नजितेको कहाँ छ र ?

नजितेको कहाँ छ र ?

कपनअनलाइन

काठमाडौं,कार्तिक २२/त्रिलोचन आचार्य/कविता
कैयौँ डोरी टुटे होलान् आस्था टुट्न हुँदैन है
फुटे होलान् दरा भित्ता मैत्री फुट्न हुँदैन है
गले होलान् सयौँ पाखा गल्नु हुँदैन हिम्मत
ढले हुन् पहरा अग्ला ढल्नु हुँदैन इज्जत ।

बाटो विश्वासको हिँड्दा भत्के हुन् पुल झन् कति
थुँगा जम्मा गरी माला होलान् फुल सुके कति
पर्ला बरु कतै कालो पखाल्न जलले धुनु
सत्यले हार खेपेर पर्दैन कहिल्यै रुनु ।

खाओस् जो जसले अन्न माटो छ कर्म मै सधैँ
जो बाँचोस् जसरी बाँचोस् पानी छ धर्म मै सधैँ
नतिजा जसरी आओस् हावा डुल्दछ बेसरी
अलोकप्रिय होेस् मृत्यु डुल्न छाड्दैन क्यै गरी ।

नहेरेर कतै मान्छे कर्म आफ्नो गरी रहोस्
कलाकार बनी नाना सीप आफ्ना छरी रहोस्
सुकर्मको सधैँ राम्रो नतिजा देख्न सक्दछौँ
प्रयासले स्वयं अग्लो खुट्किला टेक्न सक्दछौँ ।

जिन्दगी हाँस्नको लागि भन्छ हिमाल त्यो सधैँ
जिन्दगी उड्नको लागि भन्छ बतास त्यो सधैँ
जिन्दगी लेख्नकै लागि भन्छ कलमले सधैँ
जिन्दगी बाँच्नकै लागि भन्छ मलमले सधैँ ।

ओइलाउनु नै हुन्न भावनाका मुनाहरू
सधैँ हेरौँ उनै राम्रा हिमबुट्टे कुनाहरू
टुना जीवनका छोेऊन् मनका फाँट हर्हर
हौसलाले लडे युद्ध नजितेको कहाँ छ र ?

तपाइँको प्रतिक्रिया ।