पर्यटन क्षेत्रमा लुम्बिनीको महत्व !
कपन अनलाइन
काठमाडौं,पुस ४। गंगा लिगल
नेपाल सानो देश हो तर सुन्दर शान्त विशालताले परिपूर्णता पाएको देश हो । यो देशलाई पराईले जति पनि आफ्नो कब्जामा राखेता पनि आज सम्म कसैले हस्तक्षेप गर्ने सफलता पाएको छैन । यो सानो छ तर स्वतंत्र देश हो ।
नेपालले २०१९ र २०२० लाई भ्रमण वर्ष तोकेको छ । भ्रमण त अत्याधिक रमणीयताको नामाकरण हो । जीवनको वास्तविक लयलाई यस्ले परिमार्जित गरेर जीवन जगतमा उज्वलताको नामाकरणको रुपमा संबोधन गरेको छ । यो “भ्रमण” शब्दले मानव जीवनको प्रत्येक पललाई उल्लासमय बनाउन अग्रसर भएको हुन्छ ।
त्यति मात्र नभएर जीवन जगतलाई उज्वलताको प्रमाण स्वरुप विविध ज्ञानको प्रवाह प्रवाहित गर्न यस्ले ठूलो भूमिका खेलेको हुन्छ जस्ले गर्दा आफू मात्र नभएर सम्पूर्ण खुशी र उन्नति गरोस् पावोस् भन्छ जस्ले गर्दा आपसी मनो मालिन्यता हटेर सौहार्दपूर्ण भावनाको जागरण हुने मौका मिल्दछ ।
नेपालमा हिमाल, सुन्दर प्रकृति, लेक तालहरु जंगलका सुन्दर पशु पंक्षीहरु, झरना, सुन्दर खेतका कान्लाहरु, सुन्दर दृश्य योग्य सदा बहार वृक्षहरु, लटरम्म फल्ने फलहरु सुनगाभाको लघु कथा, यी सबै वर्णन गर्न योग्य दृश्य साथै कपिलवस्तु लुम्बिनी क्षेत्रको अत्यन्त रोचक र प्रशंसनीय इतिहास बारे धेरै मनन योग्य कुराहरु थाहा पाए पछि विदेशीहरु भ्रमणको आनन्ददायक उदेश्य लिएर नेपालमा प्रवेश गर्ने गरेका छन् ।
त्यसैले यसै भ्रमण संबन्धि विषयलाई लिएर लुम्बिनी र कपिलवस्तुलाई लक्षित गरेर केही यसबारे लेख्न चाहन्छु ।
लुम्बिनी ः–
लुम्बिनी सिद्धार्थ गौतमको जन्मस्थल हो । लुम्बिनी नेपालको दक्षिण पश्चिम तराईको रुपन्देही जिल्लामा पर्दछ । यो ठाउँ भैरहवाबाट करिब १२ माईल पश्चिममा पर्दछ ईसा पूर्व छैटौं शताब्दी तिर यो क्षेत्र साल ताथा अन्य विभिन्न फलफूलका वृक्षहरुले ढाकिएको सारै रमणीय स्थल थियो ।
कपिलवस्तु राज्य सीमा भित्र कपिलवस्तु र देव दहको वीचमा यो स्थल पर्ने हुँदा दुवै देहका शासक र प्रजाहरु यो ठाउँमा वन विहार आउने गर्दथे तर यसको नामाकरण विषयमा भने केही निक्र्याल छैन । शुरु देखि नै यो क्षेत्रको नाम लुम्बिनी नै थियो यही सन्दर्भमा एक थरी विद्वानहरुको विचारमा गौतम बुद्धकी मातामहीको नाम ‘लुम्बिनी’ थियो । त्यसैले यही नाममा यस क्षेत्रलाई लुम्बिनी नामाकरण भएको हो भनिएको छ ।
