलगमले मुलालाई बाई भनेर हात हल्लायो ।
सलगमलाई खर्पनमा बसेर पिङ् खेल्दाझैं मच्चीन पाउँदा मज्जा लाग्यो । त्यहि बेला उसले मनमनै भन्यो “आहा सहर जाने बाटो यति फराकिलो चिल्लो रहेछ । सहर झन् कस्तो होला भनी झिलिभिली सहरको कल्पनामा चुर्लम्म डुबेको बेला एक्कासी रामचाले खोलामा छ्याप्ल्याङ्ग खर्पन चोवल्यो । सलगम खङ्ग्रङगै तर्सियो ।
रामचाले सलगमको जीउ मिचि मिचि पखाल्यो । त्यसरि पखाल्दा उसलाई काउक’ति लागेर खितितित्त हाँसेर मनमनै भन्यो “सहरमा सफासुग्घरी भएर जानु पर्ने रहेछ । माटो लागेको जीउ पखालियो राम्रै भयो ।”
रामचाले सलगमलाई पानीबाट निकालेर फेरि खर्पनमै राखी सहरतिर लग्यो । सलगमलाई न्वाए पछि सन्चो लाग्नुको सट्टा झन रगरग किरा हिंडेसरि जीउ चिलाउन थाल्यो । किनभने त्यो खोलाको पानी ढल मिसिएको फोहर थियो । जाँदै गर्दा सडकमा मोटरले फालेको कालो मुस्लो धुँवाले सलगमको जिउ ध्वाँसे भयो । आँखा पनि पिरो भएर पोल्यो । फोहरको डङ्गुरबाट निस्कीएको दुर्गन्ध ह्वास्स गन्हाएर नाकै फुट्लाझैं भएर वान्तै आयो । ह्वाल ह्वाली बान्ता गर्दा मुखबाटै आन्द्रा भुँडी निस्केला झैं भयो उसको । पानी खोज्यो कतै भेटेन ।
अलि परै पुगेपछि एउटा पानीको धारो देख्यो तर पानी थिएन । वरिपरि रित्ता भाँडाहरुले घेरेको थियो त्यो धारोलाई । पानी प्यासले छटपटिदै थियो सलगम । त्यहिबेला बाटो काट्दा अचानक एउटा गाडिले खर्पनमा ठक्कर दियो । सलगम नराम्ररी भुँइमा पछारियो । उसले ऐया आमा ! भनेर चिच्च्याएर रोयो अनि मुलालाई पुकार्दै भन्यो “दाई ! तिमी सहर नआउ है । कहिल्यै पनि नआउ ।