२०१८ शालको गाउँ पञ्चायत चुनावमा मतदान समय विहान ८ बजे देखि २ बजे सम्म कायम थियो
कपन अनलाइन
काठमाडौ,मंगसिर २०
२०१५ सालको संविधान निलम्बन गरिएको र अर्को संविधान जारी नभएको बेला गाउँ पञ्चायत ऐन २०१८ र गाउँ पञ्चायत नियमहरू २०१८ जारी गरियो । त्यसपछि श्री ५ को निर्देशन र पञ्चायत विभागसमेतको रेखदेखमा २०१८ साल माघ महिनादेखि ग्राम पञ्चायत गठनको कार्य प्रारम्भ भयो । त्यसै वर्षभित्र चार हजार गाउँ पञ्चायत गठन गर्ने लक्ष्य राखी २०१८ साल चैत ७ गते भित्र गाउँ पञ्चायतको चुनाव गराउने घोषणा भएको थियो ।
गाउँ सभाको इलाकाको जनसङ्ख्या लगभग २००० हुने र सो गाउँ सभाका सदस्यले ९ सदस्य चुनी तीमध्ये एक प्रधानपञ्च र एक उपप्रधानपञ्च छान्ने व्यवस्था गरिएको थियो । ४८ लाख जनताले मत दिने अनुमान थियो ।
चुनावका लागि ४ लाख रुपियाँ खर्च अनुमान गरिएको थियो । प्रधानपञ्च र उपप्रधानपञ्चको पदावधि दुई वर्षको हुने तर अन्य सदस्यमध्ये एक तिहाईको ६, ४ र २ वर्ष रहने व्यवस्था थियो ।
१० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा धरौटी जफत हुने व्यवस्था थियो। मतदान समय बिहान ८ देखि दिउँसो २ बजेसम्म तोकिएको थियो । जना (महिला) तथा मर्दाना (पुरुष) मतदाताको लाइन छुट्टाछुट्टै थियो र हुम्ला र जुम्लामा भने पञ्चायत चुनावसम्बन्धी कार्य चैतको दोस्रो सातादेखि थालनी गरिएको थियो ।
२०१८ साल चैत ७ गते राष्ट्रिय निर्देशन मन्त्रीले ग्राम पञ्चायत निर्वाचन उद्घाटन गरेका थिए । ३४३९ गाउँ पञ्चायतको चुनाव सम्पन्न भएको थियो । बाँकी ठाउँमा १०-१५ दिनमा पूरा हुने सूचना जारी गरिएको थियो । खुला मतदानको अभ्यास गरिएको थियो । हात उठाइ बहुमत कायम गरी विजयी घोषणा गर्न सक्ने अधिकार नै ऐनले दिएको थियो ।
तर गाउँ पञ्चायत ऐन, २०१८ र नियमावली २०१८ खारेज गरी गाउँ पञ्चायत ऐन २०२० र गाउँ पञ्चायत (निर्वाचन) नियमावली २०२० जारी भई निर्वाचन प्रक्रियामा व्यापक सुधार गरी मतदाताको गोप्य मतदान गर्न पाउने अधिकारलाई सुनिश्चितता प्रदान गर्दै निर्वाचन प्रक्रियासँग जोडिएका अन्य व्यवस्था पनि अवलम्बन गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।