ईशापूर्व ५६२ मा राजा शुद्धोधनकी रानी मायादेवी कपिलवस्तु बाट राम ग्राम आफ्नो माइती घर जाँदै गरेको बेला बाटोमा पर्ने लुम्बिनी उपवनमा तिनलाई प्रसव वेदनाले सताएपछि पीडा ग्रस्त भै सालको रुखको हाँगा समाएकै बेलामा बालक सिद्धार्थको जन्म भयो । पछि उनले बुद्धत्व प्राप्त गरेपछि विभिन्न नगरहरुको भ्रमण गर्दै आफ्ना सिध्दान्तहरुको प्रचार गर्न थाले पछि भने यो क्षेत्रको धार्मिक, सामाजिक काया पलट नै भयो ।
बुद्धका महानिर्वाण पछि उनका उपदेशहरुले धार्मिक सिध्दान्तको रुप लिन थाले र बुद्धको जीवन सित सम्बन्धित स्थलहरु क्रमश तीर्थ स्थल बन्न थाले ।
बुद्धले जन्म लिएको स्थल १. लुम्बिनी, ज्ञान प्राप्त गरेको स्थल २. बोध गया, ३. बुद्धले पहिलो पल्ट आफ्नो ज्ञान शिक्षा प्रचार गरेको स्थल सारनाथ र बुद्धले निर्वाण प्राप्त गरेको स्थल ४. कुशीनगर यी चार स्थलहरु बौद्ध धर्मावलम्बीहरुका निमित्त ४ धामको रुपमा प्रसिद्ध हुन गए ।
यसरी बुद्धको जीवनी सित सम्बन्धित भएको कारण ले नै लुम्बिनी, कपिलवस्तु र देवदह विषेश महत्वपूर्ण स्थल बन्न पुगेका हुन् । गौतम बुद्धको “महानिर्वाण” पछि बौद्ध तीर्थ स्थलमा बौद्ध धर्मावलम्बीहरु वरावर भ्रमण गरि रहने परम्पराले गर्दा त्यहाँ पूजा पाठ साथै बसोबास आदिको व्यवस्था हुन गयो । कालान्तरमा त्यहाँ भिक्षुहरु बस्न पनि थाले । अनि चैत्यहरु बने, वस्ती खडा भए ।
ई.पूं.२४५ तिर भारतीय मौर्य सम्राट अशोकले त्यस क्षेत्रको भ्रमण गरेर त्यहाँ एक “शिला स्तंभ” पनि राख्न लगाए । सो स्तंभमा अशोकले बुद्धको जन्मस्थल लुम्बिनीको स्पष्ट उल्लेख गरेको हुँदा यस सम्बन्धी विवाद पूर्ण रुपले टुङ्याउन सजिलो भयो । सम्राट अशोकको समयमा यो क्षेत्र एउटा गाउँको रुपमा परिणत भैसकेको थियो । अशोकले आफ्नो यो स्तंभमा त्यहाँका ग्रामीणहरुलाई केही कर माफ गरेको उल्लेख गरेका छन् ।
सम्राट अशोक पछि त्यस क्षेत्रमा भ्रमण गर्ने चिनीयाँ यात्री “फाहियान” थिए । उनको भ्रमण ई.४०३ तिर लुम्बिनी कपिलवस्तु क्षेत्रको भ्रमण गरेका थिए । फाहियान पछि क्षेत्रका भ्रमण युवाङ चाङ ले गरेका थिए । जस्ले विस्तृत भ्रमण र वर्णन पनि गरेका थिए ।
जस्तै बुद्ध जन्मनु अघि माया देवीले स्नान गरेको पोखरी, माया देवीले प्रशव पीडाको बेलामा समातेको रुख, अशोक स्तंभ तथा सो स्तंभ माथि भएके घोडाको समेत चर्चा गरेका छन् । युवाङ चाङ पछि १३ शताब्दी तिर त्यहाँ भ्रमण गर्ने कर्णाली प्रदेशका रिपुमल्लको बेलामा पनि लुम्बिनीको महल कायमै थियो ।
