सुनकोशी गाउँपालिकाद्वारा कैदीबन्दीलाई रेडियो र टेलिभिजन सेट हस्तान्तरण

सुनकोशी गाउँपालिकाद्वारा कैदीबन्दीलाई  रेडियो र टेलिभिजन सेट हस्तान्तरण

कपनअनलाइन

ओखलढुंगा,कार्तिक १९ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले कैदीबन्दीलाई रेडियो र टेलिभिजन सेट उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जिल्ला कारागारमा एक कार्यक्रमका बिच सञ्चारका साधन रेडियो र टेलिभिजन सेट हस्तान्तरण गरेका हुन् ।

अपराधमा संलग्न भएर कानुन अनुसार कैदभुक्तान गरिरहेका कैदीबन्दीलाई सुचना र सञ्चारको पहुँचमा राखेर असल सन्देश दिने उद्देश्यले सहयोग गरेको अध्यक्ष अधिकारीले बताए । ‘जेलमा मान्छे सडाउने कि सुधार्ने ? सुधारकेन्द्रका रुपमा लिईएको जेलमा असल सन्देश दिन सके उनिहरु घर फर्किएपछि नयाँ जिवन पाउन सकुन् र केही सकारात्मक सन्देश दिन सकुन् भन्ने हाम्रो धारणा हो ।’ अध्यक्ष अधिकारीले भने,‘सकारात्मक सन्देश र विश्वका घटनाबारे जानकारी लिने सँगै जिवनउपयोगी ज्ञान समेत मिडियाबाट मिल्ने भएकाले रेडियो र टेलिभिजन लगेर कारागारमा जोडिदिएका छौं ।’ गाउँपालिकाले डिस होम सहितको आवश्यक सामाग्री सहित १ थान टेलिभिजन सेट, १ थान रेडियो लगायतका सामाग्री कारागारमा उपलब्ध गराएको छ ।

गाउँपालिकाको सञ्चारसामाग्री सहयोगले कैदीबन्दीलाई असल बन्न प्रेरणा मिल्ने प्रमुख जिल्ला अधिकारी गणेश  प्रसाद आचार्यले बताए । कैदीको माग र आवश्यकताका आधारमा दाता खोजेर कारागार व्यवस्थापन गर्ने पहल गरिरहेको आचार्यको भनाई छ । ‘फुर्सदमा बस्दा झन दिमागमा अनेकौं कुरा खेल्छन् तर रेडियो सुन्ने, पत्रपत्रिका पढ्ने र टेलिभिजन हेर्ने बानीले मान्छेलाई नयाँ जीवन दिन्छ ।’ प्रजिअ आचार्यले भने, ‘गाउँपालिकाले सञ्चारसामाग्री दियो, अरु पनि धेरैकुराको आवश्यकता छ, सहयोग जुटाउन हामीले पहल गरिरहेका छौं ।’ ओखलढुंगाका जनप्रतिनिधिले कारागारलाई सुधारकेन्द्रका रुपमा विकास गर्न सकारात्मक पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार,सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकाले कैदीबन्दीलाई सकारात्मक बनाएर सुधार गर्ने भन्दै सहयोग गर्दै आएका छन् ।
ओखलढुंगाका कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । क्षमता भन्दा झण्डै ३ गुणा बढी कैदीबन्दी राखिएकाले कारागार व्यवस्थापनमा समस्या भएको हो ।
१२ महिला र १३ पुरुष गरि २५ जनाको क्षमता भएको जिल्ला कारागार ओखलढुंगामा २० बन्दि र ३५ कैदी गरि ५५ पुरुष र ७ कैदी महिला गरि ६२ जना कैदीबन्दी छन् ।

क्षमता भन्दा तेब्बर बढी कैदी राखिएकाले उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जान समेत समस्या हुने गरेको कारागारका नाइके नबराज बस्नेतले बताए। ‘खानेबेलामा पनि निकै ठुलो लाईन बस्नुपर्छ । सुत्न पालो गर्नुपर्ने अवस्था छ । शौचालय जान त झन बढी समस्या हुन्छ ।’ बस्नेतले  भने,‘भवन पनि निकै सानो छ त्यो पनि कतिबेला भत्किएर पुर्छकि भन्ने समस्या छ ।’ व्यवस्थापनका लागि पटक–पटक माथिल्लो निकायमा आग्रह गरिएको भएपनि सुनुवाई नभएको उनको भनाई छ । कारागारमा पुग्ने सबैजसो सरोकारवालालाई कैदीबन्दीले त्यहाँका समस्या सुनाउने गरेका छन् ।
निकै पुरानो एउटा भवनलाई बिचमा वाल लगाएर एकातर्फ पुरुष र अर्को तर्फ महिला राखिएको छ । महिलाहरुको संख्या थोरै भएकाले उनिहरुलाई जिर्ण संरचनाको बाहेक अन्य समस्या छैन तर पुरुषहरु धेरै भएकाले उनिहरु समस्यामा छन् । पुरुष कैदी तर्फकै भागमा ढाका बुनाई, मुडा बनाई सहितका तालिम समेत सञ्चालन हुने र इच्छुकले काम गर्ने ठाँउ बनाइएकाले त्यसले केही भाग ओगटेको छ । बाँकी रहेको भागमा कैदीहरु अभिँदा पनि नअटाउने ठाँउ छ । त्यसबाहेक एउटा सानो भवनको भित्र कोचिएर सबै सुत्न पर्ने बाध्यता छ । कतिपयले भित्रै एउटा खाट माथि अर्को अग्लो खाट बनाएर सुतेका छन् ।
ठाँउ साँघुरो भएकाले सरसफाईमा समेत समस्या छ । शौचालय निकै अव्यवस्थित छ । त्यसमा पनि बिहानको समयमा घण्टौं लाईन बस्नुपर्ने अवस्था छ ।

फोटो सौजन्य:भिजन एफ.एम

तपाइँको प्रतिक्रिया ।