त्यसपछि भने विविध कारणले गर्दा लुम्बिनीको महत्व हराउँदै गयो । सायद त्यबेलाका धेरै उत्खननहरुले गर्दा जस्तै भारतमा भएको मुसलमानी प्रभाव तथा नेपालमा देखिएका अनेक राज्य रजौटाहरुले गर्दा लुम्बिनीको महत्वमा कसैको ध्यान पुग्न सकेन । फलत यो क्षेत्र जंगलको रुपमा आवाद हुँदै गयो । समयको अन्तरालमा मायादेवीको मूर्ति वनकी देवीका रुपमा ख्याति पाउन थाल्यो । फलत त्योक्षेत्र लुम्बिनी बाट “रुम्मिनी देवी” हुँदै जिल्लाको नाम समेत रुपन्देही हुन पुग्यो ।
धेरै शताब्दी सम्म झार र जंगलमा छिपेको यो क्षेत्र गत शताब्दीको अन्त्य तिर अचानक फेला परेको थियो । वास्तवमा १९ औं शताब्दीको आरंभ नै विश्वमा प्राचीन सभ्यता र संस्कृतिको खाजी गर्ने परंपरा कायम भएपछि भारत नेपाल दुवै देश पनि यस तर्फ आकर्षित भए ।
त्यति बेलाको पाल्पाको पडा हाकिम खड्ग शमसेर तराईको रुम्मिन देवी जंगलमा कुनै स्तंभ भएको सुनि त्यस क्षेत्रको उत्खनन गर्न लगाए । त्यति नै बेला भारत सरकारका नेपाल तराईमा अशोक स्तंभ खाज्न हिडेका पुरातत्वविद डा. फूहरर –१८९६ को डिसेम्बर १ मा त्यहाँ आई पुगे । त्यसैबेला स्तंभको धेरै जसो भाग उत्खनित भैसकेको थियो । अनि फूहररले यो स्तंभ अभिलेख उतार गरि पढे पछि बुद्धको जन्मस्थल बारे जानकारी पाउन थाल्यो । बुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने किटान भयो ।
फूहरर पछि भारतीय पुरातत्वविद पी.सी. मुकर्जीको नेतृत्वमा ई.१८९४÷९९ मा यहाँ उत्खनन भयो । उनैले यो उत्खनन बाट प्राचीन भग्नावशेषहरु प्रकाशमा ल्याए । प्राचीन पर्खाल, बुट्टेदार ईटाहरुबाट निर्मित ठूलो मन्दिर, केही प्राचीन विहार तथा स्तूपका भग्नावशेषहरु, मायादेवी स्नान गरेको पोखरी, तथा बुद्ध जन्मस्थल झल्काउने माया देवीको मूर्ति यस उत्खननका महत्वपूर्ण उपलब्धी हुन् ।
पी.सी. मुकर्जी पछि केशर समशेरले १९३३–३९ को अवधिमा सो क्षेत्रको उत्खनन कार्य सम्पन्न गरे । उनी पछि १९६१–६२ मा उत्खनन कार्य गर्ने देवला मित्र हुन । उनको अनुसार १६ स्तूपाहरु र अन्य महत्वपूर्ण वस्तुहरु उत्खनित भएका थिए ।
यस्का अतिरिक्त लुम्बिनीमा ई.पू.तेस्रो शताब्दी देखि नै बनेका अनेक स्तुपाहरु विभिन्न युगका माटाका मूर्तिहरु, खैरो रंगका वर्तनहरु, काला रंगका वर्तनहरु अन्य अरु पनि कति पय वस्तुहरु उपलब्ध छन् जस्ले यो स्थान यो लुम्बिनीको महत्वलाई पूर्ण रुपले स्पष्ट पारेको छ ।
आजको भ्रमण वर्षको ऐतिहासिक कुरालाई अरु प्रस्ट पार्न अब त लुम्बिनी क्षेत्रको अवस्थामा ठूलो काया पलट भैसकेको छ, त्यसकारणले त हामीलाई पुराना इतिहासको खाँचो परेको छ । त्यहि जगलाई लिएर अगाडि बढिरहेको लुम्बिनी आजको शान्ति क्षेत्र मात्र नभएर मुख्य पर्यटन क्षेत्रको रुपमा प्रशंसायोग्य भैसकेको छ । सबै जसो बौद्ध धर्मावलम्बी विदेशीहरु वेलावेलामा यहाँ आएर आ–आफ्नो भवन र मन्दिर निर्माणको कार्य सम्पन्न गरिसकेका छन् । अरु पनि नौला भवनहरु र पहिलेका वस्तुहरुलाई पुन निर्माण र दर्शनीय बनाउन तल्लिन छन् ।
आज लुम्बिनी पर्यटनको खुल्ला केन्द्र विन्दुको रुपमा रहेको छ । हुनत नेपालमा थुप्रै पर्यटन क्षेत्र, नदी नाला, लेक, प्रकृति, हिमाल पशु पंक्षी संरक्षण स्थानहरु प्रशस्त छन् । यी सबैलाई निरीक्षण गरि यस सुन्दर स्थलको विषयमा विविध किसिमले प्रचार प्रसार गरि यस्लाई केन्द्र विन्दु बनाउन नेपाली मात्र नभएर विदेशीहरु पनि लागेका छन् भन्न अव्युक्ति नहोला ।
लुम्बिनीको इतिहास अत्यन्त गरिमामय छ यस्लाई पर्यटकहरुको नजरमा अरु गरिमामय बनाउन हामी नेपाली सबै एक जुट भै अब यो हुन लागेको पर्यटन दिवसको भ्रमण कार्यक्रमलाई अत्यन्त गौरवशाली बनाउन सकौं सबैमा अनुरोध छ ।
लुम्बिनीमा भएका सबभन्दा महत्वपूर्ण वस्तुहरुको वर्णन यसरी दिइन्छ जुन संसारका सम्पूर्ण पर्यटकहरुको लागि दर्शनिय र केन्द्र विन्दुको रुपमा रहेको छ ।
१) अशोक स्तंभ :-
लुम्बिनीको सबभन्दा महत्वपूर्ण पुरातात्विक वस्तु मध्य अशोक स्तंभ अति लोक प्रिय र प्राचीन सत्य तथ्यको आधारको रुपमा लिइन्छ । बिना तथ्य कुनै वस्तुको पनि महत्व रहदैन । यसको पुरातात्विक उत्खनन १८९६ ई.सं. को नोभेमबर मा भएको थियो । जमीन माथि करीब २० फीट माथि रहेको यो स्तंभ ई.पू. तेस्रो शताब्दीका भारतीय मौर्य शासक अशोकले राख्न लगाएको कुरा यसैमा अंकित भएको अभिलेखले नै स्पष्ट पार्छ । यो शीला लेख तल दिइन्छ ः–
“देवान यिएन पियदसिन लाजित बोसति वसानिसतेन अनन अगाय महीयिते हिद बुघे जाने सक्य मुक्मानि सिला दिगड भोचा कालापित सिलाथौ च उसपापिते हिद मगदं जाने नि लुमिनिगामे उदलिके कटं अठ भागिय च”
अर्थ “देवताहरुको प्रियले प्रियदर्शी राजा (अशोक) आफ्नो राज्याभिशेकको बीस वर्ष पछि बुद्ध शाक्य मुनि जन्मेको यस ठाउँमा आफै आएर पूजा गरे । जन्मस्थल देखाउन उनले यहा शिला स्तंभ खडा गर्न लगाई लुम्बिनी ग्राममा आठ भागको एक भाग मात्र तिर्नु पर्ने गरि कर माफी गरि दिए ।”
यसरी यो शिला स्तंभको प्राप्तीले एकातिर बुद्ध जन्मस्थल किटान गर्ने र अर्को तिर प्राचीन कपीलवस्तु पत्ता लगाउन पनि सजिलो पर्ने भयो ।
(२) सिद्धार्थ कुण्ड :-
अशोक स्तंभको दक्षिणमा रहेको ५०ह५० आकारको तलाउ यहाँको अर्को महत्वपूर्ण पुरातात्विक स्थल हो । बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार गौतम बुद्ध जन्मनु केही अगाडि माया देवीले यस पोखरीमा स्नान गरेकि थिइन् । पछि बालक बुद्धलाई पनि यसै पोखरीको पानीबाट शुद्ध गरिएको थियो ।
बौद्ध ग्रन्थहरुले –“बुद्ध जन्मदा यसमा तातो र चिसो दुईओटा पानीका फोहराहरु निस्केका थिए” वर्णन गरेका छन् । यसलाई पुस्करिणी तथा जन भाषामा “सिद्धर्थ तलाउ” भन्ने गरिएको छ । खासगरि यसको खोज ई.१८९८÷९९ मा भएको हो ।
(३) माया देवीको मन्दिर :-
आशोक स्तंभको पूर्वमा चौतारो जस्तो भै उठेको ठाउँमा यो मन्दिर रहेको छ । यस्को खोज ई.१८९८÷९९ को उत्खननमा पी.सी. मुखर्जीले गरेका थिए । यो मन्दिर माया देवीको स्मरणमा ई. शताब्दीको आरंभ तिर बनेको हुन सक्छ भनिएको छ ।
मन्दिर भित्र बुद्ध जन्मेको दृश्य ढल्बतष्खष्तथ या द्यगममजब० भएको पुरानो प्रस्तर मूर्ति छ । मूर्तिमा माया देवीले साल वृक्षको हाँगा पक्रेर उभिएकी छिन् । छेउमा भरखरै जन्मेको शिशु बुद्ध खडा छन् । उनको शिर वरिपरि प्रभामण्डल ९ज्बयि० छ ।
धेरै वर्ष सम्म मानिसहरुले अनेक पूजा सामाग्री घसी दली पूजा गर्दा तथा संरक्षणको अभावमा ज्यादै खिइएको छ । त्यसैले यसको वास्तविक तिथि मिति पत्ता लगाउन पनि कठिन परेको छ । यो मूर्तिको वरिपरि दाँया बाँया अरु पनि केही मूर्तिहरु रहेका छन् ।
माया देवी पछाडीको मूर्तिलाई कसै कसैले प्रजापति गौतमी (सिद्धार्थको सानी आमा ) भनेका छन् । बुद्धको दाँयातिरको पुरुष मूर्ति भने बुद्धको स्वागतार्थ स्वर्ग बाट पृथ्वीमा आएका देवराज इन्द्र मानिन्छ ।
(४) विविध :-
यस्का अतिरिक्त लुम्बिनीमा ई.पू. तेस्रो शताब्दी देखि नै बनेका अनेक स्तूपाहरुमा विभिन्न युगका माटाका मूर्तिहरु खैरा रंगका वर्तनहरु, काला रंगका वर्तनहरु तथा विभिन्न अन्य वस्तुहरु पनि उपलब्ध भएका छन् । यी सबै वस्तुहरुले लुम्बिनीको महत्वलाई स्पष्ट गरेको हुन्छ ।
पहिले देखि नै यस स्थललाई लुम्बिनी विकास स्थलमा परिणत गर्ने योजना थियो भने आज त्यो साकार भएको छ । देश विदेशका बौद्ध धर्मावलम्बी देशहरुले आफ्नै किसिमले मन्दिर सहित सुन्दर योग्य मूर्तिहरु राखि शोभनीय तैयार गरेका छन् ।
विभिन्न ठाउँबाट पर्यटकको रुपमा मानिसहरु आउने जाने गर्दा समयले नै यो क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा घोषणा गर्न सफल भएको छ । उपयुक्त होटेल, रेष्टुरान्ट,मल आदिको निमार्णले टाढाका पर्यटकलाई धेरै सुविधा प्राप्त भएको छ ।
अब त कपिलवस्तु तिलौराकोट र ठाउँ ठाउँमा जानको लागि पनि बाटो घाटो र बसको व्यवस्थाले अति सुगम भएको छ तसर्थ हाम्रो नेपालको पर्यटन वर्ष २०१९ र २०२० लाई सफल पार्न सबै एक जुट भै सक्रियता प्रदान गर्न सकौं ।